१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तामा उत्खनन् प्रक्रिया अघि बढ्यो

सोलुखुम्बु - माप्य दूधकोशी गाउँपालिकास्थित वाकु वाप्सामा रहेको तामा उत्खनन्का लागि आर्थिक, सामाजिक र वातावरणीय मूल्यांकन गरिने भएको छ। प्रभावित क्षेत्रका सर्वसाधारणले मूल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सीमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आइई गर्ने वातावरण बनेको हो।

सर्वसाधारणले प्रभावितलाई मुआब्जाको टुंगो लगाउनुपर्ने भन्दै अवरोध जनाएपछि उक्त विषय प्रशासनसम्म आइपुगेको थियो। प्रभावित क्षेत्रका सर्वसाधारणको अवरोधका कारण २०७१ मा काम सुरु गरेको चिनियाँ कम्पनी दोङसाङले काम गर्न सकिरहेको थिएन। बैठकले प्रभाव मूल्यांकनपछि प्रारम्भिक आइई प्रतिवेदन प्रभावित स्थलमा पुगेर सार्वजनिक सुनुवाइको माध्यमबाट छलफल गर्ने र कानुनले तोकेका सुझाव समावेश गरी मन्त्रालयबाट स्वीकृत गराउने गरी निर्णय गरिएको छ।

अहिले सीमांकन भएको ५४ हेक्टर क्षेत्रबाहेकमा पनि तामाखानीको सम्भाव्यता अध्ययनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ। माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता राई, वडाध्यक्ष, राजनीतिक दलका जिल्लास्तरीय नेता, प्रभावित क्षेत्रका नागरिकको संयुक्त बैठकले तामा उत्खनन्को प्रक्रियागत कामका लागि बाटो खोलिदिएको हो। बैठकमा प्रभावित क्षेत्रका सर्वसाधारणले आफ्ना समस्या र शंकाका विषयमा कुरा राखेका थिए भने आयोजनाका तर्फबाट पनि आफ्ना कुरा राखेका थिए। सरोकारवालाले दोङसाङ कम्पनी समन्वय र पारदर्शीतामा कमजोर रहेको बताएका छन्। माप्य दूधकोशी गाउँपालिकाको वडा नं ६ र ७ मा तामाखानी रहेको छ भने त्यहाँका तीन सय ५३ घरधुरी तामा उत्खनन्बाट प्रभावित हुने देखिएको छ।

प्रभावितमध्येका एक महलसिं राईले कम्पनीले फरक फरक तीन व्यक्तिलाई पालैपालो विश्वासमा लिएर काम गर्नुले शंका उत्पन्न भएको बताए। प्रभावितसमक्ष खुलेर कुरा नराख्नाले शंका गर्नु परेको उनको भनाइ थियो। माप्य दूधकोशी गाउँपालिकाका उपाध्यक्ष जुनितामाया मगरले प्रभाव मूल्यांकन सुरुमा १७ हेक्टरमा गर्ने भनिनु र स्थानीयको अवरोधपछि ५४ हेक्टरमा गर्छौं भन्नुले शंका उब्जाएको बताइन्।

प्रकाशित: ८ चैत्र २०७५ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App