१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘अनिच्छित गर्भ बढ्दो’

काठमाडौं – ४५ प्रतिशत महिलाहरुमा अनिच्छित गर्भ रहने गरेको पाइएको छ। महिला स्वास्थ्यबारे हालै सार्वजनिक एक अध्ययनअनुसार नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुन्छन्। जसमध्ये पाँच लाख ३९ हजार अनिच्छित गर्भवती बन्छन्। गर्भवती हुने एक चौथाइ महिलाबाट अनियोजित जन्म हुने र अधिकांशको गर्भ खेर जाने गरेको छ।

नेपाली संस्था कृपा र अमेरिकी संस्था गुट्माचरले संयुक्त रुपमा गरेको अनुसन्धानबाट सो तथ्य सार्वजनिक भएको हो। संस्थाले ‘नेपालमा परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य’ शीर्षकमा एक अध्ययन गरेको थियो।

आधुनिक परिवार नियोजनका साधनको पुग्दो आपूर्ति र मातृशिशु स्वास्थ्य कार्यक्रमलाई समानान्तर रुपमा लगेमा मात्र मातृशिशु स्वास्थ्यमा लाग्ने खर्च बचत हुने अध्ययन प्रतिवेदनले देखाएको छ।

गर्भाधारण गर्न नचाहनेहरुमा १५ देखि ४९ वर्ष उमेर समूहका ४४ प्रतिशत महिलामा परिवार नियोजनका साधनको पहुँच नपुगेको अध्ययनले देखाएको छ। यो समूहले परिवार नियोजनका लागि परम्परागत विधि अपनाउँछन्। परिवार नियोजनका आधुनिक साधनको अभावका कारण पनि धेरै अनिच्छित गर्भ रहने गरेको अध्ययनमा औंल्याइएको छ।

परिवार नियोजनको अवस्था सुधारी १२ लाख गर्भवती महिलालाई मातृशिशु स्वास्थ्य सेवा प्रदान गर्न १३ करोड ५० लाख अमेरिकी डलर लाग्ने अध्ययनको अनुमान छ। प्रतिवेदनअनुसार देशका सबै प्रदेशमा हुने परिवार नियोजनका साधनको मागको पूर्ति हुन सकेको छैन। परिवार नियोजनका माग पूर्ति गर्न हालको लागतभन्दा दोब्बर वार्षिक ३ करोड ३० लाख अमेरिकी डलर लाग्ने अध्ययनको अनुमान छ।

सो अध्ययन प्रतिवेदनअनुसार गर्भावस्था र सुत्केरी अवस्थामा आउने जटिलताबाट बच्न सेवा पनि सबैले सहजतका साथ पाउन सकेका छैनन्। प्रतिवेदनअनुसार ६४ प्रतिशत महिलाले चार पटक गर्भजाँच गरेको पाइएको छ भने ६१ प्रतिशत महिलाले तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराएको पाइएको छ। गर्भावस्था र प्रसूतिपछि जटिल समस्या आएका २७ प्रतिशत महिला तथा नवजात शिशुले मात्र आवश्यक स्वास्थ्य सेवा पाउन सकेको पाइएको छ।

आधुनिक परिवार नियोजनका साधनको पुग्दो आपूर्ति र मातृशिशु स्वास्थ्य कार्यक्रमलाई समानान्तर रुपमा लगेमा मात्र मातृशिशु स्वास्थ्यमा लाग्ने खर्च बचत हुने अध्ययन प्रतिवेदनले देखाएको छ। अनुसन्धानमा कृपाको तर्फबाट डा. महेश पुरी र गुट्माचरको तर्फबाट विज्ञ अर्पण सुन्दरम सहभागी थिए। सो अनुसन्धान सन् २०१६ देखि २०१७ सम्म गरिएको हो। सो अनुसन्धानले परिवार नियोजनका साधनहरुको पुग्दो पूर्ति भएमा ८७ प्रतिशत अनिच्छित गर्भ घट्ने देखाएको छ। साथै, परिवार नियोजनका साधन उपलब्ध भएमा वार्षिक ३ सय मातृमृत्यु घट्नेछ। सम्पूर्ण मातृतिशु स्वास्थ्य सेवा उपलब्ध हुने सकेमा अत्यधिक मातृशिशु घट्ने प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी परिवार नियोजनको आधुनिक साधनहरुको मागलाई पुरा गर्न केन्द्रीय, प्रेदश, स्थानीय सरकार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरुले साझा जिम्मेवारी लिनुपर्ने जनाइएको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App