१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकीकरण टुंग्याउन शीर्ष तहमा छलफल

शीर्ष नेताहरुबीच छलफल चलिरहे पनि कम्तीमा १५ दिनपछि मात्रै सचिवालय बैठक बस्न सक्ने अवस्था छ। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केपछि पनि दुई तीन चरणमा छलफल गरेपछि मात्रै सचिवालयको बैठक बस्नेछ त्यही बैठकले एकीकरण प्रक्रिया टुंग्याउनेछ।

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रियाको बाँकी काम टुग्याउन शीर्ष चार नेताहरूबीच छलफल चलिरहेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गए पनि एकीकरण प्रक्रिया अघि बढाउन अर्का अध्यक्ष केपी शर्मा ओलीले छलफल अघि बढाएका हुन्।

अहिले पनि दाहाल आएपछि तुरुन्तै एकता प्रक्रिया केही दिनमै टुंगो लगाउनेगरी प्रधानमन्त्री ओलीले चार शीर्ष नेता र महासचिव विष्णु पौडेललाई सँगै राखेर छलफल गरेका थिए। गतहप्ताबाटै सुरु गरिएको एकता छलफलमा पटकपटक ओली र नेपालले छुट्टै छलफलसमेत गरेको स्रोतले जनाएको छ। प्रदेश १ को प्रदेश कमिटीको शपथ ग्रहणपछि विवाद मिलेका जिल्लाहरूको जिल्ला कमिटी पनि तुरुन्तै गठन गर्ने तयारी भैरहेको छ। पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजानेगरी छलफल थालिएको सहभागी एक नेताले बताए।

प्रधानमन्त्री ओलीले दाहाल अमेरिका जानुपूर्व दाहालसहित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसँग एकताबारे छलफल गरेका थिए। स्रोतका अनुसार सो छलफलमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सहभागी थिएनन। पार्टीका विभिन्न बैठकमा माधव नेपाल पक्षले विधि र मापदण्डविपरीत प्रदेश कमिटी गठन गर्ने तयारी गरेकाले पुनरावलोकन हुनेपर्ने र पार्टीभित्र दोहोरो जिम्मेवारीमा रहेका व्यक्तिलाई जिम्मेवारीमुक्त गर्नुपर्ने विषय उठाइरहेको अवस्थामा पार्टी अध्यक्ष ओलीले नेपाल, खनाल, गौतमसँग छलफल सुरु गरेका हुन्। पछिल्लो सचिवालय बैठकले पार्टीको एकता निस्कर्षमा पु¥याउन अध्यक्षद्वय र नेपाललाई जिम्मा दिएको थियो। त्यही आधारमा अध्यक्ष ओली र नेपालबीच छुट्टै छलफलसमेत भएको स्रोतले जनाएको छ।

शीर्ष नेताहरुबीच छलफल चलिरहे पनि कम्तीमा १५ दिनपछि मात्रै सचिवालय बैठक बस्न सक्ने अवस्था छ। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केपछि पनि दुई तीन चरणमा छलफल गरेपछि मात्रै सचिवालयको बैठक बस्नेछ त्यही बैठकले एकीकरण प्रक्रिया टुंग्याउनेछ।

गत पुस १२ गतेको स्थायी कमिटी बैठकले एकीकरणको बाँकी कामसमेत टुंग्याउन ९ सदस्यीय कार्यदल बनाएको थियो। सो कार्यदलले काम गर्न नसकेपछि पार्टी अध्यक्षद्वयलाई छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको थियो। त्यसपछि कार्यदल भंग गरी त्यसका सदस्यहरूसँग छुट्टै छलफल गरे पनि पार्टी एकिकरणको प्रक्रिया अवरुद्ध बन्दै आएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘हाम्रो पाटीं नेकपा घोषणा भएको करिब १० महिना पुग्न लाग्यो। अझै सांगठनिक एकीकरणको कार्य पूरा हुन सकेको छैन। लाखौं कार्यकर्ता कमिटी र जिम्मेवारीबिहीन बनेका छन्।

पार्टीको राजनीतिक प्रतिबेदन पनि प्रकाशित भएको छैन। यो दुखःद र हानिकारक स्थितिको अन्त्यका लागि जे गर्नुपर्छ तु गरौं,’ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। उनले भनेका थिए, ‘पार्टी एकता भएको १० महिना बित्दा पनि साँगठनिक एकीकरण पूरा नहुनु र राजनीतिक प्रतिवेदन प्रकाशित नहुनुले हामी उच्च तहका नेतृत्वदायी व्यक्तिमाथि नैतिक प्रश्न खडा गरेको छ। गुटगत चिन्तन, व्यक्तिगत स्वार्थ र प्राथमिकताको उपेक्षाले हामी सबैलाई बर्बाद गर्नेछ। अकर्मण्य र तमासे नबनौं। केही गराैँ।’

त्यसलगत्तै श्रेष्ठसहित नेपाल, खनाल, गौतमले अर्का अध्यक्ष दाहाललाई भेटेर एकता प्रक्रिया तुरुन्तै टुंगो लगाउन दबाब दिएका थिए। त्यसपछि बसेको सचिवालय बैठकले पार्टी एकीकरण गर्ने विषयमा दुई अध्यक्षका अतिरिक्त नेपाललाई पनि सहभागी गराउने निर्णय गरेको थियो। ‘एकता प्रक्रियामा पूर्व एमालेभित्र बढी नै असन्तुष्टि रहेकाले त्यसको समाधानका लागि पनि नेपाल, खनाल र गौतमसँग छलफल आवश्यक रहेको ठानेर ओलीले उनीहरूसँग छलफल गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो। पार्टी सो छलफलमा खनालले पार्टी एकता तत्कालै नभए पार्टी विघटनको खतरामा पुग्ने र यसले पार्टी र देश दुवैलाई हानी गर्ने उनको तर्क थियो।

एकता प्रक्रिया टुंग्याउन बनेको नौ सदस्यीय कार्यदल भंग भएपछि नेकपाका शीर्ष नेतालाई एकीकरण टुंग्याउनु निकै दबाब बढिरहेको छ । गत हप्ता अध्यक्षद्वय ओली र दाहालले गृहकार्य गरेर तयार पारेको जिल्ला अध्यक्ष र सचिवसहित जिल्ला कमिटीको सूचीमा शीर्ष छलफल भैरहेको छ। पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये एउटाले अध्यक्ष लिए अर्कोले सचिव लिने गरी बनेको प्रस्तावमा पालैपालो जिल्ला टुंगो लगाउँदै जाने स्रोतले जनाएको छ। अध्यक्ष दाहाल पत्नी सीताको उपचार गरेर अमेरिकाबाट फर्केलगत्तै एकीकरण प्रक्रिया टुंग्याउने स्रोतले जनाएको छ।

केन्द्रमा एकता भएको लामो समय भयो तर पार्टीको तहगत एकता नहुँदा नेता कार्यकर्तामा निराशा आएको सत्य हो त्यसकारण पनि एकता प्रक्रिया छिट्टै टुंग्याउने प्रक्रियाबाट विभिन्न तहमा छलफल भैरहेको पार्टीका नेता झलनाथ खनालले भने। उनका अनुसार सबै पक्षबाट एकता प्रक्रिया छिट्टै टुंग्याउनु पर्छ भन्ने नेताहरूलाई दबाब परिहेको छ। ‘केन्द्रमा एकता भएको लामो समयसम्म पनि तल्लो तहसम्म पार्टी एकता नहुँदा एकताको सन्देश गएको छैन, हामी एकता प्रक्रियालाई चाँडै टुंग्याउने तयारीमा छौं ,’ नेता खनालले भने। उनले दुई पार्टीबीचको एकताको कुनै विकल्प नभएको भन्दै एकतालाई असफल हुन नदिने तत्वलाई असफल पार्नेसमेत बताए।

स्रोतका अनुसार महासचिव विष्णु पौडेलले तयार पारेको एकता सूचीमा ओली र दाहालले गृहकार्य गरेपछि वरिष्ठ नेता नेपालसहित नेताहरूबीच छलफल भएको थियो। अहिले पनि त्यही सूचीमा छलफल अघि बढिरहेको पनि स्रोतले जनाएको छ। नेपालले व्यक्ति को–कताभन्दा पनि विधि, प्रक्रिया र मापदण्डअनुसार ज्येष्ठतालाई प्रमुख आधार मानेर जिल्ला अध्यक्ष र सचिवको चयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । उनको प्रस्तावमा सचिवालयमा खनाल, गौतम र नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेको स्रोतले जनाएको छ । प्रदेश तहमा बनेको कार्यदलमध्ये प्रदेश ५ र गण्डकी प्रदेशले पठाएको एकीकरण प्रस्तावमा नेपाल समूहले आपत्ति जनाएको थियो। तर अहिले अध्यक्ष दाहाल अमेरिकाबाट नफर्किकन पार्टी एकीकरणको प्रक्रिया अघि बढ्ने अवस्था भने छैन। ‘शीर्ष नेताहरुबीच छलफल चलिरहे पनि कम्तीमा १५ दिनपछि मात्रै सचिवालय बैठक बस्न सक्ने अवस्था छ। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केपछि पनि दुई तीन चरणमा छलफल गरेपछि मात्रै सचिवालयको बैठक बस्नेछ त्यही बैठकले एकीकरण प्रक्रिया टुंग्याउनेछ,’ बालुवाटार स्रोतले भन्यो।

अबको सचिवालय बैठकले प्रदेश कमिटी, जिल्ला कमिटी नेकपाका पेसागत, उद्योग व्यवसाय एवं सांस्कृतिक फाँट र समग्र प्रवास क्षेत्रको कमिटी गठन र इन्चार्ज बनाउनेछ। त्यस्तै, आर्थिक, विदेश, पार्टी स्कुल, संगठन र प्रचार विभाग एवं अध्ययन अनुसन्धान प्रतिष्ठानको प्रमुख पनि आउँदो सचिवालय बैठकले निर्धारण गर्ने बताइएको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App