१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्याङ्क

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको पार्श्वचित्रमा उल्लेखित सुर्खेतको लेकवेशी नगरपालिकाको विवरण

सुर्खेत– दैलेखको डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका बस्तुगत विवरण–२०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिसँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग सीमा रहेको छ।

डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा राखिएको यो विवरण सुर्खेतको लेकवेशी नगरपालिकाको हो। ११० पृष्ठको पुस्तकमा उल्लेखित भौगोलिक स्वरुपमात्रै नभएर अधिकांश विवरणहरु डुङ्गेश्वर गाउँपालिकासँग मिल्दैनन्। माथि उल्लेख गरिएका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट गाउँपालिका नभएर नगरपालिका हुन्। 

डुङ्गेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल पाश्र्वचित्रका संकलित अधिकांस विवरणहरु गलत र कपोकल्पित रहेको बताउँछन्। ‘गाउँपालिकाको भौगोलिक स्वरुप मात्रै होइन्, स्वास्थ्य, शिक्षालगायतका तथ्याङ्कहरु पनि मिल्दैनन्’ अध्यक्ष मल्लले भने, ‘अहिले फेरि गाउँपालिकाको बस्तुगत विवरण संकलन गर्ने काम भइरहेको छ।’ 

गाउँपालिकाको बस्तुगत विवरणसहितको पुस्तक प्रकाशनका लागि वडा नम्वर–२ का अध्यक्ष राजुकुमार खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा वडा नम्वर–६ का अध्यक्ष बमबहादुर जिसी र कार्यपालिका सदस्य शान्ति वली सदस्य छन्। ‘सुर्खेतको लेकवेशी नगरपालिकाको ठाउँमा डुङ्गेश्वर गाउँपालिका बनाएर पाश्र्वचित्र बनाएको देखिन्छ’, गाउँपालिकाका एक जनप्रतिनिधि भन्छन्, ‘समितिले अर्को ठाउँको कपीपेष्ट गर्दा सिंगो गाउँपालिकाकै बेइज्जत भएको छ।’ 

यहाँसम्म कि पाश्र्वचित्रमा अधिकांश गाउँमा ‘नगरपालिका’लाई ‘गाउँपालिका’ बनाउँदा धेरै तथ्याङ्कहरु फरक पर्न गएका छन्। सुर्खेतको लेकवेशी नगरपालिकाको पाश्र्वचित्रलाई कपी गरेर नगरपालिकाको ठाउँमा गाउँपालिका बनाउँदा छिमेकी कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकालाई गाउँपालिका उल्लेख गरिएको छ।

पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिमा उल्लेख छ। पृष्ठ ५२ मा उल्लेखित बैंक तथा वित्तिय संस्थाको विवरणमा ‘हालसम्म गाउँपालिकामा कुनैपनि बैंक तथा वित्तिय संस्था नरहेकाले सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता रहेको उल्लेख छ।

पाश्र्वचित्र प्रकाशन समितिका संयोजक खत्री मानवीय त्रुटिले केही विवरणहरु फरक पर्न गएको बताउँछन्। ‘पाश्र्वचित्रमा केही विवरणहरु सुर्खेतको लेकवेशी नगरपालिकाको कपी भएको रहेछ’, उनले भने, ‘अहिले हामीले सच्याएर गाउँपालिकाको बेभसाइटमा राखेका छौं।’ उनले गाउँपालिकाको वेभसाइटमा विवरण सच्याएर राखिएको बताए पनि कुनै फेरबदल गरिएको छैन्।

गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा यसअघि सुर्खेतको लेकबेशी नगरपालिकाको कार्यकारी अधिकृत थिए। ‘लेकवेशी नगरपालिकाको पाश्र्वचित्रलाई तोडमोड गरेर बनाउँदा डुङ्गेश्वर गाउँपालिकाको तथ्याङ्क फरक पर्न गएको देखिन्छ’ एक जनप्रतिनिधिले भने, ‘यसमा कार्यकारी अधिकृत र बस्तुगत विवरण संकलन समितिको गम्भीर लापरवाही भएको देखिन्छ।’ 

पाश्र्वचित्रका लागि गाउँपालिकाबाट समितिले पाँच लाख रुपियाँ भुक्तानी लिएको छ। ‘एक सय ५० किताव निकाल्न र विवरण संकलनका लागि यतिधेरै रकम खर्च नहुनुपर्ने हो’, ती जनप्रतिनिधिले भने, ‘यो सरासर भ्रष्टाचार हो।’

प्रकाशित: ७ चैत्र २०७५ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App