१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अष्ट्रेलिया मोहमा ‘कागजपत्र’

काठमाडौं – पछिल्लो दशकमा नेपाली युवापुस्तालाई अष्ट्रेलिया मोहले राम्रै छोएको छ। यही मोहले उनीहरू दिनानुदिन कानूनी कागजी विवाह गरी अष्ट्रेलिया गइरहेका छन्। यस्तै कथालाई समेटिएको फिल्म ‘कागजपत्र’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्मको लेखन र निर्देशनक अपिल विष्ट हुन्।

हालैमात्र फिल्मका कलाकारसहित भेटिएका निर्देशक अपिलले फिल्मले अष्ट्रेलिया जानलाई संघर्ष गरिरहेकी एक युवतीको कथालाई देखाउने बताए। ‘आर्थिक रूपले सक्षम नभए पनि ती युवतीलाई जसरी पनि अष्ट्रेलिया पुग्ने चाहना हुन्छ। गाउँमा युवतीको मनको कुरा बुझ्ने एउटा केटा छ। त्यो केटासँग उसले सहयोग माग्छे’, निर्देशक अपिल खुले, ‘अष्ट्रेलिया जाने सपना बोकेकी ती युवतीले त्यहाँ पुग्नका लागि केके गर्छिन् भन्ने कथालाई फिल्ममा देखाएका छौं। खास गरी कागजी कानूनी विवाह गर्दा त्यसको प्रक्रिया केके छन् भन्ने कुरा फिल्ममा देखाइएको छ। सँगै फिल्ममा त्यहाँ जाने प्रक्रियाको झमेला पनि प्रस्तुत छ।’

निर्देशक विष्टले आफु पनि अष्ट्रेलियामा बस्ने भएकाले कागजपत्र मिलाएर विवाह गर्ने नेपालीको शैलीलाई नजिकबाट नियालेको खुलाए। ‘म एकपटक फिल्मका निर्माता प्रजापति शिवाकोटीको कन्सल्टेन्सीमा गएको थिएँ। उसले त्यहाँ अष्ट्रेलिया जान चाहने युवायुवतीहरू नियमित आउने र कागजी प्रक्रिया मिलाउने गरेको सुनाएपछि उनकै सल्लाहमा फिल्म बनाउने निर्णय लिएँ’, विष्टले भने, ‘हामी दाङ र पोखरा घुम्दा पनि यस्तै अवस्था देखियो। सामाजिक सञ्जालमा पनि कागजी प्रक्रियाबाट विवाह गरी विदेश जाँदा आउने राम्रा र नराम्रा परिणामका बारे समाचार आइरहन्थे। त्यही कारण पनि यो फिल्म बनाउने वातावरण बन्यो।’

फिल्मले कागजी विवाहको चलनलाई घटाउँछ या बढाउँछ भन्नेमा सरोकार राख्दैन। किनकी नेपाली समाजमा अहिले पनि यस्तो कुरा छ है भनेर देखाउन खोजेका हौं।

अपिलका अनुसार फिल्मले साली र भिनाजुको कथा भन्नेछ। फिल्ममा दर्शकले एक हुलाकमा पियनको जागिर खाने श्रीमानको पैसा नहुँदा उसकी श्रीमतिको मनमा आउने रोदनलाई पनि देखाइनेछ। ‘त्यही कारण ती दिदीले आफ्ना श्रीमानलाई विदेश पठाउने चाहना पुरा गर्न बहिनीको सहारा लिन्छिन्। बहिनीलाई अष्ट्रेलिया र बुढालाई विदेश पठाउने चाहनालाई फिल्ममा देखाएका छौं’, अपिलले थपे, ‘फिल्मले कागजी विवाहको चलनलाई घटाउँछ या बढाउँछ भन्नेमा सरोकार राख्दैन। किनकी नेपाली समाजमा अहिले पनि यस्तो कुरा छ है भनेर देखाउन खोजेका हौं। यो फिल्म हेरेपछि धेरै दर्शकले आफ्ना छिमेकीसँगै आफन्त सम्झिनेछन्। जो कागजी विवाह गरेर अष्ट्रेलिया पुगिसकेका छन्।’ सन् २०१६ मा दर्शकलाई फिल्म ‘झुम्की’ दिएका निर्देशक विष्टले दर्शकलाई मनोरञ्जन दिनकै लागि ‘कागजपत्र’ बनाएको खुलाए।

फिल्मका निर्माता प्रजापति शिवाकोटीले फिल्मसँग सम्बन्धित थुप्रै कथाहरू कन्सल्टेन्सीमा आउने गरेको बताए। ‘अपिलजी पनि फिल्ममा सक्रिय हुनुहुन्छ। हामीकहाँ यस्तो विषयहरू धेरै आउँछन्। यसलाई पनि फिल्मकै रूपमा लिएर जाउँ न भन्ने सल्लाह भयो’, शिवाकोटीले सुनाए, ‘समाजको सोचाईमा कसरी परिवर्तन ल्याउन सकिन्छ भनेर फिल्म बनाएका हौं। विदेशिने धेरै युवापुस्ताको कथासँग कागजपत्र मिल्छ।’ फिल्ममार्फत नायिका शिल्पा मास्केले नेपाली फिल्ममा ‘डेब्यू’ गर्दैछिन्। उनको अनुभवमा विवाहका लागि कागजपत्र मिलाउन निकै गाह«ो काम हो। ‘किनभने कहिले के मिल्दैन कहिले के मिल्दैन। सधैं मन्त्रालय धाइरहनुपर्छ’, शिल्पाले भनिन्, ‘त्यहाँ पनि भनेजस्तो काम हुँदैन। भिसा एप्लाई गर्दा लाग्छ कि लाग्दैन भन्ने डर हुन्छ। यस्तै कथा फिल्ममा हेर्न पाउनुहुनेछ।’

नायक नाजिर हुसेनले फिल्म हेरेपछि दर्शकले कानूनी मान्यताप्राप्त कागजी विवाह गरेर विदेश कसरी जाने भन्ने कुरा थाहा पाउने खुलाए। अभिनेत्री सरिता गिरीले फिल्ममा आफुले जसरी भए पनि श्रीमानलाई सामाजिक रूपमा विदेश पठाउनै पर्छ भन्ने मान्यता बोक्ने महिलाको चरित्र निभाएको बताइन्। ‘किनकी हामीले दैनिक रूपमा समाजमा देखेकै कथा हो, कागजपत्र’, उनले भनिन्, ‘गलत हो भन्ने जान्दा जान्दै जसरी भए पनि श्रीमानलाई विदेश पठाउनुपर्छ भन्ने मान्यतामा म अडिग रहन्छु।’ फिल्ममा लोकेन्द्र लेखक, भोलाराज सापकोटा, लक्ष्मी बर्देवा, जीवन भट्टराई, भीमा मैनाली, उज्जवल शर्मा, विशाल पहाडी, रञ्जना ओली, भरत सापकोटा र आइपी आचार्यको अभिनय छ।

प्रकाशित: ७ चैत्र २०७५ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App