१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पहिले किनेर खान्थे, अहिले बेच्छन्

बाह्रविसे नगरपालिका–७, घुम्थाङका स्थानीयले टनेलमा लगाएको तरकारी खेती।    तस्बिर : ध्रुव/नागरिक

घुम्थाङ (सिन्धुपाल्चोक) – बढीमा दुई आना जमिनमा बनेको एउटा टनेल। सानो टुक्रामा फैलिएको टलेनमा गोलभेंडा खेती गरेर सुकुमाया तामाङले पहिलो खेपमै १० हजार रुपैयाँ कमाइ गरिन्। यसबाट हैसिएकी उनले दोस्रो सिजनमा खेतीको दायरा केही फैलाएकी छिन्। टनेलभित्र गोलभेंडाका साथ मुला, आसपासमा झँगिँदै छन् गाँजर, प्याज, केराउ र रायोको साग। यो खेपमा आम्दानी दोब्बर लिने सुनाउँछिन् सुकुमाया। 

घर व्यवहार चलाउँदा दैनिक खेर जाने पानी संकलन गरेर उनले गत वर्षदेखि मात्र टनेल खेती थालेकी हुन्। यसअघि तरकारी किनेर खाने नागपुजे गाउँकी उनी अहिले बेचेर आम्दानी गर्न पाउँदा मख्ख छिन्। ‘आफैंले फलाएका ताजा तरकारी खान पाएका छौं,’ छोटो समयमै किनेर खानेबाट बेच्ने हैसियतमा पुगेकी ४२ वर्षीया सुकुमाया भन्छिन्, ‘आम्दानीसमेत हुन थालेपछि घर व्यवहार चलाउन सजिलो भएको छ।’ खेतीलाई निरन्तरता दिँदै बढाउँदै लैजाने उनी बताउँछिन्।

सुकुमायासँगै टनेल खेती थालेका थगामका चित्तल श्रेष्ठको प्रगति अझ डाहलाग्दो छ। खेती सुरु गरेकै वर्ष लाख कमाइ गरेका उनले एउटै टनेलबाट ३० हजार रुपैयाँभन्दा बढी आम्दानी लिए। खेतीमा होमिइसकेपछि उनी गोलभेंडामा मात्र सिमित भएनन्। दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टलेन बनाए गोलभेंडोको साथमा उनले काउली, कांक्रा र प्याजका दाना तथा बेर्ना उत्पादन गर्दै तरकारी खेती विस्तार गरे। 

यसअघि चित्तलालले कहिल्यै तरकारी खेती गरेका थिएनन्। अरुले झैं उनी पनि तरकारी किनेर खान्थे। ‘थोरै तरकारी खेतीबाट पनि यति धेरै कमाइ हुन्छ भनेर कहिल्यै सोचेको थिइन,’ दोस्रो वर्षको खेती स्याहार्दै गर्दा भेटिएका उनले भने। पहिलो सिजन गोलभेंडाबाट ३२, कांक्राबाट चार, काउलीबाट १० र प्याजका दाना तथा बेर्ना बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी गरेको सुनाउने उनले यस वर्ष फर्सीसमेत थपेका छन्। ‘आम्दानी यो वर्ष झनै बढ्छ,’ थोपा–थोपा पानी संकलन गरेर खेतीमा लीन भइरहेका चित्तलाल भन्छन्, ‘कमाइ लाख नाघ्छ।’ उत्पादित तरकारी गाउँमै खपत हुने उनी बताउँछन्।

तीनदिने तालिमपछि दैनिक घर ब्यवहारबाट खेर जाने थोपा–थोपा पानी संकलन गरेर तरकारी खेती सुरु गरेका स्थानीयले एउटै टलेनबाट ३० हजार रुपैयाँ कमाइ गर्न थालेका छन्।

सुकुमाया र चित्तलाल उदाहरण मात्र हुन्। सिँचाइ अभाव रहेको सुख्खा क्षेत्र बाह्रविसे नगरपालिका–७, घुम्थाङमा थोपा सिँचाइको माध्यमबाट एक सय ६ परिवार तरकारी खेतीमा होमिएका छन्। दुई वर्षअघिसम्म बाह्रविसे बजारबाट तरकारी किनेर ल्याउने उनीहरु अहिले त्यहीँ उत्पादन बिक्री गर्छन्। एउटै टनेलबाट एकै खेपमा १० देखि ३० हजार रुपैयाँ आम्दानी लिन थालेपछि उनीहरु तरकारी खेतीमा मज्जैले होमिएका छन्। प्राविधिक रुपमा समेत अब्बल बन्दै गएका किसान खेपैपिच्छे टनेलमा फरक जातको तरकारी लगाउँछन्। 

‘लगातार एकै जातको तरकारी खेती गर्दा रोगले सताउने रहेछ,’ खेती अनुभव सुनाउँदै गोरी तामाङले भनिन्, ‘फेरेर खेती गर्दा रोग नलाग्ने रहेछ। यसो हुँदा आम्दानी पनि राम्रो हुने नै भयो।’ पहिलो सिजन टलेनमा गोलभेंडा खेती गरेकी उनले यो पटक केराउ, लसुन, प्याज, कांक्रा, फर्सी, साग लगाएकी छिन्। सुरुको खेप सिक्ने क्रममा रहेकाले खाएर थोरै मात्र तरकारी बेच्न सकेकी उनी यो वर्ष २० हजार रुपैयाँ कमाइ हुने अनुमान लगाउँछिन्। 

तीनदिने तालिमको भरमा स्थानीय तरकारी खेतीबाट आम्दानी लिन सक्षम भएका हुन्। २०७२ को विनासकारी भूकम्पले पीडितको दैनिकी बिथोल्यो। बिथोलिएको दैनिकी जोड्न सामाजिक संस्था टुकी संघ सुनकोसीले स्थानीयलाई तालिम दिएको थियो। स्थानीयलाई जीविकोपार्जनमा लगाउने उद्देश्यले दिइएको त्यही छोटो तालिम बहार बनिदियो। ‘जीविकोपार्जनबाट माथि उठेर स्थानीय व्यवसायिक बनिरहेका छन्,’ सहयोगी संस्था टुकीका कार्यक्रम संयोजक महेन्द्र कार्कीले भने। 

उनका अनुसार तालिमपछि तरकारी खेतीमा उत्साही बनाउन संस्थाले ट्यांकी, पाइप, जार लगायत थोपा सिँचाइका सामग्री, टनेल प्लास्टिक र प्राविधिक सहयोग उपलब्ध गराएको थियो। पटक–पटक समस्यामा आधारित स्थलगत प्राविधिक तालिम दिएपछि स्थानीय खेतीमा पोख्त बन्दै गएका छन्। उत्पादित अधिकांश तरकारी गाउँमै खपत हुन्छ। नजिकै अरनिको राजमार्ग रहेकाले बजारको समस्या छैन। ‘आफूले खाएर खेतीबाट कम्तिमा १० हजार नकमाउने परिवारै छैन,’ संयोजक कार्कीले भने।

प्रकाशित: ७ चैत्र २०७५ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App