१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डुंगा दुर्घटनाः ८ शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

इलाम-इलामको दानाबारीबाट महमाई जानेक्रममा शुक्रबार माइखोलास्थित चण्डालघाटमा डुबेको डुंगामा हराइरहेकाहरूको शनिबार बिहानै पुनः खोजी सुरु गरिएको छ । खोलामा बाढी आएको र राति सम्भव नहुने भएपछि गएराति १० बजेदेखि उद्धार र खोजी स्थगित गरिएको थियो । 

घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शनिबार बिहान ६ बजेदेखि सशस्त्र प्रहरीका ७, नेपाली सेनाका ६ जना तथा नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी तथा उद्धार गरिरहेको जानकारी दिए । ‘खोजी अझ प्रभावकारी बनाउन नजिकै रहेको जिल्ला झापाका प्रजिअसँग सम्पर्क गरी सुरक्षाकर्मीको थप टोली पनि मागिएको छ,’ उनले भने, ‘आवश्यक परे जनशक्ति अझ थपेर खोजी गरिने छ ।’ 

दसैंको टीका लगाउन आउ–जाउ गर्ने यात्रु बोकेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा ७ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार शुक्रबार रातिसम्म ४ मृतकको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।  यसैगरी शनिबार विहान झापाकाे शिवगंज नजिक ठेगाना नखुलेका कृष्ण घटानीकाे शव फेला परेकाे छ। साेही ठाउँमा नाम थर नखुलेका अन्दाजी ३० वर्षीय एक पुरूषकाे शव फेला परेकाे प्रहरीले जनाउकाे छ। यसैगरी  मोरङ मधुमल्ला–२ की ६ वर्यीया अंजली  खड्का र  ६ वर्षीया  पुष्पा खड्काे शव फेला परेकाे प्रजिअ दाहालले जनाए।

प्रहरीले भने एक बालकको शव भेटिएपनि नामथर खुल्न नसकेको जनाएको छ । दानाबारीका सामाजिक अगुवा ध्रुव श्रेष्ठले डुंगा डुबेको स्थानभन्दा केही तल माई र गरुवाखोलाको दोभानमा जसबहादुर र डम्बरमायाको शव भेटिएको बताए । पवित्रा, हर्कबहादुर र १ बालकको शव अझै तल चेप्टी भन्ने स्थानमा फेला परेका थिए । शुक्रबार सम्म २० महिला र १४ पुरुषको उद्धार गरिएको थियो । उद्धार गरिएकाहरूले आफ्नो पति, बालबच्चा र आफन्त हराइरहेको बताएका छन् । कति संख्याका यात्रु बेपत्ता छन् भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

डुबेको डुंगा भने घटनास्थलबाट २ किलोमिटर तल भेटिएको थियो । डुंगामा ५० भन्दा बढी यात्रु रहेको पौडिएर निस्केका यात्रुले जनाएका छन् । घटनास्थलमा स्थानीय, जिल्ला र दानाबारीस्थित प्रहरी, झापास्थित मेची अञ्चल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका टोली उद्धारका लागि खटेका छन् ।

 

प्रकाशित: २९ आश्विन २०७३ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App