सन्दर्भः अन्तर्राष्ट्रिय वन दिवस

मनमा राखौं वन

बिहिबार, ०७ चैत २०७५, ११ : ०७ लक्ष्मीदत्त भट्ट

‘वनप्रति माया गर्न सिकौं’ नाराका साथ आज अन्तर्राष्ट्रिय वन दिवस मनाइँदै छ। जगतप्रति माया अनि सद्भाव पूर्वीय दर्शनको मूल धेय हो। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,’ मानवका लागि मात्र नभई सम्पूर्ण चराचर जगतका लागि भनिएको हो। पूर्वीय सनातन दर्शनको मूल ग्रन्थ वेदमा प्रकृतिलाई प्रमुख उर्जाका रूपमा औंल्याइएको छ, जहाँ रूखलाई प्राण अनि यसले दिने हावालाई प्राणवायु (अक्सिजन) भनिएको छ।

सनातन दर्शनका पवित्र ग्रन्थ– वेद, पुराण, गीता आदिले प्रकृति, वन तथा वातावरणलाई संरक्षण गर्न मानव जातिलाई प्रोत्साहन गरेको देखिन्छ। ऋग्वेदमा हजारौं वर्षसम्म जीवनको सार बुझ्न अनि सुखी रहन रूख रोप्नु अनिवार्य मानिएको छ। ऋग्वेद (१.६.३) मा प्राकृतिक सुन्दरतालाई भगवानको अनुपम उपहार स्वीकार गरिएको छ। त्यसैगरी युजुर्वेदमा (१६.१७) राष्ट्रलाई बचाउन वन जोगाउनैपर्ने भनिएको छ। यजुर्वेद (८.७.१०) मा वन अनि वनस्पतिले विष (प्रदूषण) नियन्त्रण गर्ने प्रस्ट पारिएको छ।

व्यास ऋषिले तपोवन (मूल भाव– नौवटा वन) मा चार वेद अनि १८ पुराण लिपिबद्ध गरेको श्रुती छ। त्यहि तपोवनमध्येको एउटा वन अहिले पनि भारतको लखनउनजिक पवित्र व्यास गड्डीको नामले प्रख्यात छ। भगवान बुद्धले प्राप्त गरेका बुुद्धत्व अनि महापरिनिर्वाण पनि वनसँगै जोडिएको छ। यसरी हाम्रो प्राचीन सभ्यता, वन तथा वनस्पतिसँग गाँसिएको छ।
आधुनिकता अनि भौतिक विकाससँगै हाम्रा प्राचीन मान्यताहरू ओझेलमा पर्नु अस्वाभाविक होइन। केही दशक अघिसम्म तीव्र गतिमा भएको वन विनासले देखापरेका विभिन्न समस्या आत्मसात गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय फेरि वन विकासको पहलमा अग्रसर देखिएको छ। विशेषगरी सन् ७० को दशकमा बहुगुणाको अगुवाइमा भारतको कुमाउ अनि गढवालमा भएका चिप्को आन्दोलनले यस क्षेत्रका वन संरक्षणप्रति स्थानीयको चासो बढेको देखिन्छ।

विशेषगरी प्रविधिमैत्री अहिलेको पुस्तालाई यसकै माध्यमबाट प्रकृतिको नजिक हुन, रूखको छहारीको आनन्द अनि चराहरूको चिरबिराहटमा रमाउन उत्प्रेरित गर्न सके वनलाई उनीहरूको मनमा राख्न सकिन्छ।

त्यसैगरी गुथम्यान (१९७६) को हिमाली पर्यावरणमा ह्रासको सिद्धान्त प्रकाशित भएयता हिमाली पर्यावरण तथा वन संरक्षणमा निकै पहल भएको पाइन्छ। नेपालमा सामुदायिक वनको सफलता होस् वा चिनियाँ सरकारले  पर्यावरणमा गरेको लगानी (इकोलोजिकल सिभिलाइजेसन), यसका उदाहरण हुन्। यस्तै पाकिस्तान सरकारले भर्खरै राष्ट्रिय स्तरमै ‘बिलियन ट्री’ योजना सुरु गरेको छ।

यी अनि यस्ता अरू धेरै कार्यक्रमले सकारात्मक प्रभाव पारे पनि हामीले हाम्रो युवा पुस्तालाई वनप्रति आकर्षित गर्न नसकेको कटुसत्य होे। सूचना प्रविधिको यो अत्याधुनिक युगमा झुमेको युवा पुस्तालाई प्रकृतिप्रेमी बनाउने दायित्व, अवसर तथा चुनौती हामीसँग छन्। विशेषगरी प्रविधिमैत्री अहिलेको पुस्तालाई यसैका माध्यमबाट प्रकृति नजिक पु¥याउन, रूखको छहारीको आनन्द अनि चराहरूको चिरबिराहटमा रमाउन उत्प्रेरित गर्न सके वनलाई उनीहरूको मनमा राख्न सकिन्छ। सूचना प्रविधिकै उपयोग गरेर शिक्षा, साहित्य, संगीतका माध्यमबाट वनलाई मनमा राख्न अभिप्रेरित गर्न सकिन्छ। काव्यको रस अनि गितारको धुनसँगै वनलाई मनमा बसाउन सकिन्छ।  

महान् दार्शनिक खलिल जिब्रानले भनेजस्तै– रूखहरू पृथ्वीले आकाशमाथि लेखेका कविता हुन्। युवा साहित्यकारलाई यतातिर मोड्ने कि ? अथवा हाम्रो युवा कविहरूलाई ब्राजिलियन उपन्यासकार एवं कवि पाउलोका शब्दमा लाखौ रूख भएका एउटा वनमा कुनै पनि पात एकनासे हुँदैनन्, त्यसैले जिन्दगीका हरेक पाइला फरक छन्, हरूसँग जोड्ने। तरलतामा रहेको हाम्रो राजनीतिमा आशालाग्दा युवा नेताहरू छन्। ‘हामीले हाम्रो वनलाई जे गर्दैछौं, त्यो हामी आफैं अनि अरूप्रति गरिएको क्रियाको  ऐना हो।’ भारतीय स्वतन्त्रताका अगुवा अनि बापु नामले परिचित महात्मा गान्धीका यी शब्द हाम्रा युवा राजनीतिकर्मीका भाषणमा पार्न सके, मनभित्र वन पार्न सकिन्थ्यो कि ? हामीसँग अवसर छ अनि सम्भावना पनि।

४४ प्रतिशत वनले ढाकिएको, २४ प्रतिशत संरक्षित क्षेत्र, अनि एक/दुई घण्टाको गाडी यात्रामै पुग्न सकिने तराईका सालघारीभित्र र उपल्लो पहाडका लालीगुराँस झ्याङमा रातो पण्डा पाइने हाम्रो देश नेपाल, एक सुखद संयोग मात्र होइन, प्रकृतिप्रदत्त अनुपम उपहार पनि हो। यस्तो प्राकृतिक पाठशाला विश्वममा बिरलै पाइन्छन्। तर अर्काे दुःखद सत्य के हो भने हामीले यसको अध्ययन, अनुसन्धानप्रति उन्मुख गराउने तथा प्रकृतिलाई प्रेम गर्न प्रेरित गर्ने किसिमका शिक्षालाई प्राथमिकता दिएका छैनौं। हाम्रा शैक्षिक कार्यक्रम कोठा केन्द्रित छन्। प्रकृतिनजिक शैक्षिक विकासले मात्र वनप्रति मोह बढाउँछ, आत्मीयता बढाउँछ। यो लेख्दालेख्दै मैले सम्झें– जोन डेन्भरको ‘क्रस कन्ट्री रोड, टेक मि होम।’ हाम्रो युवा पुस्ताले नारायण गोपालको ‘केही मीठो बात गर’को डेन्भर समिश्रण त्यतै, कतै, त्यै पाखाहरूतिर गाए नि हुने नि ! नेपथ्यले गाएजस्तै– ‘मुटु छुने लुम्लेको हावाले।’

सहरी धुलो, धुवाँ अनि कंक्रिटका भवनभित्र हराइरहको अहिलेको पुस्ताले वनसँग नजिक हुन पाएकै छैन। अझ भनौं, यो अवसर हामीले दिएकै छनौं। अनि कसरी आउँछ त उनीहरूको मनमा वन ? काठमाडौंकै कुरा गरौं न, ३ प्रतिशतभन्दा कम वन भएको हाम्रो राजधानी। अलिकति मन लोभ्याउने पोखरामा १० प्रतिशतजति वन छ। हरियाली पार्क, करिडर, एक घर तीन रूख, सहरी वन विकासजस्ता धेरै नीतिगत व्यवस्था हुँदाहुँदै पनि हामीले सहरकेन्द्रित वन वन विकास गर्न सकेनौं। कारण खोज्दै जाउँला तर वन भए मात्र यसप्रति माया हुन्छ। बस्, कुरो यही हो– वनलाई मनमा राख्न वन नै चाहिन्छ।

भागवत गीता (भाग–३, श्लोकः २९) मा भनिएको छ– प्रकृतेर्गुणसम्मूढाः सज्जन्ते गुणकर्मसु। तानकृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत।। यसको अन्तरभाव– गुणकारी व्यक्तिले वनको महत्व प्रकृति र प्राकृतिक अन्तरसम्बन्धसँग जोडेर हेर्छ, हेर्नुपर्छ। हाम्रा वैदिक चिन्तन अनि श्रुतीहरूले अहिले पनि उत्तिकै महत्व राख्छन्। वनसँग अनि प्रकृतिप्रेमसँग। आधुनिकता अनि भौतिक सम्पन्नता सँगसँगै हामीले परम्परागत ज्ञानलाई समेत स्वीकारे यो प्रेम अझ गहिरिएर जान्छ। जहाँ ‘सर्वे भवन्तु सुखिनः’ को हाम्रो मान्यता अझ प्रगाढ बन्न पुग्छ।

तर यसका लागि राज्यले प्राकृतिक सम्पदा, वन अनि परम्परागत ज्ञान, सिपको संरक्षणमा अहोरात्र खट्ने सामाजिक अभियन्ता तथा स्थानीय समुदायलाई अभिप्रेरित गर्ने खालका नीति बनाउनु अपरिहार्य छ। स्थानीय समुदायलाई वातावरणीय सेवा भुक्तानीजस्ता कार्यक्रमार्फत प्रोत्साहित गर्न सके वनलाई मनमा राख्न मद्दत पुग्छ। अन्त्यमा, प्राणवायु दिने, जलवायु परिवर्तनको एक प्रमुख असर हरितगृह कार्बनडाइअक्साइडलाई सोस्नसक्ने हाम्रो वन सम्पदालाई मनभित्रै राखी माया गर्न यस वर्षको अन्तर्राष्ट्रिय वन दिवसले उत्प्रेरणा दिन सकोस्, सबैमा शुभकामना। (लेखक इसिमोडका वरिष्ठ पारिस्थितिकीय व्यवस्थापन विशेषज्ञ हुन्।)







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...