१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साढे छ किलोमिटर मात्रै मापदण्डअनुरूप

इटहरी - व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटर मात्रै मापदण्डबमोजिमको हुने भएकाटहरी बजारदेखि उत्तर तरहरा बजारसम्मको सडक–खण्ड मापदण्डअनुसारको हुनेछ भने बाँकी खण्डमा मापदण्ड मिचिनेछ।

भारत तथा तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म छ लेनको बनाउन लागिएको सो सडकको ४९ किलोमिटरमध्ये हाल ३२ किलोमिटर क्षेत्रमा मात्र काम भइरहेको छ।

‘इटहरी बजारदेखि उत्तर तरहराबजारसम्म मात्रै छ लेनको मापदण्डअनुसारको सडक हुनेछ, अरूतिर भने एकरूपता हुने छैन,’ छ लेन सडक विस्तार आयोजना इटहरीका इन्जिनियर उपेन्द्र दासले भने। उनका अनुसार इटहरीदेखि तरहरासम्म पैदलयात्रुका लागि फुटपाथ र सडकको बीचमा बगैंचासमेत हुनेछ। अन्यत्र फुटपाथ र बगैंचा हुने छैन। इटहरीदेखि तरहरासम्म सडकको मध्यबिन्दूबाट दुवैतिर २५–२५ मिटर अधिग्रहण गरिएको छ, जसले गर्दा छ लेनको मापदण्डअनुसार हुने भएको हो। अन्यत्र भने सुरुमा तयार गरिएको डिपिआर घटाएर बीचबाट दुवैतिर १५–१५ मिटरमात्र लिनुपरेकाले पूरा नहुने भएको हो।

‘अब ठेक्का लगाउन बाँकी तरहरा धरान सडक खण्डको १४ किलोमिटरमा पनि वनले डिपिआरअनुसार आवश्यक सबै रुख कटानका लागि सहमति नदिँदा छ लेनको पूर्ण मापदण्डअनुसार हुने छैन,’ दासले भने। तरहरादेखि धरानसम्म सडक विस्तारका लागि वन कार्यालयले एक हजार चार सय नौ वटा रुख कटान गर्न स्वीकृति दिएको छ। छ लेनको मापदण्डअनुसार गर्दा अरू थप रुख काट्नुपर्ने हुन्छ। ‘धेरै रुख काट्दा जंगल विनास हुने भएपछि वनले स्वीकृति दिएन,’ दासले भने। तरहरादेखि धरानसम्मको सडक–खण्ड चालु आर्थिक वर्षभित्रै ठेक्का लाग्ने तयारी भएको छ। ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। छ लेन सडक विस्तार आयोजनाअन्तर्गत अहिलेसम्म सात किलोमिटर मात्रै सडक निर्माण पूरा भएको छ। रानीदेखि उत्तर तीन किलोमिटर र बरगाछीदेखि दुध–फारमसम्म अरू चार किलोमिटर सडक पूरा भए पनि अन्यत्रको भएको छैन। ‘सडक निर्माणमा ठेकेदारको लापरबाही देखिएको छ,’ इन्जिनियर दासले भने, ‘केही ठेक्कादारलाई कालोसूचीमा राख्ने र केहीको जमानत जफत गर्ने प्रक्रिया थालिएको छ।’ सडक विस्तार आयोजनाका अनुसार विराटनगरको बरगाछीदेखि ढाटसम्म तीन किलोमिटर सडक–खण्ड निर्माणको जिम्मा लिएको एपिएल÷पप्पु कन्स्ट्रक्सनलाई दुईपटक म्याद थप्दा पनि काम नगरेपछि बैंक ग्यारेन्टी जफत गरिने भएको छ।

यस्तै, शर्मा र कान्छाराम कन्स्ट्रक्सन जेभीको पनि बैंक ग्यारेन्टी जफत गरिने भएको छ। विराटनगरको दुध–फारमदेखि बाँसबारीसम्मको सडक निर्माणमा ढिलाइ गरेकाले बैंक ग्यारेन्टी जफत गर्ने सिफारिस भएको हो। इन्जिनियर दासका अनुसार ठेकेदारले धेरैतिर ठेक्का लिने हुँदा काममा लापरबाही गर्ने गरेका हुन्। आर्थिक वर्ष २०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि अझै कम्तीमा चार वर्ष लाग्ने अनुमान गरिएको छ। १० अर्ब ९८ करोड लागत अनुमान गरिएको सो सडकको अहिलेसम्म विभिन्न सडक–खण्ड गरी सात अर्ब ५३ करोड १० लाखको मात्र ठेक्का लागेको छ।

टेङ्ग्रा खोला, इटहरी र दुहवीमा समस्या
सडक विस्तार गर्दा इटहरीदेखि दक्षिणतर्फको पाँच किलोमिटर खण्ड विस्तार गर्न सडकसँगै टासिएर बग्ने टेङ्ग्रा खोला मुख्य समस्या बनेको छ। टेङ्ग्रा खोलालाई छ लेनको सडक विस्तार गर्न मिल्नेगरी पूर्वतर्फ धकेल्दा निजी जग्गा पर्छ। टेङ्ग्रा खोला व्यवस्थापन गर्न ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि अर्थ मन्त्रालयले सहमति दिएको छैन, जसले गर्दा अन्योल बढेको छ।

इटहरी बजारभन्दा माथि उत्तरतर्फ टेङ्ग्रा खोला फराकिलो हुनाले बर्खाको बेला वस्तीमा कमै असर गरे पनि इटहरी बजारभन्दा दक्षिणतर्फ खोला साँघुरो हुँदै गएकाले पानी ओभर–फ्लो भई वस्ती र समानान्तर सडकमा क्षति हुने गरेको छ। इटहरी–३ जङ्गल क्षेत्रबाट सुरु भएको टेङ्ग्रा खोला व्यवस्थापन सडक विस्तार आयोजनाको टाउको दुखाइको विषय बनेको छ। छ लेन सडक विस्तारकै क्रममा दुहवी र इटहरी बजार क्षेत्रका स्थानीयले घर भत्काउन गरिरहेको अटेरीपन पनि सडक विस्तार आयोजनाका लागि अर्को चुनौतीको विषय बनेको छ। दुहवी क्षेत्रको दुई किलोमिटर र इटहरीको बजारदेखि उत्तरतर्फ चार सय तथा दक्षिणतर्फ पनि चार सय मिटर क्षेत्रका भौतिक संरचना भत्काउनेमा परेका छन्।

दुहवीमा अहिले सडकको भाग २७ फिट मात्र छ। दुहवीमा सरकारले २०५४ सालमै छ सय ३० मिटर क्षेत्रलाई बिल्ड–अप क्षेत्रको रूपमा कायम गर्न निर्णय गरेको थियो। २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार, दुहवी बजार क्षेत्रमा सडकको केन्द्र–रेखाबाट दायाँ–वायाँ २७–२७ फिट मात्र सडक–सीमा कायम गरिएको थियो, जसले गर्दा थप सडक विस्तार गर्न समस्या भएको हो। इटहरी क्षेत्रमा पनि बजार क्षेत्रका बासिन्दाले भौतिक संरचना नभत्काइकन सडक विस्तार गर्न माग राखेर अवरोध सिर्जना गर्दै आएका छन्। जसले गर्दा दुहवी र इटहरी बजार क्षेत्रमा सडक विस्तारको काम अघि बढ्न सकेको छैन। टेङ्ग्रा खोला, दुहवी र इटहरी बजारबाहेक विराटनगर प्रवेशका लागि राखिएको गेट हटाउन माग गर्दा पनि अटेरी गरिएको छ। तरहरामा ३३ केभी लाइनका आधा दर्जन पोल सार्नु पनि आयोजनाका लागि चुनौतीपूर्ण बनेको छ।

प्रकाशित: ७ चैत्र २०७५ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App