१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

होलीमा नौ सय १८ सवारी कारबाहीमा

काठमाडौं - उपत्यकामा होली पर्वले गर्दा बुधवार ओहोरदोहोर गर्नको लागि सर्वसाधारणले सास्ती खेपेका छन्। सडक, पैदलमार्गमा होली खेल्नेको भीडभाड बढेपछि सवारी जामसँगै हिँडडुल गर्न उनीहरुलाई सास्ती भएको हो। भीडभाड र सवारीजाम भएपछि यात्रुहरु गन्तव्यमा पुग्न नसकेका हुन्।

सुन्धारामा भेटिएका जोरपाटीका मिलन तामाङले होलीले गर्दा समयमै गन्तव्यमा पुग्न नसकिएको बताए। ‘जोरपाटी जानुपर्ने गाडी नै पाइन,’ उनले भने, ‘बसपार्कमा जाउँ भने पैदलमार्गमा पाइला टेक्ने ठाउँ छैन। त्यहाँसम्म पुग्न नै ढेड घण्टा लाग्छ। यहाँबाट गाडी पाइँदैन।’ मानिसहरुले सडकमै होली खेलेकाले आवतजावत गर्ने बाटो नहुँदा धेरैले सास्ती भएको दुखेसो पोखे। ‘होली सार्वजनिक ठाउँमा पो गएर खेल्नु पथ्र्यो,’ उनले भने, ‘तर ओहोरदोहोर गर्ने बाटोमै खेल्छन्। काममा हिँड्नेलाई समेत पानी र रंगले भिजाउँछन। सर्वसाधारणको सेवासुविधामा कुनै सरोकारवाला निकायले चासो देखाएन। जसको परिणाम हामीले भोग्नु प¥यो।’ उनका अनुसार टुँडिखेल, सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडकलगायत चोकमा पैदलयात्रुले टेक्ने ठाउँ समेत थिएन। वृद्धवृद्धा र बालबालिकाहरुलाई बढी समस्या भएको उनले बताए।

बसन्तपुर र न्युरोड क्षेत्रमा होलीखेल्नेको चाप बढेपछि ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले बताए। ‘न्युरोड र बसन्तपुर आसपासमा करिब ८० हजार मान्छेले होली खेलेकाले ट्राफिक व्यवस्थापनमा समस्या भयो,’ उनले भने, ‘पैदलयात्रुलाई समेत समस्या भयो। हामीले डाइभर्सन गरेर जामलाई व्यवस्थापन ग¥र्यौं।’ उनका अनुसार बिहानको समयमा खासै सवारी जामको समस्या आएको थिएन। दिउँसो १२ बजेदेखी होली खेल्ने मान्छे ह्वात्तै बढेपछि ट्राफिक जाममा समस्या भयो। जाम बेलुकाको ४ चारबजेसम्म सवारी जाम भएको थियो। रत्नपार्क क्षेत्रमा होली खेल्नेको चाप बढेपछि बौद्ध, जोरपाटी र चक्रपथ रुटको सवारीलाई ट्राफिक प्रहरीले गौशाला चोकबाट रत्नपार्कमा छिर्न दिएको थिएन। त्यही ठाउँबाट सवारी फर्काएका थिए। उक्त समयमा यात्रुहरु बिचल्लीमा परेका थिए।

९ सय १८ सवारी ट्राफिक कारबाहीमा
ट्राफिक प्रहरीले होली पर्वको बेला बुधवार २५ वटा सरकारी गाडीसहित ९ सय १८ वटा सवारी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहानदेखी राती ७ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन्। महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जयराम सापकोटाले मापासे, लापरबाहीले सवारी चलाउने, हेलमेट नलगाएको र कागजपत्र नभएको सवारी साधनलाई कारबाही गरेको बताए।

उनका अनुसार सरकारी गाडी २५ , मापसे १ सय ३५, लापरबाही तरिकाले सवारी चलाउने ३६, कागजपत्र नभएको तीन सय ३०, हेलमेट नलगाएको ४३, तीन जना सवार ७६ र अन्य ३ कारबाहीमा परेका छन। होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले बुधवार प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको थियो। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको थियो। सापकोटाका अनुसार उपत्यकाका ७७ स्थानमा चेकिङ प्वाइन्ट र १५ वटा मोबाइल भ्यानहरूले गस्ती गरेको थियो।

प्रकाशित: ७ चैत्र २०७५ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App