१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

११ बुँदे सहमति प्रष्ट गर्न सरकारसँग माग

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको निर्वाचन र नियमावली मस्यौदा समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले राधेश्याम अधिकारी संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा नियमावली मस्यौदा समिति गठन गरेको हो।

अधिकारीको नेतृत्वमा गठन भएको पाँच सर्दाचन समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सिताराम केसी र एकराज पोखरेल छन्। त्यस्तै, लेखक नेतृत्व नियमावली मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन्।

त्यस्तै, सोमबार गठन भएको पार्टीको केन्द्रीय अनुशासन समिति पनि विस्तार भएको छ। पार्टी विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार भीष्मराज आङ्दम्बेको संयोजकत्वमा गठित दुई सदस्यहरूमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र धनराज गुरुङ थपिएका छन्। उनीहरू नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट सहभागी भएका हुन्।

बैठकले सिके राउत नेतृत्वको समूहसँग सरकारले गरेको ११ बुँदे सम्झौतालाई स्पष्ट गर्न माग गरेको छ। संविधानभित्रबाट समस्याको समधान खोज्नुपर्ने कांग्रेसले दोहोर्याएको छ। ‘सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक छ,’ कांग्रेसले भनेको छ, ‘तराई–मधेसलगायत मुलुकका सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि बैठकले स्मरण गराएको छ।’

कांग्रेसले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतंक त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः आह्वान गरेको छ। ‘निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकारसमक्ष आग्रह गरेको छ,’ कांग्रेसले भनेको छ, ‘दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुवै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ।’

राष्ट्रयका संवेदनशील विषयमा पनि सरकारले प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको आरोप लगाउँदै कांग्रेसले कुनैपनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने आग्रह गरेको छ। ‘संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई सरकारले त्यागेको आरोप लगाउँदै उसले भनेको छ, ‘यस विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।’

होली पर्वको सबैलाई शुभकामना दिंँदै कांग्रेसले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गर्ने विश्वास प्रकट गरेको छ।

प्रकाशित: ६ चैत्र २०७५ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App