१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

झन्डै ठोक्कियो काठमाडौं आउँदै गरेको विमान

काठमाडौं – मुम्बईको अति व्यस्त आकासमा शुक्रबार दुई अन्तर्राष्ट्रिय विमान ठोक्किनबाट बचेको ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ। भारतीय आकासमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेन्डको सावधानीका कारण ठोक्किनबाट जोगिएका हुन्।

फेब्रुअरी २७ बाट पाकिस्तानले आफ्नो आकासमाथि रोक लगाएका कारण दुवै विमान भारतीय आकास भएर उडिरहेका थिए। ‘टाइम्स अफ इन्डिया’ले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उद्धृत गर्दै जनाएअनुसार गत शुक्रबार अपराह्न आबुधाबीबाट काठमाडौं आउँदै गरेको इत्तेहाद एयरलाइन्स र हो चि मिन्हबाट फ्रान्सको पेरिसतर्फ गइरहेको एयर फ्रान्सका जहाज केही सेकेन्डको दूरीमा ठोक्किनबाट जोगिएका हुन्।

काठमाडौं आउँदै गरेको ‘इवाई २९०’ विमान ३१ हजार फिटको उचाइमा उडिरहेको थियो भने पेरिस जाँदै गरेको ‘बोइङ ७७७’ विमान ३२ हजार फिटको उचाइमा उडिरहेको थियो।

मुम्बई एयर ट्राफिक कन्ट्रोलले शुक्रबार अपराह्न १ बजेर ४० मिनेटको समयमा इत्तेहादको उडानलाई ३३ हजार फिटमा जान निर्देशन दिएको थियो। ट्राफिक कन्ट्रोलको निर्देशन प्राप्त गर्नेबित्तिकै काठमाडौं आउँदै गरेको सो जहाजले उचाइ लिने क्रममा विपरित दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भएको बताइएको छ। 

स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाका अनुसार दुईवटै विमान मात्र तीन नटिकल माइल टाढा थिए। यो भनेको केही सेकेण्डको मात्र फरक हो। तर दुवै पाइलटको सावधानीका कारण विमानहरु आकासमै ठोक्किनबाट जोगिएको बताइएको छ। जहाज ठोक्किने अवस्थासम्म पुगेको घटनालाई भारतले अनुसन्धानमा राखेको अधिकारीहरुले जनाएका छन्। 

पछिल्लो समय भारत–पाक तनावका कारण इस्लामाबादले आफ्नो आकास बन्द गरेका कारण भारतीय आकासमा विमानको चाप अधिक छ। यो घटनाको छानविन गरी लापरबाही गर्ने माथि कारबाहीको तयारी भइरहेको मुम्बई एयर ट्राफिक कन्ट्रोलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। पाकिस्तानको आकास नखुलेका कारण नेपालतर्फ आउने अन्तर्राष्ट्रिय विमान हिन्द महासागरको माथिमाथि भारत हुँदै आउने गरेका छन्। 

(टाइम्स अफ इन्डियाबाट साभार)

प्रकाशित: ५ चैत्र २०७५ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App