१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्राम आक्रमणकारीको खोजी

बन्दुक आक्रमण भएको क्षेत्रमा देखिएको प्रतिआतंकवाद प्रहरी।    तस्बिरः बिबिसी

हेग – नेदरल्यान्ड्सको अटरेच सहरका विभिन्न ठाउँ र एउटा ट्राम (सहरमा बिछ्याइएका पटरीमा चल्ने यात्रुगाडी)मा बन्दुकधारीले गोली चलाएको अधिकारीहरुले बताएका छन्। गोली लागेर कैयौं मानिस घाइते भएको र एकजनाको मृत्यु भएको आशंका गरिएको विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। 

सोमबार साँझसम्म बन्दुकधारी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ। रेलहरु र ट्रामहरु चल्न बन्द गरिएका छन् भने विद्यालयहरुलाई ढोका बन्द राख्न प्रशासनले आग्रह गरेको छ। आतंकवाद विरोधी प्रहरीले आक्रमण ‘आतंकवादी आक्रमणजस्तो देखिएको’ जनाएको छ। 

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिनका लागि हाल सबै प्रयास गरिरहेको डच प्रतिआतंकवादका संयोजक पिइटर–जाप आलबर्सबगलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उनले एकभन्दा बढी बन्दुकधारी हुनसक्ने पनि बताएका छन्।बन्दुक हमलापछि अटरेच प्रान्तमा सुरक्षा सतर्कता बढाइएको छ। अटरेच विश्वविद्यालयले आफ्ना सबै भवन बन्द गर्दै कसैलाई पनि बाहिर जान र विश्वविद्यालय परिसरमा पस्न नदिएको बिबिसीले उल्लेख गरेको छ। सुरक्षालाई मध्यनजर गर्दै अटरेच केन्द्रीय स्टेसन र मस्जिदहरु हुँदै चल्ने रेलहरु पनि चल्न निषेध गरिएको छ। 

ट्राम आक्रमण भएको क्षेत्र २४ ओक्टोबरप्लेन जक्सननजिकैको सडकमा रहेको घरबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको समाचार बाहिरिएका छन्। ट्राम आक्रमणको समाचार बाहिरिएलगत्तै डच प्रधानमन्त्रीले घटनाप्रति आफू अत्यन्तै सचेत भएको बताउँदै उनले आफ्ना सबै साप्ताहिक गठबन्धन वार्तालाई स्थगित गरेको बिबिसीले उल्लेख गरेको छ। 

आक्रमणबारेको तस्बिर उपलब्ध गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। ट्राम बन्दुक आक्रमणपछि नेदरल्यान्डभरका सम्पूर्ण विमानस्थलमा पनि प्रहरीको उपस्थिति बढाइएको छ। आक्रमणमा घाइतेलाई उपचार गर्नका लागि सक्रिय आपतकालीन सेवा सञ्चालन गर्न सुरक्षा सेवाले अटरेच विश्वविद्यालयको मेडिकल सेन्टरलाई भनेको विवरण पनि बाहिरिएको छ। 

स्थानीय समयअनुसार ट्राम आक्रमण सोमबार बिहानको १० बजेर ४५ मिनेटमा भएको एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘एक मानिसले अन्धाधुन्ध गोली चलाउन सुरु गर्याे,’ एक प्रत्यक्षदर्शीले डच समाचार साइट एनयू डट एनएललाई दिएको विवरण उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। आफूले एक घाइते महिलाको हात र कपडामा रगत देखेको अर्का प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डच सार्वजनिक प्रसारण संस्था एनओएसले जनाएको छ। 

‘मेलै ती घाइते महिलालाई मेरो कारमा ल्याएँ र सहयोग गरें,’ उनले बताए। ‘प्रहरी आइपुग्दासम्म उनी अचेत भइसकेकी थिइन्,’ ती प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सोमबार साँझ यो समाचार तयार पार्दासम्म अटरेच बन्दुक आक्रमणमा कति घाइते भएका छन् वा कतिजना चिन्ताजनक अवस्थामा छन् भन्ने विषय बाहिरिएको छैन। बढ्दो सुरक्षा तहका कारण सबै ट्राम स्थगित गरिएको अटरेच यातायात प्राधिकरणलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

प्रकाशित: ५ चैत्र २०७५ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App