१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मार्की खेलाडी र मालिक सार्वजनिक

चार मार्की खेलाडीका साथ काठमाडौं सुपर च्याम्पियन्सकी मालिक नायिका रेखा थापा । तस्बिरः नागरिक

काठमाडौं – एनसिएल स्पोर्ट्सको आयोजनामा वैशाखमा हुने पहिलो एनसिएल विमेन्स ट्वान्टी–२० क्रिकेट लिगमा सहभागी ४ टोलीका मार्की खेलाडी र टिम मालिक घोषणा भएका छन्। एनसिएलले सोमबार राजधानीमा एक कार्यक्रमबीच मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरेको हो।

टिम मालिकले गोलाप्रथाबाट मार्की खेलाडीको छनोट गरेका थिए । वैशाख ७ देखि १४ सम्म विराटनगरस्थित वैजनाथ क्रिकेटमा हुने प्रतियोगिता विराटनगर रोओरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी विभिन्न ४ सहरका ४ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षत्री भैरहवाकी मार्की खेलाडी रहेकी छिन् भने उपकप्तान सीता रानामगर धनगढीकी, नेरी थापा काठमाडौंकी र करुणा भण्डारी विराटनगरकी मार्की खेलाडी रहेका छन्। त्यस्तै विराटनगरको टिम मालिक अनुप सक्सेना, भैरहवाका अनिल भण्डारी, धनगढीका हरि खनाल छन् भने काठमाडौैंको मालिकमा नायिका रेखा थापा रहेकी छन्।

यसअघि प्रतियोगिता चैत्र १ देखि ९ सम्म गर्ने भनिए पनि प्राविधिक कारणले प्रतियोगिता मिति परिवर्तन गरिएको एनसिएल स्पोर्ट्सका अध्यक्ष जयराज रोयले  बताए।

‘हामीले नेपाली खेलुकदलाई सहयोग, प्रवर्धन र खेलकुदका इभेन्टहरू आयोजना गर्ने उद्देश्यका साथ एनसिए स्पोटर््सको स्थापना गरेका हाैं,’ रोयले भने, ‘यो पहिलो प्रयास भए पनि हामी छिट्टै एसियाकै पहिलो महिला फ्रेन्चाइज लिगसँगै पुरुष र उमेरसमूहको क्रिकेट लिग सञ्चालन गर्नेछाैं।’

प्रतियोगिताका लागि सहभागी टोलीले अक्सनमार्फत खेलाडी भित्र्याउनेछन्। प्रतियोगिता खेल्न दर्ता भएका खेलाडीहरूलाई ग्रेड ए, बी र सी गरी तीन तहमा विभाजन गरिएको छ। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्यूनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रहनेछ भने ग्रेड बीका खेलाडीको न्यूनतम मूल्य २५ हजार र अधिकतम मूल्य ५० हजार र ग्रेड सीमा रहेका खेलाडीको  न्यूनतम मूल्य १५ हजार र अधिकतम मूल्य २५ हजार रहनेछ।

काठमाडौं सुपर च्याम्पियन्सकी मालिक रेखा थापाले महिला खेलाडीहरूले क्षमता हुँदाहुँदै पनि आफ्नो क्षमता प्रमाणित गर्न नपाउँदा यो प्रतियोगिताले त्यसलाई चिर्ने विश्वास व्यक्त गरिन्।

‘एनसिएल वुमेन्स ट्वान्टी–२० क्रिकेट लिगमा सहभागी सबै टोली आफंैमा एक विजेता हुन्,’ रेखाले भनिन्, ‘यो प्रतियोगिताले महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने सन्देश दिन्छ।’

‘महिला खेलाडीमा क्षमता हुँदाहुँदै पनि राज्यबाट विभेद सहन परेको छ,’ रेखाले भनिन्, ‘गत महिना नेपाली महिला टोली थाइल्यान्डमा भएको विश्वकप छनोटमा उपविजेता बन्दै स्वदेश फर्किए पनि उनीहरूलाई विमानस्थलमा स्वागतका लागि कोही पनि खेलकुद पदाधीकारी गएनन्। जबकि पुरुष टोलीले हरेक पटक भव्य स्वागत पाउने गरेको छ। त्यसैले यो प्रतियोगिता त्यो विभेद चिर्ने एक मार्ग हो।’

‘हामीले वर्षभरमा मात्र एउटा प्रतियोगिताको आधारमा राष्ट्रिय टोलीमा स्थान बनाउँथ्याैं,’ धनगढीकी मार्की खेलाडी सीता रानामगरले भनिन्, ‘नेपालमा पछिल्लो समय भइरहका एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगजस्ता फ्रेन्चाइज लिग आयोजना भइरहेका छन्  र सबै प्रतियोगिता पुरुषका लागि मात्र आयोजना भएका छन्। अब महिला खेलाडीले पनि फ्रेन्चाइज लिग खेल्ने अवसर पाउने भएका छन् र त्यो अवसर जुराइदिएकोमा एनसिएल परिवारलाई विशेष धन्यवाद।’

‘अब महिला खेलाडी पनि अक्सनमार्फत निश्चित रकमका लागि विभिन्न टोलीमा आबद्ध हुनेछन्,’ सीताले थपिन्, ‘यो पहिलो प्रयास हो, तर यसले महिला क्रिकेट क्षेत्रमा महत्वपूर्ण छाप छोड्नेमा हामी विश्वस्त छौं।’

प्रकाशित: ५ चैत्र २०७५ ०४:३१ मंगलबार

विमेन्स_ट्वान्टी–२०_क्रिकेट मार्की_खेलाडी टिम_मालिक विराटनगर