१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौं महानगरपालिका वडा २७ महाबौद्धमा यस्ता छन् समस्या

‘शौचालयको समस्या छ’
केदार न्यौपाने (स्थानीय, महाँकाल)

यहाँ सार्वजनिक शौचालयको समस्या छ। शौच गर्नको लागि पर्यटक र सर्वसाधारण छटपटिन्छन्। सवारी पार्किङको पनि समस्या छ। जहाँतही सवारी पार्किङ गर्छन्। जसले गर्दा हिँड्ने सर्वसाधारणलाई सास्ती पर्छ। ग्राहक समेत आउन सक्दैनन्। त्यसैले हाम्रो व्यापारमा समेत घाटा भएको छ। यसमा वडा कार्यालयले कुनै पहल गरेको छैन। खानेपानीको पनि समस्या छ। जारको पानी र बोरिङ गरेर उपयोग गर्न बाध्य छौँ। वडा कार्यालयलगायत अन्य निकायले सवारी पार्किङको लागि सार्वजनिक जग्गा खोज्नुपर्छ। खानेपानीको लागि पनि पहल गर्नुपर्छ।
 

‘सवारी पार्किङको समस्या छ’
गणेश सेडाई (स्थानीय, महाँकाल महाबौद्ध)

सवारी पार्किङको समस्या छ यहाँ। सबैतिर अव्यवस्थित रूपले सवारी पार्किङ गरिएको छ। बाटो पनि साँघुरो छ। ठूला मालबाहक सवारीसाधन ओहोरदोहोर गरेमा करिब डेढ घण्टाजति जाम हुन्छ। जथाभावी फोहोर पनि फाल्ने गरेको देखिन्छ। यसको व्यवस्थापनमा कुनै सरोकार निकायले चासो देखाएका छैनन्। तार पनि अव्यवस्थित छन्। ट्रक आएमा तार नै गाडीमा झुन्डिएर चुँडिने अवस्था हुन्छ। यसले सहर कुरूप मात्रै नभई दुर्घटना हुने उच्च सम्भावना छ। यो ठाउँमा धेरै सपिङ गर्ने थलो हो। हामी पनि पसलको व्यवसाय गरिरहेका छौँ। तर, यस्ता समस्याले हामी जस्ता पसल व्यवसायीलाई घाटा भएको छ। यी समस्यालाई समाधान गर्न वडा कार्यालय सक्रिय हुनुपर्छ। जसले गर्दा आन्तरिक र बाह्य पर्यटक भित्रिनुको साथै नेपालको आर्थिक स्तर पनि बढ्ने छ।

‘अव्यवस्थित सवारी पार्किङले जाम बढ्यो’
अनिता श्रेष्ठ (स्थानीय, महाबौद्ध )

यो वडाको पार्किङको समस्या छ। पार्किङको सुविधा नहुँदा सबै सडकमा सवारी साधन भरिभराउ हुन्छन्। जसले गर्दा पैदल यात्रुलाई सास्ती परेको छ। ढलको पनि समस्या छ। सधंै वीर अस्पतालअगाडि ढल फुट्ने गर्छ। वर्षायाममा झनै ढलले गर्दा पूरै बस्ती डुबान हुने सम्भावना छ। त्यहाँ फोहोरमैला जथाभावी फालिएको देखिन्छ। त्यसले गर्दा अस्पतालका बिरामी र सर्वसाधारणलाई दुर्गन्धको हैरानी खेप्नुपर्छ। बिजुली, इन्टरनेटका तार पनि अव्यवस्थित छन्। केही दिनअगाडि मात्रै यही ठाउँमा घरको आगलागी भयो। अझै धेरै दुर्घटना निम्त्याउने सम्भावना छ। शनिबार बढी फुटपाथ राखिने भएकाले यहाँ समस्या हुन्छ। बाटो नै बन्द हुने अवस्था आउँछ। खानेपानीको पनि धेरै समस्या छ। जारको पानी र ट्यांकरको पानी प्रयोग गर्नुपरेको छ। यस्ता थुप्रै समस्या छन्। यसलाई वडा कार्यालयले समाधान गर्नु जरुरी छ।

‘मेरो कार्यकालभित्रमा सबै समस्या हल गर्छु’
चिनियामान बर्जाचार्य (वडा अध्यक्ष)

यहाँ पर्याप्त मात्रामा सरकारी जग्गा नहुँदा सवारी पार्किङको लागि ठूलै समस्या परेको छ। हाम्रोमा सार्वजनिक जग्गाको पनि समस्या छ। यो ठाउँ भनेको व्यापार÷व्यवसाय गर्ने थलो हो। हामीले अव्यवस्थित रूपले हुने पार्किङ नियन्त्रणका लागि भोलन्टियर पनि खटाएका छौँ। दरबार हाइस्कुल र वीर अस्पताल बन्दै गरेकाले त्यहाँको समान बसपार्कमा राखिएको छ। त्यहाँ खाली भएपछि  सवारी पार्किङ त्यहाँ गर्न लगाइने छ। त्यसपछि समस्या हट्ने छ। फुटपाथका पसल पनि थुपै्र छन्। यसले पनि समस्या नित्याएको छ। यसलाई हटाउन प्रक्रिया थालिसकेका छौँ। फोहोरमैला व्यवस्थापनमा पनि समस्या छ। हामीले जति चेतना दिए पनि घरधनीले अटेर गरी जथाभावी फोहोर फाल्ने गरेका छन्। महाबौद्ध वरिपरि सिसिटिभी क्यामेरा जडान गर्ने योजनामा छौँ। त्यसपछि फोहोरमैला व्यवस्थापन हुनेछ। तार पनि लथालिंग छ। कुन कम्पनीले हालेको भनी त्यसको पहिचान गर्न नसक्दा समस्या परेको छ। यसलाई व्यवस्थित गर्नको लागि स्वयम् सेवाप्रदायकले पनि पहल गर्नुपर्छ। हाम्रो वडाभित्र प्रायः सबै ठाउँमा पिच भइसकेको छ। त्यसैले सडकको समस्या छैन। म जनप्रतिनिधि भइसकेपछि अन्नपूर्ण स्कुल, कमलाछी, असन, भोटाहिटी लगायत ठाउँमा ढल व्यवस्थापनदेखि सबै पिचको काम सकाएका छौँ। बाँकी रहेको कमलाछीमार्गको करिब पाँच सय किलोमिटरको ब्लग र पिच गर्नको लागि टेन्डर भइसकेको छ। डेढ हप्तामा त्यहाँको काम सकिन्छ। आर्थिक वर्षमा डेढ करोड रूपैयाँ बजेट विनियोजन भएको छ। अन्य कार्यालय खर्चको लागि थप बजेट पनि महानगरपालिकाले दिएको छ। यो ठाउँको गणेश स्थान मन्दिर लगायत आर्थिक वर्षमा निर्माण थालिने छ।  मेरो कार्यकाल भित्रमा सडक, बत्ती, ढल र फोहोर व्यवस्थापन गरी यो वडाको सबै समस्या निर्मुल पार्नेछु। प्रस्तुति : श्याम राई

प्रकाशित: ४ चैत्र २०७५ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App