१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दाउफिन्सको प्रतिद्वन्द्वी शेर्पा

टुबोर्ग माइभ्याली गोल्डकपको आइतबार झापा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (सेतो) र हिमालयन शेर्पा क्लबका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर : भीम/नागरिक

इलाम -  हिमालयन शेर्पा क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनलमा पाहुना टोली दाउफिन्स क्लबसँगको भेट पक्का गरेको छ। आइतबारको अन्तिम सेमिफाइनलमा झापाको मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–० गोलअन्तरले पाखा लगाउँदै शेर्पा फाइनल उक्लिएको हो।

शेर्पाका लागि पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गरे। शेर्पाका निरोज बस्नेतले मैदानको मध्यभागबाट गरेको शक्तिशाली प्रहार रक्षा गर्ने क्रममा काँकरभिट्टाका बलरक्षक दिनेश थापामगरले पन्च गरे। त्यसपछि पाएको कर्नर किकको अवसरलाई शेर्पाले सदुपयोग ग-यो। शेर्पाका विसन गुरुङले प्रहार गरेको कर्नर किकलाई त्रिदेवले हेडमार्फत विपक्षी टोलीको गोलपोस्टमा जाली चुमाए।

पहिलो हाफमा १ गोलले अघि रहेको शेर्पाले दोस्रो हाफमा पुनः अर्काे गोल थप्यो। शेर्पाका रवि थापाले डी बक्सबाहिरबाट गरेको कडा प्रहार काँकरभिट्टाकै खेलाडीको खुट्टामा छोएर आत्मघाती गोलमा परिणत भयो। दोस्रो हाफको निर्धारित समयपछिको इन्जुरी समयमा शेर्पाले तेस्रो गोल थप्दै विजय निश्चित ग¥यो। शेर्पाका विदेशी खेलाडी पेट्रिकले दिएको पासलाई सदुपयोग गर्दै विसन गुरुङले काँकरभिट्टाविरुद्ध गोल गरे। आइतबारको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पा क्लबका बलरक्षक किशोर गिरी घोषित भए।

‘टोलीको तालमेल नै नमिलेका कारण पराजित भइयो। गोल गर्ने अवसर त चुकेकै थिए, डिफेन्स लाइन कमजोर भएकाले विपक्षीलाई सुन्दर अवसर बन्यो।’

टोलीले अपेक्षा गरेभन्दा निकै कमजोर प्रदर्शन गरेको काँकरभिट्टाले विपक्षीविरुद्ध गोल गर्ने धेरै अवसर गुमायो। डिफेन्डिङ लाइनको कमजोर प्रदर्शनका कारण आफूहरू विजयी हुन नसकेको काँकरभिट्टाका प्रशिक्षक मीनबहादुर बस्नेतले बताए। ‘टोलीको तालमेल नै नमिलेका कारण पराजित भइयो,’ उनले भने, ‘गोल गर्ने अवसर त चुकेकै थिए, डिफेन्स लाइन कमजोर भएकाले विपक्षीलाई सुन्दर अवसर बन्यो।’ उनले आफूहरूको रणनीति  शेर्पाले अपनाएकाले आफूमाथि विजयी हुन सकेको प्रतिक्रिया दिए।

शेर्पा क्लबका प्रशिक्षक विजेन्द्र पुडासैनीले पनि आफ्नो टोलीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए। ‘आजको खेल त जितियो तर यसअघिजस्तो प्रदर्शन हुन सकेन,’ उनले भने, ‘यो प्रदर्शन आउँदो खेलमा सुधार्नेछौं, सुध्रिएन भने फाइनल हाम्रो पक्षमा नहुने निश्चित नै छ।’ उनले दाउफिन्स निकै बलियो टोली भएकाले पूरा तयारीसाथ रणनीति बनाएर फाइनलमा उत्रिने पनि बताए। फाइनल खेल मंगलबार अपराह्न हुनेछ। विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित: ४ चैत्र २०७५ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App