१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

डढेलोबाट विस्थापित पीडितलाई वन्दोवस्तीका राहत प्रदान गर्दै रावाबेंसी गाउँपालिका प्रमुख विश्वनाथ निरौला। तस्बिर / नागरिक

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवार विस्थापित भएका थिए। विस्थापित उनीहरुलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

डढेलोबाट सर्वस्व गुमाएका अग्नी पीडितलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार ६० केजी चामल, १० लिटर तेल, नुन, दाल, चिउरा, भाँडा, कम्बल, त्रिपाललगायतका बन्दोवस्तीका सामान प्रदान गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए।

गाउँपालिका प्रमुख निरौला नेतृत्वको टोलीले आगोबाट विस्थापित भएका पीडितलाई शनिबार बिहान भग्नावशेष बनको घरमा पुगेर राहत प्रदान गरेको हो। डढेलोले घर जल्दा गोपालको परिवारको ६ जना, युवराजको परिवारको ६ जना, भीमप्रसादको परिवारको ५ जना र अभिकेसरको परिवारको ४ जना विचल्लीमा परेका गाउँपालिका प्रमुख निरौलाले बताए। यस्तै, गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट फैलिएको डढेलोले ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलाको घर नष्ट भएको प्रहरीले जनाएको छ।

डढेलोबाट सर्वस्व गुमाएका अग्नी पीडितको चार परिवारलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार चामल, तेल, नुन, दाललगायतका दैनिक अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।

डढेलोले लाखौंको क्षति
सामुदायिक वनबाट गाउँमा छिरेको डढेलोले रावाबेंसी र ऐंसेलुखर्क गाउँपालिकामा लाखौंको धनमालमा क्षती पुगेको छ। डढेलोले घर, नगद, सुन, चाँदी, अन्नलगायत जल्दा गोपालको परिवारको १५ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ। यस्तै, युवराजको परिवारको १३ लाख, भीमप्रसादको परिवारको ६ लाख र अभिकेसरको परिवारको ६ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। तराई बसाइँ सर्ने तयारीमा रहेका अभिकेसरको घर ताल्चा लागइएको अवस्थामा थियो।
आगलागीमा घरपालुवा पशुपंछीसमेत मारिएका छन्। डढेलोले माक्पा लेवाका तोमबहादुरको करिब २० लाखको क्षती भएको एेंसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। तोमबहादुरका परिवारलाई पनि राहत दिने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। सो क्षेत्रमा लागेको डढेलो अझै पूर्णरुपमा निभिसकेको छैन।

यस्तै, जंगलबाट सुरु भएको डढेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्याकुमार राईको मटान जल्दा २ लाख बराबरको क्षती भएको छ। स्थानीय गैरीखेत सामुदायिक वनबाट सुरु भएको डढेलोले शुक्रबार दिउँसो राईको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। शुक्रबार नै भएको आगलागीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे पाखाबारीका विज्ञान अधिकारीको घर जल्दा ३ लाख बराबरको क्षति भएको छ।

प्रकाशित: ३ चैत्र २०७५ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App