१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लाखौं कुम्ल्याएर कम्पनी सञ्चालक फरार

बाजुरा -समुदायबाट लाखौं रकम संकलन गरेर सञ्चालक फरार भएको रहस्य बाहिरिएको छ। जिल्लामा कृषि तथा वनस्पतिजन्य खेती प्रवद्र्धनका लागि काम गर्ने भनेर सर्वसाधारणबाट संकलन गरेको रकम लिएर कर्णाली एग्रिकल्चर डेभलप्मेन्ट नेपाल प्रालि नामक संस्था फरार भएको हो। 

प्रालिले जिल्लामा भारत र अस्ट्रियन सरकारसँगको सहकार्यमा आधुनिक तरकारी खेती र उन्नत जातका वनस्पती खेती प्रवद्र्धन गर्ने गरी कामसुरु गरेको भनेको थियो। सञ्चालनको वर्ष दिन नबित्दै व्यक्तिबाट रकम संकलन गरेर सञ्चालक तथा कर्मचारीहरु टाप कसेका छन्।

उक्त संस्थाको प्रधान कार्यालय सुर्खेतमा रहेको बुझिएको छ। आकर्षक तलब सुविधा दिने भन्दै जिल्लाकै १३ जना युवालाई संस्थाले प्रयोग गरेको थियो।  उनीहरुबा संस्थाले रकम संकलन गरेको थियो। १७ सय १० वटा कृषक समूहबाट ५ सयका दरले ८ लाख ५५ हजार उठाएर सञ्चालकहरु भागेका स्वयं सामाजिक परिचालकहरुले नै रहस्य खोलेका हुन्। 

‘राम्रो काम गर्छौं, विदेशबाट उन्नत जातको बीउ र बोटबिरुवा दिन्छौं भनेर रकम उठाउन लगाए। तर, तलब सुविधा त के उठाएको पैसासमेत खाएर संस्था नै भाग्यो’, सामाजिक परिचालक पूजा खातीले बताइन्। 

१३ जना सामाजिक परिचालकलाई मासिक १७ हजार ५ सयको दिने गरी उक्त संस्थाले नियुक्ति दिएको समेत खुलेको छ। उनीहरुले ५ महिनासम्म काम गरेका थिए। सामाजिक परिचालकले संकलन गरेको रकम केन्द्रीय कार्यालय सुर्खेतमा पठाउने गरेको पूजाले बताइन्। 

बोट बिरुवा र उन्नत जातका बीउ दिने आश्वासनमा पैसा उठाएको र तोकिएको मितिमा बोट बिरुवा नदिएको भन्दै ठगिएका कृषक समूहले प्रहरीमा उजुरी दिएका छन्। 

बडिमालिका नगरपालिका ३ का कृषक समूहले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। 

सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। कमला कार्कीले बताएकी छन्। कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल प्रालिमा संस्थाका अध्यक्ष दैलेख घर भएका लालमणि देवकोटा, सुर्खेतका सन्दीप श्रेष्ठ, रणवीर विक, राजेन्द्र मल्ल, राजकुमार बास्तोला, हेमबहादुर चन्द र कालिकोटका मणिचन्द्र पाण्डेविरुद्ध ठगी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मुद्दा परेकालाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेख, सुर्खेत र कालिकोटमा पत्रचार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। प्रालि कर्मचारी छनोटकै बेला पनि विवादमा आएको थियो। छनोट कार्य निष्पक्ष नभएको भन्दै धेरै आवेदकको रकमसमेत फिर्ता गराउन प्रशासनले पत्राचार गरेको थियो। 

रकम उठाएर केन्द्रीय कार्यालय सुर्खेत पठाउने गरेको जिल्ला सम्पर्क प्रमुख व्यक्ति सीता मगरले स्वीकार गरेकी छन्। आकर्षक तलब सुविधा दिने भनिए पनि आफूलाई समेत चित्तबुझ्दो सुविधा नदिने गरेको सीताको गुनासो छ।

त्यस संस्थाका अध्यक्ष देवकोटा सुर्खेत प्रहरी कार्यालयमा रहेको श्रोतले बताएको छ। उनलाई बाजुरासहित अन्य जिल्लामा प्रालिका तर्फबाट गरिएको बेइमानीको सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हुनसक्ने बताइएको छ। तर यसबारे जानकारी लिन खोज्दा अध्यक्ष जोशीसँग फोन सम्पर्क हुन सकेन।

 

प्रकाशित: २ चैत्र २०७५ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App