१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बंगलादेशविरुद्ध गोल गरेपछि नेपालकी मन्जलीकुमारी योञ्जनसाथ सावित्रा।    तस्बिरः चुमन/नागरिक

विराटनगर – आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। 

विराटनगरस्थित सहिद रंगशालमा समूह ‘ए’ अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले सुरुआतबाट नै पाहुना टोली बंगलादेशलाई दबाबमा राखेको थियो। समूह ‘ए’ बाट अन्तिम चारमा प्रवेश गरेको नेपालले फाइनल प्रवेशका समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ। आइतबार हुने खेलमा भारत वा श्रीलंकाबीचको खेलले समूहविजेता र उपविजेताको टुंगो लाग्नेछ। 

सुरुआतबाट नै दबाबमा राखेको नेपालले छैटौं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो। कप्तान निरु थापाको पासमा सावित्रा भण्डारी चुक्दा नेपालले सो अवसर गुमाएको हो। निरुले उपलब्ध गराएको वान भर्सेस वानको मौकामा सावित्रा चुकेकी थिइन्। लगत्तै उपहार गोलमार्फत नेपाली टोली अग्रता लिन सफल भयो। मनमाया लिम्बुले दिएको लामो पासलाई बंगलादेशकी रक्षक मसुरा प्रभिनले हेड गर्दै क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुँदा नेपालले अग्रता लिएको थियो।घरेलु दर्शकको साथ पाएको नेपालले आक्रामक खेल्दै सुरुआत गरे पनि आत्मघाती गोलबाट गोलको खाता खुल्यो। 

‘नेपालकी सावित्रा भण्डारी दक्षिण एसियाकी उत्कृष्ट खेलाडी हुन्। सँगै नेपाली टोली अहिले सन्तुलित र उपाधिको हकदार छ।’

१०औं मिनेटमा हीराकुमारी भुजेलले कप्तान निरु थापालाई दिएको लामो पासलाई उनले बंगलादेशका किपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै गोल गर्ने प्रयास गरे पनि बल बारनजिकैबाट बाहिरियो। सुरुआतबाट नै दबाब दिँदै खेलेको आयोजक नेपालविरुद्ध १२औं मिनेटमा मोनिका चक्माले दिएको क्रस बल गीता रानामगरले क्लियर गर्दै बंगालदेशको मुभलाई विफल पारेकी थिइन्।

१५औं मिनेटमा हीराको क्रसमा सावित्राले पेनाल्टी बक्सभित्रबाट सशक्त प्रहार गर्दै गोलको दिशा दिए पनि बंगलादेशकी गोलकिपर रुप्ना चक्माले उत्कृष्ट बचाउ गर्दै नेपालले अग्रता दोब्बर बनाउने अवसर विफल पारिन्। १७औं मिनेटमा कप्तान निरु थापाले बंगलादेशकी गोलकिपर रुपना चक्मा अगाडि बढेको मौकाको फाइदा उठाउँदै गोलको दिशा दिन खोजे पनि उक्त बल पोस्टनजिकैबाट बाहिरिएको थियो। 

उखर्माउलो गर्मीका बावजुद नेपाली टोलीको समर्थनका लागि मैदान आएका दर्शकको साथ पाएको नेपालले उत्कृष्ट खेललाई कुलिङ ब्रेकपछि पनि निरन्तरता दियो। बलियो रक्षापंक्तिका अगाडि पहिलो हाफमा भुटानमाथि सहज स्कोर निकालेको बंगलादेशले केही राम्रा प्रयास गरे पनि असफल भएको थियो। 

२३औं मिनेटमा मैदानको बायाँ भागबाट पाएको पासलाई सावित्राले बंगलादेशका किपर र रक्षकलाई बिट गर्दै नेपालको अग्रता २–० मा पु¥याइन्। यससँगै सावित्रा भण्डारीको अन्तर्राष्ट्रिय खेलमा २४औं गोल पूरा भएको छ। अनु लामाको ३५ गोल छ भने जमुना गुरुङको २५ गोल छ। २६औं मिनेटमा सवित्राले गोलका लागि अर्को अवसर सिर्जना गरे पनि उनले प्रहार गरेको एयर बल पोस्टभन्दा केही माथिबाट बाहिरिएको थियो। २८औं मिनेटमा पेनाल्टी बक्सभित्र सावित्रा भण्डारीले प्रहार गरेपछि डिफ्लेक्ट बललाई मन्जलीकुमारी योन्जनले नियन्त्रणमा लिँदै गोलमा परिणत गर्दा नेपालले पहिलो हाफमा ३–० को अग्रता पायो। 

पहिलो हाफको अग्रतापछि उच्च मनोबलका साथ मैदान उत्रिएको नेपालले दोस्रो हाफमा पहिलो हाफको खेललाई निरन्तरता दिए पनि गोल भने थप्न सकेन। ५८औं मिनेटमा सावित्राले पेनाल्टी बक्सभित्र पाएको बललाई गोलकिपर र रक्षकलाई बिट गराउँदै गोलका लागि प्रयास गरे पनि बंगलादेशकी मसुरा प्रविनले गोललाइनबाट उत्कृष्ट क्लियर गरिन्। ६३औं मिनेटमा कप्तान निरु थापाले पेनाल्टी बक्सबाहिरबाट स्ट्राइकर सावित्रा  भण्डारीलाई दिएको पासमा उनी पुनः असफल भइन्। उनले प्रहार गरेको बल पुनः मसुराले उत्कृष्ट बचाउ गर्दै सावित्राको उत्कृष्ट मौकालाई विफल पारिन्।

त्यसअघि बंगालदेशकी कप्तान सबिना खातुनले ५८औं मिनेटमा सुनौलो अवसर खेर फालिन्। दोस्रो हाफमा पनि नेपालले बंगलादेशमाथि दबाब सिर्जना गरे पनि थप गोल भने गर्न सकेन। खेलमा प्रशिक्षक हरि खड्काले महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी, कप्तान निरु थापा र रक्षक मनमाया गुरुङलाई परिवर्तन गरेका थिए। उनीहरूको स्थानमा रेखा पौडेल, अनिता बस्नेत र पूजा रानामगरलाई मैदान प्रवेश गराए। पूजाले अन्तर्राष्ट्रिय खेलमा डेब्युसमेत गरेकी छिन्। यसअघि रेखा पौडेलले भुटानविरुद्धको खेलमा डेब्यु गरेकी थिइन्। सुरुआती १५ मिनेटभित्र स्कोर गर्दै पाहुना टोलीविरुद्ध जित निकाल्ने रणनीति सफल भएको नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए। 

‘पहिलो १५ मिनेटमा स्कोर गर्ने  रणनीतिमा हामी सफल भयौं। रणनीतिअनुसार सबै खेलाडीले आफ्नो स्थानबाट उत्कृष्ट फुटबल खेले,’ प्रशिक्षक खड्काले भने, ‘सबै खेलाडीको मिहिनेतबाट नतिजा हात पार्न सफल भयौं। फुटबलमा नतिजा आवश्यक हुन्छ। पहिलो हाफको स्कोरपछि  दोस्रो हाफमा केही पेस घटाएर खेलेका हौं।’

उता उपविजेता बनेको टोलीका प्रशिक्षक गोलम रोब्बानी छोतनले अनुभवी र परिपक्व टोली भएकाले नेपालले राम्रो नतिजा हात पार्न सफल भएको हो। 

‘नेपाली टोलीका सबै पक्षमा राम्रा छन्। जित र हारभन्दा पनि प्रतिस्पर्धात्मक खेल खेल्नु थियो। हामी हामै्र गल्तीका कारण पराजित भएका हौं। रक्षापंक्तिले निर्देशनअनुसार खेल्न सकेनन्,’ प्रशिक्षक छोतनले भने, ‘नेपालकी सावित्रा भण्डारी दक्षिण एसियाकी उत्कृष्ट खेलाडी हुन्। सँगै नेपाली टोली अहिले सन्तुलित र उपाधिको हकदार छ।’प्रतियोगिताका अन्य खेलमा भन्दा नेपाल र बंगलादेशबीच भएको खेलमा दर्शकको बाक्लो उपस्थिति थियो।

आइतबार समूह ‘बी’अन्तर्गत अन्तिम लिग खेलमा साबिक विजेता भारत र श्रीलंकाबीच समूहविजेताको छिनोफानोका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २ चैत्र २०७५ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App