१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘प्लिज ! गुरु रुखो व्यवहार नगर्नुस्’

दमन राई - ‘गुरु (चालक) ले युवती देख्दा आँखा झिम्क्याउने र आफ्नो सिट नजिकै राखेर सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्छ। धेरै यात्रुको ज्यान जोखिममा पर्न सक्छ। त्यसैले युवती देख्नेबित्तिकै गाडी तीव्र गतिमा हाँक्ने, हर्न बजाउने काम छोड्दिनुस् प्लिज !’ यो भनाइ सामुदायिक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खड्काको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत खोटाङमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिने अभियानको शुक्रबार उद्घाटन क्रममा खड्काले चालक र सहचालकलाई यस्तो आग्रह गरेका हुन्।

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी १ नम्बर प्रदेशभरिका जिल्लामा एकैसाथ सुरु गरिएको अभियानअन्तर्गत दिक्तेलको संगमपार्कस्थित विजय होटलमा आयोजित कार्यक्रमका वक्ताले चालक र सहचालकको स्वभाव र प्रवृत्तिमा सुधार आउनुपर्ने बताए। वक्ताहरूले अधिकजसो चालक र सहचालकहरूले नराम्रा शब्द बोल्ने, यात्रुसँग रुखो व्यवहार गर्ने, महिलालाई जिस्क्याउने, आफ्नै सिट नजिक राख्न खोज्ने जस्ता गुनासो यात्रुाबाट आएकाले सच्चिन आग्रह गरे।

सहायक प्रमुख जिल्ला अधिकारी विवेक बिडारीले चालकमा हुने ‘अहं’ ले सडक दुर्घटना निम्तिने गरेको बताए। ‘म यो बाटो जान्छु, मबाहेक अरुले जान्दैन भनेर गुरुले गाडी चलाउनु हुन्छ। अहं पनि सडक दुर्घटनाको प्रमुख कारण हो। व्यक्तिगत स्वभावले पनि दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘म अनुशासित भएर गाडी चलाउँछु, म दुर्घटना निम्त्याउँदिन। मेरो कारणले म पनि दुर्घटनामा पर्दिन र यात्रुलाई पनि दुर्घटनामा पार्दिन भन्ने हो भने सायदै दुर्घटना हुन्छ।’ बिडारीले कानुन कार्यान्वयन गराउने पक्ष लौरौ लिएर बस्नुपर्ने र कानुन पालना गर्नुपर्ने पक्ष छल्दै हिँड्ने प्रचलनको अन्त्य हुनुपर्ने बताए।

खोटाङ यातायात प्रालिका अध्यक्ष गणेशविक्रम शाहीले मानवीय, यान्त्रिक र भौतिक पूर्वाधारको कमजोरीका कारण सडक दुर्घटना निम्तिने गरेको उल्लेख गरे। ‘चालकले नसालु पदार्थ सेवन गर्नु भएन। आफ्नो गाडी ठिक छ कि छैन, ब्रेक लाग्छ–लाग्दैन, टायर ठिक छ कि छैन, सबै जाँच गरेर मात्र गाडी चलाउनुपर्ने हुन्छ। ससाना तार छिनेका कारणले पनि ठूलो दुर्घटना हुनसक्छ,’ शाहीले भने, ‘सिट क्षमताभन्दा बढी यात्रु राख्ने र तनावमा गाडी चलाउनाले पनि सडक दुर्घटना हुनसक्छ। यसमा सचेत हुनुपर्छ।’

पूर्व हलेसी यातायात प्रालिका अध्यक्ष राजकुमार राईले अस्वस्थ प्रतिस्पर्धा र चालक, सहचालकलाई प्रशिक्षित नगर्दा पनि दुर्घटना निम्तिने गरेको बताए। खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीन राईले चालक, सहचालक र कर्मचारीलाई व्यवस्थित तरिकाले नियुक्ति र र काममा लगाउन यातायात व्यवसायीको ध्यानाकर्षण गराएका छन्। खोटाङमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिनसम्म सञ्चालन हुने अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले उद्घाटन गरेका हुन्। मेयर रिजालले चालक संवेदनशील भए सवारी दुर्घटनाबाट बच्न सकिने उल्लेख गरे। सार्वजनिक सवारीसाधनका चालक र सहचालकलाई मर्यादित तथा पेसाप्रति उत्तरदायी र जवाफदेही बनाउन १५ दिने अभियान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

अभियान ट्राफिकसम्बन्धी जनचेतनामूलक प्रशिक्षण तथा पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ व्यवस्थित गर्ने, चालकको स्वास्थ्य जाँच, क्षमताभन्दा बढी यात्रु बोके÷नबोकेको विषयमा जाँच, राति वा कुहिरो लागेको समयमा फ्लोरोसेन्ट ज्याकेट लगाउने विषयमा प्रशिक्षण दिने, आरक्षण सिट, भाडा दर, लामो दूरीमा दुई चालकको व्यवस्था गरे÷नगरेको जस्ता विषयमा अनुगमन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान उद्घाटन क्रममा चालक र सहचालकलाई फ्लोरोसेन्ट ज्याकेट वितरण गरिएको छ।

प्रकाशित: २ चैत्र २०७५ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App