१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सहरवासीले रुचाएका पार्क

चिटिक्क परेको बेन्चमा प्रेम जज्ञोडी बसिरहेका छन्। रातो, सेतो रंगका फूल फुलेर ढकमक्क छन्। रुखको हरियो पालुवा पलाएका छन्। सेतो शंख छ, च्याट्ट परेका पोखरी छन्। पार्क पुस्तकालयमा कोही किताब हेर्दे छन्। म्युजिक भिडियोको लागि सुटिङ हुँदै छ। वृद्धवृद्धा गफिँदै छन्। कोही फोटो खिँच्नमा व्यस्त छन् त कोही फेसबुक चलाउनमा व्यस्त। बुधबार  ललितपुरको शंखमुल घाटस्थित शंख पार्कमा देखिएको दृश्य हो यो।

बाग्मती किनार खोलामा परिणत भएको पछिल्लो समयमा उक्त किनारमा पार्क बनाएपछि हरियाली बनेको छ। उक्त पार्कमा आन्तरिक तथा बाह्य पर्यटक घुम्नेको भीडभाड बढ्दो छ। पार्कमा घुम्न आउनेहरू खुसी देखिन्छन्। पार्कमा भेटिएका इमाडोलका टेकबहादुर आलेमगर यहाँको सौन्दर्यले मग्नमुग्ध भएको बताउँछन्। ‘हरियाली, शान्त पार्क छ,’ उनले भने, ‘पार्कको डिजाइनले मन आकर्षित गराएको छ। पहिलो पटक देखेको पार्कको यो दृश्यले मन फुरुंग बनाएको छ।’ काठमाडौंभित्र रहेको शंखपार्क, रत्नपार्क, युएनपार्क र नक्साल पार्कमा घुम्न मन पराएको उनले बताए। उनका अनुसार पार्क डिजाइनले गर्दा शंखपार्क नै पहिलो उनको रोजाइमा परेको छ। सरकारले पनि अरु खाली जग्गामा हरियाली पार्क निर्माण गरे धेरै विदेशी पर्यटक भित्रिनुको साथै वातावरण स्वच्छ हुने उनको अनुमान छ। उक्त पार्क गैरआवासीय नेपाली संघले साढे तीन करोड रूपैयाँको लागतमा बनाएको थियो। पार्क ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ। उक्त पार्क गत असोजबाट सञ्चालनमा आएको थियो।

नक्सालमा रहेको नन्दीकेशर बगैचा (नक्साल पार्क र नारायणचौर) नामले चिनिने ठाउँमा भेटिएका वनस्थलीका विपना श्रेष्ठले शान्त र हरियाली रहेकाले उक्त पार्कमा घुम्न मन पराएको बताइन। ‘यो पार्कमा होहल्ला छैन। हरियाली छ,’ उनले भनिन्, ‘पहिलो चोटी पार्कमा घुम्न आएको थिए। रमणीय ठाउँ रहेकेले रमाइलो लाग्यो।’ उपत्यकामा रहेको नक्साल पार्क, रत्नपार्क, फनपार्क र शंखमुल पार्क रुचाएको उनले बताइन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा नारायण चौर नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठका अनुसार उक्त पार्क पहिले फोहोर फाल्ने थलोकोे रूपमा प्रयोग गरिएको थियो। २०५८ सालमा पार्क बनाउने योजना ल्याई २०६९ सालको आसपासमा उक्त पार्क निर्माण गरिएको थियो। लुम्बिनी बैंक लगायतको सहयोगमा करिब चार लाख ६० हजार लागतमा डिजाइन गरी पार्क निर्माण गरिएको थियो। पार्क निर्माणमा फोहोर थुपार्ने ठाउँमा हरियाली पार्क बनेपछि सहरवासीले समेत रुचाएका छन्। पार्कमा घुम्न आउने पर्यटकलाई शान्ति तथा सुरक्षा दिनको लागि प्रहरी समेत पार्कमा खटाइएको उनले बताए।

शंखधर उद्मान (रत्नपार्क) नामले चिनिने अर्को पार्क पनि उपत्यकाको चर्चित पार्कबाट चिनिन्छ। अहिले पार्क हरियाली बनेपछि त्यहाँ घुम्न धेरै रुचाएका सहरवासी बताउँछन्। सोही पार्कमा भेटिएको ललितपुरका धिरेन शाहीले उक्त पार्कमा आएपछि आनन्द प्राप्त गर्न सकिने भएको घुम्न आउने गरेको बताए। ‘यो पार्कमा आएपछि साथीसँग सुख–दुःखको कुरा गर्दा आनन्द लाग्ने भएकाले साथीलाई लिएर आएको छु,’ उनले भने, ‘मलाई रत्नपार्क, शंखपार्क, मनोरञ्जनको लागि फनपार्कमा घुम्न मन पर्छ।’ उपत्यकामा बनेको पार्कलाई अझ व्यवस्थित गरी सेवा सुविधा दिनु पर्ने उनले सुझाए।

शंखधर उद्मान तथा रानीपोखरी एकाईका प्रमुख हरिशरण केसीका अनुसार यो पार्क रत्नराज्य लक्ष्मी देवी शाहको अवधारणामा पार्क बनाइएको हो। ४२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क सरकारको आर्थिक सहयोगमा बनेको हो। उक्त पार्क २०१८ सालमा निर्माण सुरु गरी २०२१ सालमा सकिएलगत्तै यो पार्क सञ्चालनमा आएको हो। पार्कको चारैतिर हरियाली र बालबालिकाले समेत खेल्न पाउने भएकाले पार्कप्रति आकर्षित हुने गरेकोे उनले बताए। ‘शंखधर उद्मान शान्त र हरियाली भएकाले घुम्न आउने गर्छन्,’ उनले भने, ‘बालबालिकालाई खेल्ने वातावरण, फ्रि वाइफाई लगायत सेवा सुविधा दिएका छौँ। पार्कलाई अझै मर्मत सम्भार गरी पर्यटकलाई आकर्षित बनाउने योजनामा छौँ।’ उनका अनुसार समय अनुसार दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गर्छन्। उक्त पार्कमा प्रवेश गर्न नेपालीलाई साधारण २५ रूपैयाँ र विद्मार्थी कार्ड भएकालाई १५ रूपैयाँ शुल्क लाग्छ। विदेशी पर्यटकलाई ५० देखि ७५ रूपैयाँसम्म लाग्छ। अघिल्लो वर्ष एक करोड पार्कबाट शुल्क उठेको उनले बताए। रत्नपार्क मात्रै नभई अव्यवस्थित पार्कलाई व्यवस्थित गरी र खाली जग्गामा पार्क बनाई त्यसबाट गतिलो आर्थिक लाभ लिन सकिने रत्नपार्कको यो उदाहरण हो।

प्रकाशित: १ चैत्र २०७५ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App