१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘सातामा एक पटक बजार अनुगमन गरिरहेका छौं’

राजकृष्ण गोरा, वडा अध्यक्ष, भक्तपुर नगरपालिका वडा नं ३, भक्तपुर

जनप्रतिनिधि भएपछि मुख्य के–के काम गर्नुभयो ?
गत आर्थिक वर्षमा १६ वटा वडास्तरीय योजना सम्पन्न गर्यौं। चालू आर्थिक वर्षमा पनि त्यही संख्यामा वडास्तरीय योजना बनाएका छौं। चालू आर्थिक वर्षका धेरै योजना सुरु भइसकेका छन्। केही सम्पन्न पनि भइसकेका छन्। वडाका धेरै पाटीपौवाको जीर्णाेद्धार मर्मतसुधार गर्यौं। समय–समयमा स्वास्थ्य शिविर नियमित रूपमा गरिरहेका छौं। विभिन्न रोगलाई लक्षित गरी शिविर सञ्चालन गरिरहेका छौं। वडा कार्यालय भवन केही दिनभित्रै शिलान्यास गर्ने योजनामा छौं। अहिले भएकै वंशगोपालमा नयाँ वडा कार्यालय भवन शिलान्यास गर्ने क्रममा छ। यसको लागि नगरपालिकाले जग्गा किनिदिएको छ।  

वडाका समस्या के–के देख्नुहुन्छ ?
अन्य वडामा जस्तै खानेपानीको समस्या छ यो वडामा पनि। साथै भूकम्पपीडितहरूको पनि उत्तिकै समस्या छ। किनकि यो मेरो वडा घना बस्तीमा छ। 

खानेपानीको समस्या समाधानका लागि कसरी अगाडि बढिरहनुभएको छ ? 
खानेपानीका लागि भक्तपुर नगपालिकाले चार– पाँच ठाउँमा डिप बोरिङ गरिरहेको छ। साथसाथै ट्यांकी निर्माण पनि भइरहेका छन्। भक्तपुर नगरको ठाउँठाउँबाट पानी निकाली नगरपालिकाको लाइनमा जोडी समाधान गर्ने योजनामा छौं। यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग पनि छलफल र समन्वय गरिरहेका छौं। 

भूकम्पपीडित वडावासीहरूको समस्या समाधानका लागि कसरी पहल गरिरहनुभएको छ ? 
घनाबस्तीको मेरो वडामा २५ प्रतिशत वडाबासी मात्रै साविकमै छन्। बाँकी ७५ प्रतिशत विस्थापित भएका छन् घर भत्केर। लगभग ६ सय घरपरिवार पीडित भएका थिए। घनाबस्तीका हिसावले साँझ सिमाना नमिलेकाले समस्या भएको छ घर बनाउन। त्यसकारण इच्छुक भइकन पनि घर पुनःनिर्माण गर्न पाइरहेका छैनन्। सरकारबाट प्राप्त हुनुपर्ने रकम कतिपयले पहिलो किस्ता पनि नपाएको अवस्था छ। कतिपयको नाम छुटेको अवस्था छ। एकमुष्ट दिएको भए राहत हुने थियो भूकम्पीडितलाई सबै रकम। त्यसकारण हामीले तीन नै किस्ताको रकम एकमुष्ट दिन माग राखिराखेका छौं।  

भक्तपुरकै मुख्य दरवार स्क्वायर क्षेत्र पनि यहाँंकै वडामा पर्छ, भूकम्पपछि दरवार क्षेत्रको पुनःनिर्माणको प्रगति के छ ? 
दरवार स्क्वायर क्षेत्र यो वडामा पर्छ। यस्तै, विभिन्न मठमन्दिर, ५५ झ्याले दरवार, भक्तपुरकै जेठो स्कुल पदम मावि, जिल्ला प्रशाशन, जिल्ला समन्वय समिति, महानगरीय प्रहरी परिसर, जिल्ला अदालतलगायत मुख्य कार्यालय पनि यहाँ छन्। त्यस अर्थमा गर्व लाग्छ। भक्तपुर प्रवेश गर्ने मुख्य प्रवेशद्धार पनि यहाँ छ। भक्तपुर नगरको मुख्य आयस्रोत उठने मुख्य ठाउँ पनि यही पर्छ। त्यसकारण जनताको चाहना अनुसार काम भइरहेको छ। दरवार क्षेत्र पुनःनिर्माणको काम पनि निरन्तर चलिरहेको छ। यस क्रममा नगरपालिकाको बजेटबाट नगर प्रवेश गर्ने खौमा गेट, दरवार स्क्वायरको केदारनाथ मन्दिर, बत्सला मन्दिर, तलेजु, कृष्ण मन्दिर पुनःनिर्माण भएका छन्।  

पर्यटकीय क्षेत्रको विकासका लागि केही गरिरहनुभएको छ ? 
यहाँका धेरै किसानका खेत सहरीकरणसँगै समाप्त भइरहेका छन्। यसकारण हामीले वैकल्पिक स्रोतको रूपमा पर्यटनलाई अगाडि बढाइरहेका छौं। यसकारण पर्यटन लक्षित विभिन्न कार्यक्रम पनि चलाइराखेका छौं। विभिन्न तालिम पनि दिइरहेका छौं, जस्तो : चाइनिज भाषा प्रशिक्षण आदि। 

तपाईं भक्तपुर नगरपालिका कृषि समितिको संयोजक हुनुहुन्छ, किसानको जीवनस्तर उकास्नका लागि केही गर्ने योजना बनाउनुभएको छ ?
किसानको पक्षमा काम गर्ने योजना हाम्रो हो। कृषि उत्पादन बढाउने योजना छ किनकि जग्गा कम भइरहेको छ। किसानलाई विषादी प्रयोग नगर्न उत्साहित एवम् सचेत बनाएका छौं। किसानलाई राखेर बीउबिजन धान, गहुँ, आलुका बीउ वितरण निःशुल्क वितरण गरिरहेका छौं। साथै कौसीखेती, गड्यौला, नर्सरी तालिम दिइरहेका छौं।
कृषि भूमिलाई जोगाउने योजना गरिरहेका छौं। तथापि खेतखेतमा घर बन्ने क्रम बढ्ने नै भयो। त्यसकारण खेतलाई कसरी जोगाउने भन्दा पनि नचाहेर पनि बस्ती विकास स्वतः हुने भयो नै भएकाले अव्यवस्थितभन्दा व्यवस्थित बसोबास होस् भन्ने चाहना हो। त्यसका लागि काम गरिरहेका छौं।  

तपाईं भक्तपुर नगरपालिका बजार अनुगमन समितिको पनि संयोजक हुनुहुन्छ, उपभोक्ता अधिकार संरक्षणका लागि के–कस्ता प्रयास गरिरहनुभएको छ ?
उपभोक्ताको हकहितलाई ख्याल गरेर बजार अनुगमन समिति गठन गरेको छ भक्तपुर नगरपालिकाले। राज्य पुनर्संरचना अनुसार २५ वटा थप जिम्मेवारी नगरपालिकालाई दिएको छ सरकारले। त्यही अनुसार बजार अनुगमन पनि हाम्रो काँधमा आएको हो। यसको लागि समिति गठन भएको हो। समितिले नियमित बजार अनुगमन गरिरहेको छ। कम्तीमा हप्तामा एक पटक अनिवार्य रूपमा बजार अनुगमन गर्न हिँड्छौं। त्यसबाहेक आवश्यकता अनुसार उजुरीका आधारमा पनि हिँड्छौं। यसहिसावले यसअघि खाद्यान्न बेच्ने गरेकोमा अहिले त्यो नियन्त्रणमा छ। जनताको गुनासोलाई सम्बोधन गरी बजार अनुगमन भइराखेको भएर उपभोक्ताले स्वस्थकर खान पाइरहेका छन्। म्याद नाघेका खान परिरहेको छैन। अखाद्य रंग, मूल्य सूची नराख्ने, मूल्यमा एकरूपता नहुने समस्या केही हदसम्म नियन्त्रण भएको छ। 
                                                                                                                             प्रस्तुति : रेणु त्वानाबासु  

 

प्रकाशित: १ चैत्र २०७५ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App