१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशी लगानी खुला गर्ने क्षेत्रमा महासंघको सुझाव

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ । 

महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवासम्बन्धी शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरू, ई–कमर्स, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नुपर्ने सुझाव दिएको छ । 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई भेटी उक्त सुझाव दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसदमा विचाराधीन छ । 

भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलले ती क्षेत्रमा अर्बौंको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यक नरहेको सभापति श्रीवास्तवलाई जानकारी गराएको महासंघको विज्ञप्तिमा उल्लेख छ । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष सीप पनि भएकाले महासंघले पेस गरेका सुझावलाई नयाँ ऐनमा समावेश गर्न प्रतिनिधिमण्डलले आग्रह गर्यो । 

प्रतिनिधिमण्डलमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, वस्तुगत परिषद्का सह–सभापति सुमित केडिया, नेपाल बोटल वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी सहभागी थिए ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App