१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निक्षेप फिर्ता गर्न ओरियन्टल पीडितको माग

काठमाडौं – ओरियन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पीडित बनेका निक्षेपकर्ताले आफूहरुको रकम तत्काल फिर्ताको वातावरण मिलाइदिन सकारसँग आग्रह गरेका छन्। सरकारले ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’बनाएर काम गरे पनि १४ महिनासम्म पनि कुनै प्रगति नभएको भन्दै रकम फिर्ता गर्न माग गरेका छन्।

माग सम्बोधन नभए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको छानविनमा निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने रकम भन्दा सम्पत्ति कम देखिएको थियो।

समितिले प्रभाबकारी रुपमा काम नगर्दा सहकारी र सञ्चालक बस्नेतले सञ्चालन गरेका हाउजिङ कम्पनीमा लगानी गरेको १६ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्नुपर्नेछ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले कुनै पहल नगरेको आरोप लगाए। 

समितिले निक्षेप फिर्ता हुनेतर्फ ठोस कार्य नभएको  सहकारी पीडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्तीदेबी पोख्रेलले बताइन्। ‘सात बर्ष बिति सक्दा पनि निक्षेपकर्ताको रकम फिर्ता भएको छैन,’ पोखरेलले भनिन्, ‘सरकारले गठन गरेको ब्यवस्थापन समितिले पीडितलाई न्याय दिन सकेन।’ सरकारले गठन गरेका विभिन्न समितिले न्याय दिनुको साटो उल्टो प्रतिबेदन ल्याएको भन्दै गम्भिर आपत्ति प्रकट गरिन्। 

कार्यक्रममा पीडित अमुदा श्रेष्ठले ब्यवस्थापन समिति गैर–जिम्मेवार भएको आरोप लगाइन्। ‘ओरियन्टलका सञ्चालक सुधिर बस्नेतले त हामीलाई ठगे नै,’ उनले भनिन्, ‘अहिले आएर सरकारी निकायले पनि हामीलाई झुक्याउन खोजे।’ व्यवस्थापन समितिमा परेको दाबीको तुलनामा सम्पत्ति एकदमै न्यून भेटिएको छ। घरजग्गा विभिन्न बैंकमा लिलामीको प्रक्रियामा रहेकाले त्यो जग्गा फिर्ता गर्ने गरी अहिलेको मूल्यमा लिलामी गर्ने प्रक्रिया सुरु भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा सात हजार पाँच सय ४६ जनालाई १६ अर्ब एक करोड ४५ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ। सम्पत्ति भन्दा बढी रकम फिर्ता हुने सम्भावना कम देखिएको छ। समितिका अनुसार सहकारीका निक्षेपकर्तालाई आठ अर्ब ३८ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ।

अध्यक्ष बस्नेतले लगानी गरेको कोहिनुर हिल हाउजिङका नाममा बालकुमारीमा ४० रोपनी जग्गा र उक्त जग्गामा भेगासीटी अपार्टमेन्ट, गुण्डुमा सहकारीको पैसा प्रयोग गरी विभिन्न व्यक्तिको नाममा २ सय रोपनी जग्गा भेटिएको समितिले जनाएको छ। त्यसैगरी धिरेन्द्र प्रधान एकल सञ्चालक रहेको आयुषा डेभलपर्सको नाममा काठमाडौं महानगरपालिका–१० मा रहेको ४ रोपनी २ आना जग्गा र वाग्मती अपार्टमेन्ट, सहकारी संस्थाले विभिन्न जिल्लामा धितो भेटिएको छ।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App