१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीले जनतालाई विभाजित गरिरहेको कंग्रेसको आरोप

नयाँ दिल्ली - प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनताको भावनासँग खेलवाड गर्दै उनीहरुलाई विभाजित गरिरहेको भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले आरोप लगाएको छ। 

‘राजनीतिक फाइदाका लागि प्रधानमन्त्रीले देशका जनतालाई विभाजित गर्दै उनीहरुको भावनासँग खेलवाड गरिरहेका छन्,’ गुजरातको अहमेदाबादमा पार्टीको प्रमुख नीति निर्माण गर्ने अंगको बैठकपछि कंग्रेसले बताएको छ। 

प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (भाजपा) प्रति पनि प्रमुख विपक्षी दल कंग्रेस आक्रोशित बनेको छ । भाजपाले देशका प्रमुख संस्थाहरु ध्वस्त बनाउँदै लगेको कंग्रेसले आरोप लगाएको हो । प्रधानमन्त्री मोदीले एउटा ब्लगमार्फत् प्रमुख प्रतिपक्षी कंग्रेसलाई कटाक्ष गरेको केही घण्टापछि सो दलको यस्तो आरोप बाहिरिएको हो। 

‘हामी प्रधानमन्त्रीलाई पुनः देशका जनतालाई गलत बाटोतर्फ लान र मूर्ख बनाउन दिँदैनौं,’ पार्टी अध्यक्ष राहुल गान्धीलाई उद्धृत गर्दै कंग्रेसका प्रवक्ता आनन्द शर्माले बताए। ‘आफ्नो राजनीतिक फाइदाका लागि देशका जनतालाई अँध्यारोमा राखेको र देशवासीलाई विभाजित गर्न खोज्नु देशकै दुर्भाग्य हो,’ प्रवक्ता शर्माले बताए। 

युपिए गठबन्धनकी अध्यक्ष सोनिया गान्धीले पनि केन्द्रीय सरकारले राष्ट्रिय स्वार्थसँग सम्बन्धित विषयलाई राजनीतिकरण गरेको आरोप पार्टी बैठकको सम्बोधनका क्रममा बताएको स्रोतले जनाएको छ। उनले मोदीको कार्यकालभन्दा अघिको युपिए सरकारको उपलब्धीको पनि सम्बोधनका क्रममा गुणगान गाएको बताइएको छ । उनले देशलाई दूरदर्शी दृष्टिसहितको नेतृत्वका लागि युपिएको आवश्यकता रहेको समेत जोड दिएकी छन्। 

प्रधानमन्त्री मोदीले ‘पीडित कार्ड’ खेलिरहेको तर उनकै गलत नीतिका कारण जनता थप पीडित भइरहेको सोनिया गान्धीले बताइन्। बैठकमै सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री मनमोहन सिंहले किसान संकटबारे बोलेका थिए । उनले वर्तमान सरकारको नेतृत्वमा देशको औद्योगिक वृद्धि सुस्त भइरहेको र बेरोजगारी समस्या झनै बढिरहेको बताए।

अहमेदाबादस्थित सरदार पटेल नेसनल मेमोरियलमा बसेको कंग्रेसको केन्द्रीय कार्य समितिको बैठकका क्रममा कंग्रेस अध्यक्ष राहुल गान्धी उनकी आमा सोनिया  गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगै मञ्चमा रहेको टेबलमा बसेका थिए । सो टेबलभन्दा मुनि भर्खरै राजनीतिमा आएकी र कंग्रेसको महासचिवको जिम्मेवारी पाएकी गान्धी परिवारकै सदस्य प्रियंका गान्धी भाद्रा कंग्रेसका अन्य महासचिवसहित बसेकी थिइन् । केन्द्रीय कार्य समितिको बैठकमा प्रियंकाको यो पहिलो बैठक हो। 

यसैबीच कोटा (आरक्षण) प्रणालीको विरोध गरेर राजनीतिमा उदाएका पाटीदार नेता हार्दिक पटेल राहुल गान्धीको उपस्थितिमा आजै कंग्रेसमा समाहित भएका छन्।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App