१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले भेनेजुएलाबाट आफ्ना कर्मचारी फर्काउने

राजधानी कराकस भएर बग्ने प्रदूषित गुआएर नदीको पानी संकलन गर्दै भेनेजुएली । तस्बिर : एजेन्सी

वासिङ्टन - भेनेजुएलाको राजधानी कराकसस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई संयुक्त राज्य अमेरिकाले स्वदेश फर्काउने भएको छ । 

भेनेजुएलाको पछिल्लो अवस्थाका कारण आफ्ना सम्पूर्ण कर्मचारी फिर्ता बोलाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा यस्तो घोषणा गरिएको हो । 

भेनेजुएलामा जारी राजनीतिक संकट गहिरिँदै गएपछि अमेरिकाको यस्तो घोषणा आएको हो ।  यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिको संख्या कटौती गर्न निर्देशन दिएको थियो । 

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले आफूलाई दोस्रो अवधिको लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उनको सो निर्णयप्रति असहमति जनाउँदै आएको थियो । यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता एवं विपक्षी नेतृत्वमा रहेको राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोले आफूले आफैंलाई विवादास्पद रूपमा मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले गुआइडोलाई नै मान्यता दिएको थियो । 

गुआइडोलाई यस प्रकारको अमेरिकी सहयोग प्राप्त भएलगत्तै मादुरोसँग अमेरिकाको सम्बन्ध अझै बिग्रिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई सत्ताबाट हटाउन चौतर्फी दबाब दिँदै आएको छ । 

भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ । विद्युत् आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ । भेनेजुएलामा जारी राजनीतिक संकटसँगै खाद्यान्न संकट पनि थपिएको छ । 

भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूर्ति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । हाल देशका २३ मध्ये १४ राज्यमा सरकारविरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ । विपक्षीले राष्ट्रपति मादुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका छन् । यद्यपी राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र रूस र चीनले भने राष्ट्रपति मदुरोलाई समर्थन गरेका छन्।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App