१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नदी उत्खनन् गर्दा बस्ती जोखिममा

लम्की – कर्णाली नदी फर्काएर ढुंगा बालुवा उत्खनन् गर्दा टीकापुर–८ स्थित श्रीलंका बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ। अनियन्त्रित तरिकाले ढुंगा, बालुवा उत्खनन् गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो।

त्यस क्षेत्रमा बग्ने कर्णाली नदीको धारलाई परिवर्तन गरेर बस्तीतर्फ धकेलिएको छ। धार परिवर्तन गरेर ढुंगा, बालुवा उत्खनन्को काम भइरहेको छ। विगत १० दिनदेखि नियमित ढुंगा, बालुवा उत्खनन् गर्ने काम भइरहेको स्थानीयवासी बताउँछन्। ‘नदी हाम्रो बस्तीतिर फर्काएर जेसिबी प्रयोग गरेर ढुंगा, बालुवा निकाल्ने काम भइरहेको छ,’ स्थानीय झपट बुढाले भने, ‘वर्षौदेखि बाढी र कटानको जोखिममा परेका हामी यसरी ढुंगा, बालुवा निकाल्दा हाम्रो बस्ती यस वर्ष डुब्ने निश्चित छ।’

ढुंगा, बालुवा निकाल्ने कामको स्थानीयवासीले विरोध गरे पनि सुनुवाइ नभएको उनले बताए। धार परिवर्तन गर्दा त्यस क्षेत्रमा भइरहेको तटबन्धको कामसमेत अवरुद्ध भएको छ। टीकापुर नगरपालिकाबाट ढुंगा, बालुवा निकासीको ठेक्का लिएका ठेकेदारले ढुंगा, बालुवा उत्खनन् गरेको बताइएको छ।

सो क्षेत्रमा ७० परिवार बस्दै आएका छन् भने त्यहाँ बाढीका कारण उखुखेती गर्ने गरिएको छ। नगर प्रमुख तपेन्द्रबहादुर रावलले आफूले नदी बस्तीतिर फर्काइएको कुरा हिजो मात्रै जानकारी पाएको बताए। उनले भने, ‘मैले जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका संयोजकसँग छलफल गरेँ। बस्ती जोखिम गर्ने गरी उत्खनन गर्न दिइन्न।’स्थानीयवासीले विरोध गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरले दुई जेसिबी नियन्त्रणमा लिएर छाडिदिएको छ। ‘हामीले नियन्त्रणमा लिएका थियौं। नियमवीपरित हुने गरी उत्खनन् नगर्ने सर्तमा कागज गरेर छाडेका हौं,’ प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भने।

प्रकाशित: २८ फाल्गुन २०७५ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App