१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'वर्तमान सरकारले बदमासी गरेको छ'

फाइल तस्बिर

पर्वत - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जताततै बदमासी मात्रै गरेको बताएका छन्। नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। राज्यका हरेक निकायमा हस्तक्षेप गर्ने र भताभुंग पार्ने काम मात्रै ओली नेतृत्वको सरकारको उपलब्धि भएको देउवाले बताए।

राम्रो काम गर्न यो सरकारलाई कसैले नरोके पनि खराब नियतले काम गर्दा सरकारले मुलुकलाई आर्थिक र राजनीतिकरूपमा नै ध्वस्त पार्न थालेको उनले आरोप लगाए। मुलुकमा पछिल्लो समय हिंसा, बलात्कार, हत्या, आतंक, भ्रष्टाचार बढ्नु दुःखद् भएको देउवाले बताए। ‘हाम्रो मनसाय सरकारले राम्रो काम गरोस् भन्ने नै हो तर सरकारले जतासुकै हस्तक्षेप गर्ने, भताभुंग पार्ने, बदमासी मात्रै काम गरेको छ,’ उनले भने, ‘केपी ओली नेतृत्वको सरकार बढेपछि हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले सीमा नाघेको छ।’

उनले यो सरकारको नियत नै खराब रहेको दाबी गरे। ‘राम्रो काम गर्नेभन्दा पनि कसरी राज्यका निकायलाई ध्वस्त पार्ने भन्ने मात्रै छ,’ देउवाले भने। उनले राम्रो काम गरे कांग्रेसले सहयोग गर्ने र नराम्रो काम गरे अब कांग्रेस चुप नबस्ने चेतावनी दिए। यस्तै हो भने र मुलुकमा शान्ति र समृद्धिभन्दा पनि आतंक र भ्रष्टाचार बढ्ने हो भने कांग्रेसले देशभर आन्दोलन गर्ने उनले बताए। ‘सरकार सुध्रिँदैन भने कांगे्रस देशभर सडकमा आउँछ,’ उनले भने। उनले कम्युनिस्ट सरकारले गरेका खराब कामलाई गाउँगाउँ पु¥याउन र खबरदारी गर्न पनि कार्यकर्तालाई आग्रह गरे।

अहिलेसम्म सरकारको कामबारे पर्ख र हेरको अवस्थामा रहे पनि अब चुप नबस्ने देउवाले बताए। उनले कांग्रेस धेरै ठाउँमा पराजित हुँदा केही कार्यकर्तामा निराशा भए पनि अहिले दुई तिहाईको सरकारले जनतामा झन निराशा थपेको बताए। धैर्यपूर्वक काम गर्न कार्यकर्तालाई आग्रह गर्दै देउवाले अर्को चुनावमा काँग्रेसलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे। काँग्रेस कार्यकर्ताको मनोभावना अनुसार कांग्रेस चल्ने र अहिले मुलुकभर काम गर्ने पार्टी कांग्रेस नै भएको जनताले भन्न थालिसकेको देउवाले बताए। उनले कार्यकर्तालाई अनुशासनमा बस्न पनि निर्देशन दिए।

‘राउतसँगको सहमति राष्ट्रघाती’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीले सिके राउतसँग गरेको सहमतिमा जनमतसंग्रह स्वीकारेको भन्न मिल्ने शब्द भएको बताएका छन्। उनले जनमभिमत भनिए पनि त्यसको ब्याख्याले सहमतिप्रति नै ससंकित बनाएको बताए।

उनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संसोधन गरेर मधेशको असन्तुष्टि मिलाउ भन्दा राष्ट्रघात देख्ने केपी ओलीले अहिले सिके राउतसँगको सम्झौता गरेर राष्ट्रघात गरेको बताए। ‘म सोध्न चाहन्छु, हिजो शेरबहादुर देउवाले असन्तुष्टलाई सहमतिमा ल्याउन संविधान संसोधनको प्रस्ताव ल्याउदा राष्ट्रघात थियो वा अहिले केपी ओलीले सिके राउतसँग गरेको सहमति राष्ट्रघात छ’ उनले भने।

राजनीति गरेर जोसुकै प्रधानमन्त्री, राष्ट्रपति भएपनि कुनै आपत्ति नभएको तर यो मुलुकको एक मुठ्ठी माटो बिखण्डन पार्छु भन्नेसँग काँग्रेसको कहिल्यै सम्झौता नहुने शर्माले बताए। ‘हामी सोध्न चाहन्छौ प्रधानमन्त्री जी कुनै डिजाइनमा बस्नुभएको छ, प्रधानमन्त्री आफै डिजाइन बनाउने काममा संलग्न हुनुहुन्छ, यस्तो गर्दै जानुभयो भने कांग्रेसले एक थोपा रगत हुँदासम्म छाड्नेछैन,’ उनले भने।

उनले कांग्रेस सही विचार, सक्षम नेतृत्व, समर्पित कार्यकर्ता र सामयिक रूपान्तरण गर्ने सामथ्र्यले नै बाचेको भन्दै कोही हतोत्साही नभई लोकतन्त्र र कांग्रेसको सही विचारको पक्षमा लाग्न उनले आग्रह गरे। कांग्रेसका नेता बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको अहम भूमिकाले नै मुलुकमा परिवर्तन आएको शर्माले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले कांग्रेसको इतिहासदेखि भविष्यसम्म जनताको भरोसा गर्ने पार्टी नै कांग्रेस भएको बताए। उनले सभापति शेरबहादुर देउवाले चुनावताका कम्युनिस्टले बोल्न पनि दिदैनन् भन्ने कुरा अहिले प्रमाणित हुँदै गएको धारणा राखे।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले बर्तमान सरकार कांग्रेसले गरेको कामलाई आफुले गरेको भन्ने र मुलुकका हरेक क्षेत्रलाई तहसनहस पार्ने डिजाइनमा लागेको बताए। उनले कांग्रेसभित्रको अनुशासन हराउँदा पछिल्लो चुनावमा धेरै क्षेत्र गुमाउन परेको भन्दै सबैले पार्टीप्रति इमान्दार बन्नुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचन, नेता रामहरि खतिवडा, पूर्वसांसद ऋषिकेश तिवारी, पर्वतका सभापति खिमप्रसाद भुसाल, भक्तपुरका सभापति दुर्लभ थापा, पर्वतका पूर्वसभापति नवराज गुरुङ, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतलगायतले बोलेका थिए।

सम्मेलनमा ६१ वटै वडाका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, जिल्ला सदस्य, पदाधिकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रम्ुख तथा प्रतिनिधिसहित एक हजारबढीको सहभागिता रहेको छ। सम्मेलनले कांग्रेस पर्वतको आगामी रणनीति र कार्यक्रम तय गर्ने सभापति खिमप्रसाद भुसालले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App