१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहरको समस्या सहरवासी नै हौं’

सुरेश गैरे, संगीतकार
तपाईँको विचारमा सहर भनेको के हो ?
सहर भनेको देशको प्रतिनिधित्व गर्ने सेवा–सुविधा भएको एउटा व्यवस्थित मानव बस्ती हो । त्यहाँ पौराणिकदेखि आधुनिक युग झल्काउने किसिमका चिनारीहरू हुन्छन् । हेर्दा सानो र जनसंख्या बढी भएको ठाउँ भए तापनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुत हुन्छ । सहरी प्रशासनले सहरलाई सुरक्षित र व्यवस्थित राखेको हुन्छ । 

सहरमा हरेक समस्या आउँछन् र त्यसका समाधान पनि आउँछन् । सहर विस्तारै बन्दैछ भन्ने लाग्छ । हाम्रा सहर विस्तारै विकासको लयमा फर्कदैछन् । अहिले विकास निर्माणका काम पनि सन्तोषजनक रूपमा नै भइरहेका छन् । मेरो विचारमा काठमाडौंको समस्या हामी नै हौं ।

घुमेकामध्ये मन पर्ने सहर कुन हो ?
मलाई पाल्पाको तानसेन र सहर पोखरा मनपर्छ । यहाँ प्रकृतिले नै अनुपम सौन्दर्य भरेको छ । पोखरा नेपालको सुन्दर सहर हो । यहाँको मौसम र प्राकृतिक सौन्दर्यले मन लोभ्याउँछ । पोखरा अरु सहरभन्दा धेरै भिन्न छ । पहाडको नजिक पर्ने यति सुन्दर सहर विश्वमा सायदै होलान् । 

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सपनाको सहर हो। यसले धेरैलाई अवसर दिएको छ । धेरैका सपना र रहर पूरा गरिदिएको छ । मानिसको जीवन परिवर्तन गर्न सहरले मुख्य भूमिका दिएको छ। गर्न चाहनेलाई क्षमता अनुसारको परिचय पनि दिएको छ । खोज्न जान्नुपर्छ सहरमा हरेक चिज पूरा हुन्छ भन्ने लाग्छ मलाई । 

काठमाडौं कसरी बिग्रियो भन्ने लाग्छ ?
काठमाडौं सहर आफैमा नराम्रो होइन । अहिलेभन्दा १० वर्ष पहिलेको उपत्यका हेर्ने हो भने धेरै व्यवस्थित र शान्त थियो । उतिबेलाको व्यवस्थित सहर अहिले बस्नै नमिल्ने जस्तो भएको छ। सहरभरी प्रदूषण मात्रै छ । हामीले अलिकति मात्रै ध्यान दिएको भए काठमाडौं यतिधेरै बिग्रने थिएन हो । यहाँ हरेक सेवा– सुविधा छन्, धेरैले रोजगार पाएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्र पनि देशका अरु भागमा भन्दा काठमाडौंमा राम्रो छ । तर, सहरमा एउटा कुराको कमी छ, त्यो हो– सचेतना । बरु सहरमा बस्नेहरूसँग मिलेर सहरको विकास र सहरलाई कसरी सफा पार्न सकिन्छ भन्नेबारे सोच्न थालेको छु ।

सहरको विकासमा नागरिकले कस्तो भूमिका निभाउनुपर्ला ?
सहरको विकास नागरिक र त्यहाँको सरकारसँग जोडिएको हुन्छ। आफू बसेको ठाउँको विकास गर्नु र सफा राख्नु हरेक नागरिकको दाियत्व हो । तर, हाम्रो सहरका बस्ने नागरिक एकजुट हुन जान्दैनन् । 

काठमाडौंको राम्रो लाग्ने पक्ष के हो ?
यहाँका केही ठाउँ र पक्षले दिक्क लाग्ने भए पनि धेरैथोक राम्रा छन् । यहाँ धेरै अवसर छन् । सहरमा पाइने सुविधा यही छन् । सहरलाई सानातिना कुराले मात्रै कुरूप बनाएका हुन् । हामीले चाहने हो भने ती समस्या समाधान गर्न समय लाग्दैन । ऐतिहासिक मठ–मन्दिर, सबैखाले सेवा–सुविधा र मौसम पनि राम्रो छ । यी पक्षलाई हेर्दा उपत्यका राम्रो लाग्छ । उपत्यका मन्दिरै–मन्दिरको सहर हो । यहाँ धेरै किंवदन्ती भएका पुराना ऐतिहासिक सम्पदा छन् । यहाँको हावापानी र वरपरका हरियाली डाँडाकाँडा अति नै सुन्दर लाग्छ । 

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
मान्छे बस्ने जस्तै भइदिए हुन्थ्यो जस्तो लाग्छ । काठमाडौंमा मानवता पनि छ, अरु देशको तुलनामा । सहरमा हरेकले आफ्ना सपना पूरा गरिरहेका छन् । यहाँ बस्दा म आफूलाई विकास पनि भइरहेको देख्छु । त्यस्तै, सहर–सहरमा बस्ने सबैको एउटै चाहना हुन्छ । त्यो हो– सहर सफा होस् । सहरको चोकहरू हरियाली हौन । सहरको सबैतिर सफा होस् । सडक र यातायात व्यवस्थित होस् । 

सहर विकासका लागि के गर्नुपर्ला ?
जनता सचेत हुनुपर्यो । अदुरदर्शी नेतामा चेतना आउनुप¥यो । नेताहरूले लोभलालच भुलेर काम गर्नुपर्यो । सहरमा बस्ने कोही पनि गतिछाडा हुन भएन । त्यस्तै, सहरको सरकारले दीर्घकालीन विकासको लागि सहरको विकासको लागि प्लानिङ गर्नुपर्छ ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
विश्वमा सुन्दर मानिने सहर पुगेको छु, घुमेको छु । अमेरिका, दुवै, युरोपका सबैजसो सहर, कतार, मलेसिया लगायत देशका सहर पुगेको छु । 

कस्ता रहेछन् त्यहाँका सहर ? 
विदेशका सहर अति नै सुन्दर छन् । सबैतिर व्यवस्थित छन् । त्यहाँ नियमले सबैलाई बाँधेको हुन्छ । त्यहाँ कानुनमा जे छ त्यो कार्यान्वयन भएरै छाड्छ । हाम्रोमा त्यस्तो भएन । 

नेपाल र बाहिरका सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता छ । विदेशका सहरमा मानिस नीति नियमले चलेका छन् । सहरमा बस्नेले नचिनेकोलाई पनि सत्कार गर्छन् । बिहान भेट्दा गुड मर्निङ र साँझ भेट्दा गुड इभिनिङ टक्र्याउँछन्, यो नै रमाइलो लाग्यो । विकास निर्माणको हिसाबले हामी धेरै पछि छौं । अरु देश विकासको शिखरमा पुगिसके । हाम्रोमा अहिले भइरहेको विकास निर्माणको कामलाई हेर्दा नेपाल विस्तारै विकास हुन्छ होला भन्ने लागिरहेको छ । 

हाम्रा सहरलाई पनि व्यवस्थित पार्न के गर्नुपर्ला ?
सरकारले काम गर्नुपर्यो । सरकारी कर्मचारी जिम्मेवार हुनुपर्यो । सहरवासी पनि आफ्नो जिम्मेवारी निभाउन तत्पर हुनुपर्यो । 
सहरको पछिल्लो समस्या देख्दा कस्तो लाग्छ ?
हरेक समस्या आउँछन् र त्यसका समाधान पनि आउँछन् । सहर विस्तारै बन्दै छ भन्ने लाग्छ । हाम्रा सहर विस्तारै विकासको लयमा फर्किदै छन् । अहिले विकास निर्माणका काम पनि सन्तोषजनक रूपमा नै भइरहेका छन् । मेरो विचारमा काठमाडौंको समस्या हामी नै हौं । यहाँको धर्ती उही हो, वातावरण पनि उही हो । तर, हामीले आफू बसेको ठाउँलाई सपार्न सकिरहेका छैनौं । 

काठमाडौं कसरी सफा होला ?
मुख्यतः सहरभित्र बस्नेहरुले तोकिएको स्थानमै फोहर पाल्नुप¥यो । सरकारले ल्याएको नीतिलाई पालना गनुर्यो । हाम्रो कानुनको पालना यसरी भएको छ, जसलाई माने पनि हुने नमाने पनि हुन् । एक हिसाबले कानुनलाई धर्मजस्तै बनाइएको छ । त्यसैले हो सहर फोहर भएको हो । 

यहाँको मन नपर्ने पक्ष ?
धुवाँधुलो, ट्राफिक जाम र प्रदूषण मन नपर्ने पक्ष हुन् । 

उपत्यका नजिकै कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
ककनी, धुलिखेल, नगरकोटलगायत उपत्यका आसपासका ठाउँमा जान्छु । 

उपत्यकाको मनपर्ने खानेकुरा के हो ?
मलाई नेपाली खाना नै मनपर्छ । 

मन भएर पनि पुग्न नपाएको सहर ?
नेपालका पूर्वी सहर घुम्न मन छ । 

प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App