१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चौधरी ग्रुपको राजस्व नौ अर्ब ६७ करोड

काठमाडौं – गत आर्थिक वर्षमा चौधरी ग्रुप सम्वद्ध कम्पनीले नौ अर्ब ६७ करोड रूपैयाँ राजस्व तिरेका छन्। चौधरी ग्रुपका अनुसार आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत आवमा २२. ७२ प्रतिशत बढी राजस्व दाखिला गरिएको हो।

उक्त वर्ष ग्रुपले सात अर्ब ८८ करोड रूपैयाँ राजस्व तिरेको थियो। आव ०७२÷७३ मा ग्रुपले पाँच अर्ब ५९ करोड राजस्वमा बुझाएको थियो। अध्यक्ष विनोद चौधरी डलर अर्बपतिको सूचीमा परेपछि ग्रुपले नेपालमा तिरेको कर सार्वजनिक गर्दै आएको छ। ‘ग्रुपको नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट रोजगारी सिर्जना र राजस्वमा योगदान बढ्दै गएको छ,’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘ग्रुप उच्च व्यावसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छ।’

यो वर्ष थप २० अर्ब लगानी, २५ अर्ब लगानीको प्रतिक्षामा

ग्रुपका अनुसार चालू आवमा नेपालमा थप २० अर्ब लगानी हुँदैछ। केही परियोजना सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयन चरणमा छन्। यस्ता मुख्य परियोजनामा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्यान्डमार्क’, सुनसरीमा सिजी इन्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत छन्। सिजी इन्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ। जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्सलगायत उद्योग  छन्।

चौधरी ग्रुप अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजीलाइफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ। यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ। यो परियोजना कार्यान्वयनमा सम्वद्ध निकायबाट आवश्यक समर्थन र सहयोग प्राप्त भएपछि काम सुरु हुनेछ। ग्रुपमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। ग्रुपले नवलपरासीमा स्थापना गरेको सिजी इन्डस्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्ट मध्येको एक मानिन्छ। ग्रुपले प्रदेश ५ को बर्दिया र प्रदेश १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ।चौधरी ग्रुप कर्पोरेट हाउस हो। ग्रुप सम्वद्ध कम्पनीका सेयरधनीले लाभांश कर तिर्छन् जुन व्यक्तिगत करमा प्रतिविम्बित हुँदैन।
 

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App