१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'जापानको निस्वार्थ सहयोग'

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले जापानले नेपाललाई जस्तो सुकै कठिन अवस्थामा समेत निस्वार्थ सहयोग गरिरहेको बताएका छन्। उनले जापानको सहयोग भौतिक पूर्वाधार निर्माण र प्रविधि हस्तारणमा उल्लेख रहेको बताए। नेपाल जाइका अलमनाई एसोसियन (जान)को ४५औं वार्षिक समारोहमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। सो अवसरमा उनले जापानबाट प्रकाशन हुने वार्षिक पत्रिका ‘मिलन’को विमोचनसमेत गरे।

कार्यक्रममा जापानी राजदूत मासामिची साइगोले जापान नेपालको पुरानो मित्र भएको र नेपालको विकासको लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए। उनले नेपाललाई पूर्वाधार, कृषि विकास र जनशक्ति विकासमा सहयोग गर्न जापान इच्छुक रहेको बताए। जाइका नेपालका प्रमुख युमिको आसाकुमाले जान संसारभरका जाइका अलमनाइमध्ये उत्कृष्ट अलमनाई भएकाले जानका सदस्यसँगको समन्वयमा काम गर्न आफू सधैं इच्छुक रहेको बताए।  

जानका अध्यक्ष रामचन्द्र भुसालले जापानले ६ दशकमा नेपाललाई पूर्वाधार विकास कृषि, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विषयमा गरेको सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिए। उनले नेपाल र जापानको सम्बन्धलाई अझै सुदृढ बनाउन आ¬आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहने बताए।

उक्त अवसरमा राजदूत मासामिचि साइगो र जाइका नेपालका प्रमुख युमिको आसाकुमालाई जानको मानार्थ सदस्यता प्रदान गरिएको थियो। भुसालको नेतृत्वमा १२ सदस्यीय टोली हालै निर्विरोध निर्वाचित भएको छ। जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो। जान सन् १९७३ देखि क्रियाशील रहँदै आएको छ। जानमा एक हजार एक सयभन्दा बढी सदस्य छन्।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App