१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्छ’

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको महिला सशक्तिकरण र समावेशिता विषयक कार्यशालामा आफ्नो धारणा राख्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याल। तस्बिरः नागरिक

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्ने बताएकी छन्। मन्त्री अर्यालले सहकारीको पुँजी परिचालन महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन्।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको महिला सशक्तीकरण र समावेशिता विषयक दुईदिने राष्ट्रिय कार्यशालामा यस्तो धारणा राखेकी हुन्। ‘आर्थिक क्रियाकलापमा महिलालाई जोड्नुपर्छ,’ अर्यालले भनिन्, ‘अर्थोपार्जनका लागि महिलालाई सीप सिकाउनु पर्छ।’ उनले आर्थिक सवलीकरणमार्फत महिलालाई आत्मनिर्भर बनाउनु पर्ने धारणा राखिन्। ‘सहकारीले सीप सिकाएर उद्यमशीलता बढाउनु पर्छ,’ उनले भनिन्।

व्यक्तिले बचत गर्दा धनी हुने भए पनि संस्था र राज्यले जति खर्च ग¥यो त्यति धनी हुने धारणा राखिन्। ‘जग्गा एकीकरण गरेर सामूहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्छ ,’ उनले भनिन्, ‘सहुलियत, औजार र अनुदान दिने काम राज्यले गर्छ।’ सरकारले दिने अनुदानका कार्यक्रमबाट आफू सन्तुष्ट नभएको अर्यालले बताइन्। ‘अहिले त अनुदान सबैले ठेकेदार, जानेका बुझेकाले मात्र लैजान्छ,’ उनले भनिन्, ‘अनुदान वितरण प्रक्रिया सहज बनाउनु पर्छ।’

राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बन्न महिलालाई सुझाइन्। अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा सबल बन्नुपर्ने उनको धारणा थियो। ‘जबसम्म महिलाहरू आर्थिक रूपमा सक्षम बन्दैनन तबसम्म पूर्ण स्वतन्त्रता प्राप्त हुँदैन’, उनले भनिन्, ‘आर्थिक रूपमा सबल बनाएपछि मात्रै महिलाहरू स्वतन्त्र हुन्छन्।’ आफ्नो आर्थिक आवश्यकता पूरा गर्नका लागि अब सहकारीले महिलालाई गरेर खाउ भनेर सीप दिनुपर्ने बताइन्।

सहकारीहरूलाई दिने अनुदानमा अब तल्लो स्तरबाट उठेका र उठ्ने कोशिस गरिरहेका सहकारीलाई प्राथमिकता दिइने बताइन्। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले सहकारीमार्फत महिलाको आर्थिक सशक्तीकरण गर्नुपर्ने बताए। कँडेलले नेपालमा महिलाले सञ्चालन गरेका चार हजार एक सय महिला सहकारी सदस्य रहेको बताए। अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीले महिलाको आर्थिक शसक्तिकरण भएको बताइन्। कार्यक्रममा प्रदेश सांसद प्रभा कोइरालाले सहकारी संस्थले सहकारीका सात सिद्धान्तलाई अक्षरस पालना गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टिका बुढाथोकीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App