१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रथम वेद कण्ठस्थ प्रतियोगिता

काठमाडौं – नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता सम्पन्न भएको छ। २००९ सालमा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गरेका थिए। पछि त्यही महाविद्यालयको बाल्मीकि विद्यापीठ नामकरण भएको थियो।

कान्तिभैरव गुरुकुल गोकर्णेश्वर–४ उत्तरबाहिनीले आयोजना गरेको प्रतियोगितामा सात गुरुकुलको सहभागिता थियो। प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत गुरुकुलका ३५ विद्यार्थीको सहभागिता थियो। सहभागीले डेढ घन्टासम्म वेद कण्ठ सुनाएका थिए। प्राचीनकालमा वेद गुरुले शिष्यलाई सुनाएरै कण्ठ गराउने परम्परा रहेकाले श्रुति पनि भनिन्छ।

शिक्षामा आधुनिकताको प्रवेशसँगै वेदको अध्ययन अध्यापनमा कमी आएको थियो। फलस्वरूप वेद कण्ठ हुने मानिस पाउनु दुर्लभप्रायः बन्दै गएकाले प्रतियोगिता आयोजना गरिएको गुरुकुल सञ्चालक समितिका सचिव डा. श्रीराम अधिकारीले बताए।

प्रतियोगितामा आयोजक कान्तिभैरव गुरुकुल पहिलो भयो। भागवत सन्न्यास आश्रम गुरुकुल पशुपति राममन्दिर दोस्रो, शंकराचार्य पीठ वेद वेदांग गुरुकुल साधुटार झापा तेस्रो र सप्तमाई संस्कृत माध्यमिक विद्यालय गुरुकुल इलामले सान्त्वना पुरस्कार पाएका थिए। प्रत्येक गुरुकुलका पाँच जनाको समूहले वेद कण्ठस्थ सुनाएका थिए। पुरस्कार पाउने सबै विद्यार्थीलाई दक्षिणास्वरूप एक हजार एक सय रुपैयाँ पुरस्कार, प्रमाणपत्र र दोसल्लाले शिक्षा सचिव खगराज बरालले सम्मान गरे। सहभागीलाई आउने, जाने, खाने एवं बस्ने व्यवस्था आयोजक गुरुकुलले नै गरेको थियो।

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App