१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापा गोल्डकप : उपाधि जोगाउन र इतिहास बनाउन भिडन्त

दमक - चौथो झापा गोल्डकपको उपाधिका लागि घरेलु टोली झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो पटक सोमबार आमने–सामने हुँदै छन् । झापा–११ यसअघिका तीनवटै संस्करणमा झापा गोल्डकपको उपविजेता हो । आर्मीले भने पहिलो र तेस्रो संस्करणको झापा गोल्डकपको उपाधि चुमेको थियो । यसअघि दुईवटा संस्करणमा आर्मीसँग बेहोरेको हारको बदला लिने लक्ष्यका साथ झापाली टोली मैदान उत्रनेछ । झापालाई घरेलु दर्शकको समेत बलियो साथ रहनेछ। 

आर्मी भने झापालाई उसकै भूमिमा तेस्रो पटक हराउने दाउमा छ । यो संस्करणको झापा गोल्डकपमा सहारा पोखरा फुटबल क्लब, हङकङ नेप्लिज एकेडेमी र थ्री स्टार क्लबलाई पराजित गर्दै झापा–११ ले फाइनलसम्मको यात्रा तय गरेको हो। सोझै क्वार्टरफानलबाट प्रवेश पाएको आर्मीले भने एपिएफ र क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पाखा लगाउँदै उपाधिनजिक पुगेको हो । चार वर्षयता बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा झापा र आर्मी दुई पटक जम्काभेट हुँदा आर्मीले बाजी मारेको थियो। झापाका प्रशिक्षक प्रवेश कटुवालले सोमबार हुने तेस्रो भिडन्तमा भने घरेलु दर्शकलाई निराश नबनाउने आफूहरूको लक्ष्य रहेको बताए। 

‘यसअघिका तीनवटा संस्करणमा पनि हाम्रो क्षमताले गर्दा नै फाइनलसम्म पुगेका हौँ, तर तीन पटक नै उपविजेतामा सीमित हुनुपर्यो,’ उनले भने, ‘यस पटक टोली निकै बलियो छ, हामी उपाधि रक्षा गर्ने दाउमा छौँ।’  आफूहरूको स्ट्राइकिङमा समस्या रहेको उनले स्वीकार गरे। झापाको डिफेन्स र मिडफिल्ड बलियो देखिए पनि स्ट्राइकरहरू चल्न सकेका छैनन् । नियमित कप्तान कर्ण लिम्बुको घुँडामा समस्या रहेका कारण यसअघिका हरेक खेलमा उनले पूरै ९० मिनेट मैदानमा बिताएनन् । झापाली प्रशिक्षक कटुवालले विदेशी खेलाडी फ्रान्सिसलाई स्ट्राइकिङमा राखेका छन् । तर, उनी निकै अल्छी देखिएको कटुवालले बताए । झापाका कप्तान कर्ण लिम्बुले भने घरेलु मैदानमा खेल्दा प्रेसर नहुने बताए। 

झापाली मैदानसँग परिचित आर्मीले यो पटक पनि उपाधि उचाल्ने दाबी गरेको छ । ‘मिहिनेतको प्रतिफलस्वरूप फाइनल पुगेका छौँ,’ आर्मीका कप्तान भरत खवासले भने, , ‘झापाली मैदान र माटोले हामीलाई चिनिसक्यो, यहाँ उपस्थित हुने दशौँ हजार दर्शकको भीड हाम्रा लागि ठूलो कुरा हो ।’ ट्रफी उचाल्नैका लागि झापा गोल्डकपमा सहभागी भएको बताएका भरतले झापा राम्रो र बलियो टोली भएको प्रतिक्रिया दिए । आर्मीका प्रशिक्षक चुनबहादुर थापाका अनुसार २३ वर्षमुनिको क्लोज क्याम्पमा आर्मीका तीन खेलाडी गएका छन् । झापा गोल्डकपकै सेमिफाइनल खेल्दा एक खेलाडी घाइते भएर शल्यक्रिया गरिएको छ। ‘तर, पनि हाम्रा खेलाडी उत्कृष्ट छन्, टोलीमा कुनै असर परेको छैन,’ उनले भने । प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ। 

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App