१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजपाले माग्यो सरकारको धारणा

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदलाई गराएको छ। 

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन्। 

उनले राजपाका मागलाई सम्बोधन गर्ने सरकारको दृष्टिकोण समेत माग गरे। ‘राजापाको मागमा सरकारको दृष्टि के हो? प्रधानमन्त्रीले संसदमै संविधान संशोधन गर्छु भनेको तर किन भएन? सभामुखमार्फत सरकारको धारणा माग गर्दछु’, यादवले भने।

मधेसका माग सम्बोधन गर्ने भनेर सरकालाई समर्थन गरेको, एक वर्षभन्दा बढी समयसम्म सम्वादमा रहेको भन्दै उनले सरकारले बारम्बार आश्वासन दिने काम गरेको गुनासो गरे। 

‘संविधान संशोधनको मुद्दा टुंग्याउँछौं। जेलमा रहेकालाई रिहा गर्छाैं, आन्दोलनमा घाइतेलाई उपचार तथा क्षतिपूर्ती र झुटा मुद्दा फिर्ता लिन्छौं भन्यो। यी विषयहरुको कारण समर्थन गरेका थियौं’, उनले भने, ‘बारम्बार ध्यानाकर्षण गरायौं। तर, सरकारले सधै झुटा आश्वासन दियो। हाम्रो मागलाई वास्ता गरेन।’ 

संविधान संशोधन गर्न दुई तिहाई पुग्छ भनेर आफूहरुले समर्थन दिएको तर सरकारको एक वर्षे रवैया र गतिविधी तथा राजपालाई सम्वादका निम्ति पनि उचित नठानेका कारण आफूहरु समर्थन फिर्ता लिन बाध्य भएको उनको भनाई छ। ‘हामी सहकार्य गर्न चाहन्थ्यौं तर यो सरकारले हामीलाई वेवास्ता ग¥यो,’ उनले भने, ‘हाम्रो माग सम्बोधन गर्न चाहन्छ कि चाहँदैन? सरकारलाई प्रश्न छ। स्पष्ट धारणा आउनुपर्छ।’ सरकारको अभिव्यक्ति सुन्दा दुःख लागेको उनको भनाई छ। 

नेता यादवले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको आरोप समेत लगाए। ‘अशान्ति, कमिशनतन्त्र बढ्यो, संविधान संशोधन भएन, संघीयता कार्यान्वयनका लागि कानून बनाउन सकेन, प्रदेशलाई अधिकार दिएको छैन्’, उनले भने, ‘सबै क्षेत्रमा देशको अवस्था लथालिंग छ। सबै क्षेत्रमा असफल भइसक्यो।’

आफूहरुले समर्थन गरेको सरकारमा कुनै अनुभूती हुन नसकेको बताउँदै यादवले थपे, ‘हामीले उठाएका जायज माग पनि सरकारले सम्बोधन गरेन। विकास निर्माण र स्वायत्ततामा यो सरकारले कुनै पनि काम गरेन। नियम कानुन बनाउन सकेन। नागरिकताको विषयमा विधेयक समितिमा थन्किरहेको छ। यो देशमा कुनै किसिमको द्वन्द्व हुन्छ भने यसको लागि सरकार जिम्मेवार हुन्छ। त्यसकारण यो सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं।’ 

प्रकाशित: २६ फाल्गुन २०७५ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App