१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनकामना पुनर्निर्माणमा १४ कराेड खर्च

गोरखा - भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोड रूपैयाँभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागमार्फत ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए । ‘मन्दिर निर्माणका लागि कुल १४ करोड ६४ लाख खर्च भएको छ,’ उनले भने, ‘सरकारले उपलब्ध गराएकोबाहेक सबै रकम भक्तजनबाट सहयोग संकलन भएको हो।’

मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोकालगायत सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको छ । मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कुल ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ ६२ लाख ४१ हजार रूपैयाँ खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी १३ करोड ४६ लाख ८० हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग संकलनको अभियान चलाएको थियो। 

अभियानबाट नगद तथा जिन्सी गरी १५ करोड २७ लाख २१ हजार ९२८ संकलन भएको र बाँकी रकम १ करोड ४० लाख ४४ हजार ७०४ बैंक ब्याजबाट आम्दानी भएको थियो । मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कुल ५ करोड ८६ लाख मौज्दात रहेको बताइएको छ । करिब ३ सय वर्षअघि निर्माण भएको मनकामना मन्दिर १९९० सालको भूकम्पले दक्षिण–पश्चिमतर्फ ६ इञ्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो।

२०७२ को भूकम्पले मन्दिर पूर्ण रूपमा क्षति पुर्याएपछि पुनर्निर्माण गरिएको हो । २०७२ जेठ २५ गते शुभसाइत पारी मन्दिरको गजुर झिकेर साउन ६ गते जगपूजा गरी मन्दिर पुनर्निर्माणको काम अघि बढाइएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि ८ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो।

समितिले राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिर निर्माण गरेको संयोजक श्रेष्ठले जानकारी दिए । ‘यसअघि मन्दिरको छानामा तामाको जलप लगाइएको थियो, अहिले मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर झकिझकाउ परिएको छ,’ उहाँले भन्नुभयो । मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरूले सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटो प्रयोग गरेर लगाइएको उहाँले जानकारी दिए।

२०७४ चैतभित्रै मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभावलगायत कारण करिब आठ महिनापछि निर्माण सम्पन्न भएको हो । मनकामना मन्दिरमा नेपालसहित भारतलगायत अन्य देशबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिर दर्शन र पूजाआजाका लागि वार्षिक १२ लाखसम्म भक्तजन आउने गरेको बताइएको छ।रासस

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App