१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अब चौतारामा पनि प्याराग्लाइडिङ (फोटोसहित)

तस्बिर : ध्रुव/नागरिक

कदमवास (सिन्धुपाल्चोक) - सदरमुकाम चौतारा नजिकै साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा आएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा जनस्तरबाट शनिबारदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याइएको हो।

स्थानीय आवद्ध सिन्धुपाल्चोक लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङको नगरप्रमुख अमानसिं तामाङले शुभारम्भ गरे। फागुन पहिलो साता गरिएको परीक्षण उडान सफल भएपछि हौसिएका स्थानीयले प्याराग्लाइडिङ खेलको व्यवसायिक सुरुवात गरेका हुन्।

उद्घाटनका दिन पाँचवटा र्‍याडरबाट उडान भरिएको थियो। कार्यक्रममा अतिथि, स्थानीय र आगन्तुकले लामाचौरदेखि कदमवासकै सिरानचौरसम्म उडान भरेका थिए। कदमवासको आकासमा उडेर आसपास क्षेत्र फन्को मार्दै यो दुरी पूरा गर्न र्‍याडरलाई २०–२५ मिनेट समय लागेको थियो।

नगरप्रमुख तामाङले चौतारा साँगाचोकगढीलाई पर्यटकीय नगरी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै यो साहसिक खेललाई निरन्तरता दिन आग्रह गरे। पर्यटन विकासको क्षेत्रमा नगरले विभिन्न कार्यक्रम अघि सारेको बताउँदै उनले प्रतिवद्धता जनाए प्याराग्लाइडिङलाई निरन्तरता दिएको खण्डमा कदमवासमा होमस्टे सञ्चालनमा ल्याउन सघाउने बताए।

प्रतिपरिवार दुईदेखि ५० हजार रुपैयाँ लगानी संकलन गरी आठ लाख रुपैयाँ पूँजीबाट प्याराग्लाइडिङको सुरुवात गरेको संघका सचिव रणबहादुरले बताए। उनकाअनुसार हाललाई लामाचौरदेखि सिरानचौर उडान रुट कायम गरिएको छ। यो रुटको उडान शुल्क तत्काललाई दुई हजार पाँच सय रुपैयाँ कायम गरिएको छ। यहाँको आकासबाट सुनकोसी, लिसंखुपाखर, बलेफी, बाह्रविसेका ग्रामीण तथा बजार क्षेत्रका साथै जुगल हिमशृंखला, सुनकोसी, भोटेकोसी र बह्मायाणी नदी अवलोकन गर्न सकिन्छ।

'यहाँ आउने पर्यटकलाई प्याराग्लाइडिङसम्म तान्ने रणनीति बनाएका छौँ,’ संघका अध्यक्ष अमरबहादुर कामीले भने। प्याराग्लाइडिङ र्‍याडर हाललाई विभिन्न कम्पनीबाट भाडामा लिइएको सञ्चालकले बताएका छन्। पर्यटन, खेलकुद मन्त्रालय र सम्वद्ध निकायसँग उडान अनुमति र दर्ता गरेर संघलाई कम्पनीमा रुपान्तरण गरिसकेका सञ्चालकले र्‍याडर र पाइलट आफैँ व्यवस्थापन गर्ने योजना अघि सारेका छन्। उद्घाटनको सबै खर्च बेहोर्ने घोषणा नगरपालिकाले गरेको छ।

तस्बिर :  ध्रुव/नागरिक

तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App