१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विडम्बना ! मेरो नाक

आशिष पौडेल

टक्रक्क टाढैबाट देखिने 
मेरो भुत्ते नाकमाथि 
गम्भीर आशंका जताउँदै 
नाक आयोगका 
एक हुल नाक 
मेरो पिँढी–मझेरीमै पुगे 
नाक निर्धारणका निम्ति 
मलाई 
यता फर्काउँथे 
उता घोक्र्याउँथे 
इन्ची टेपले 
घरी दायाँ नाप्थे 
घरी बायाँ 
मेरो नाक माथिको आक्रमण 
मौन सहनुबाहेक 
अर्को विकल्प थिएन 
किनकि
मेरो नाकको 
कुनै जात थिएन
कुनै वर्ग थिएन
मान्छेको नाकको 
के जात ? 
अनि के वर्ग ?
त्यसैले निर्धारण गर्नुपर्याे 
उनीहरूको तर्क थियो– 
वैधानिकताका लागि 
बलपूर्वक 
मेरो हस्ताक्षर गिराए 
र, 
झोलाबाट
जात–वर्ण 
अनि 
धर्म–सम्प्रदाय सहितको 
नाकको प्रमाणपत्र दिए 
म निराश थिएँ 
अब मेरो नाक
मेरो रहेन
निद्रामा यसो छाम्छु 
आफ्नै जस्तो लाग्छ 
जब ब्युँझेर 
कतै लाग्छु 
त्यो मेरो रहँदैन 
अचेल म 
मेरो मुहारमा 
अरुका लागि 
नाक बोकिदिएर हिँड्छु 
कस्तो विडम्बना !
bnbrs14@gmail.com

प्रकाशित: २५ फाल्गुन २०७५ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App