स्मृति

बालकृष्ण गुरूका आँखामा आँसु

शनिबार, २५ फागुन २०७५, १२ : २८ नागरिक

39


ज्योति जङ्गल
संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका छैनन्। भाषाशास्त्री साहित्यकार बालकृष्ण गुरुलाई श्रद्धाञ्जली चढाउनु मेरो औपचारिकता मात्र हो।

म डराउँछु कि मैले समवेदना चढाइनँ भने मैले आदर गरिनँ भन्नेछ परिवेशले। तर, उनको प्रतिभालाई राज्यले पनि कहाँ आदर गरेको छ र ! उनी त जीवन्त रचना र सिर्जनामा बाँचिरहेकै हुनेछन् जुगौंजुगसम्म। मेरो समवेदना त कति कामको होला ? श्रद्धा त नेपाली भाषाले यो भाषाको उच्चारण भइरहने समयसम्म दिनुपर्छ। 

साधारण अर्थमा जस्तो मलाई अध्यापन गराएर उनी मेरा गुरू भएका होइनन्। मेरो जन्मभन्दा दशकअघिदेखि कलेजमा अध्यापन गर्न थालेका उनलाई समयले मसँग त ०५३ सालदेखि मात्र सङ्गत गरायो। त्यो पनि ०७३ सालसम्म। त्यसपछि म नै उनीबाट छुटिगएँ। सम्झेर ल्याउँछु के त्यो साँच्चै बीस वर्ष थियो ? र, म अब तीमध्ये के–के सम्झन सक्छु ?

उनले लेखेका पुस्तकको लेखो लाएर पनि साध्य छैनन्। उनी वसन्त नामबाट सबैभन्दा धेरै उपन्यास लेखेको छु भनी बताउँथे। मैले उनका निबन्ध, कथा र भाषाको केही किताबमात्र पढ्न सकेँ। ती पनि यही चल्तीका नामको– बालकृष्ण पोखरेल। अरु नामबाट प्रकाशित भएका किताब मैले पढेकी छुइनँ। तर, विराटनगरका साहित्यिक कार्यक्रममा उनको वक्तव्य सुनेका दिन हृदयै फुरुङ्ग हुन्थ्यो मानौं कसैले बोलीबाटै ज्ञानको ‘सर्बत’ पिलाएर प्यास तृप्त पारिदिएको छ। पछिपछि उनले बोल्ने विषयसन्दर्भ छोडेर अन्तै बरालिएको आक्षेप पनि लगाउँथे कतिले। तर, उनमा भरिएको प्रज्ञाका छिटाहरू मात्र थिए ती।

३१ वर्षकै उमेरमा मदन पुरस्कार पाएका थिए उनले। त्यसकारण उनमा भएको प्रतिभाको सीमान्त उत्पादन र प्रष्फुटनको उपयोगका लागि भने हामी पछि पर्याैं कि भन्ने पछुतो मनमा उठिरहेको छ। 

बोल्न सुरु गरेको शब्दकै विन्यासदेखि लिएर बोल्न थाल्दा उनी इतिहास समेत छर्लङ्ग बनाइसक्थे। एकपटक साहित्यिक कार्यक्रमको सिलसिलामा धनकुटा गइरहेका थियौं, भेडेटारको नामाङ्कनका बारेमा कुरा उठ्यो। उनले त इतिहास, जातजाति, राज्यव्यवस्था, भाषा र विश्वमा त्यो शब्द कसरी उठान भयो र कुन समयसम्म कसरी उच्चारण गरियो ? त्यो कहिलेदेखि कहिलेसम्म स्थिर रह्यो ? कहिले परिवर्तन भयो सबै बताउन थाले।

विश्वका कुुन–कुन भाषामा भेडालाई के–के भन्छन् ? बाटोको नामाकरण कसरी भयो, भेडेटारको कुन पाटामा कुन जातिको घर छ ? अर्को पाटोमा कुन जातिको बसोबास छ त्यसको उद्भव कसरी भयो भन्ने समेत व्याख्या गर्दागर्दै त्यो यात्रा सकियो। उनमा भएको ज्ञानको शिरा मौखिक रूपमै भए पनि टेप गरेर राखेको भए त्यो नेपाली भाषा र इतिहासलाई ‘खजाना’ हुने खालको थियो। उनलाई भाषा मात्र होइन, सामाजिक व्यवस्था, संस्कृति, राजनीति र इतिहासको पनि उत्तिकै ज्ञान थियो।

उनी मानिसले आफ्नो कर्मको फल यसै जुनीमा भोग्नुपर्छ भन्ने मान्यता राख्थे। हामी जिस्क्याउँथ्यौं तपाइँले केको फल भोगिरहनुभएको छ ? उनी भन्थे, ‘मैले भाषाको माया गरेकाले यो जीवन यसरी भोगिरहेको छु। आफ्ना बाबुले न्यायाधीश हुन गरेको पहल मैले असफल गरिदिएँ। म वकिल, डाक्टर, व्यवसायी वा धर्मगुरु थिएँ भने जीवन अर्कै तरिकाको हुने थियो।’ 

उनको मेहनत सितिमितिको थिएन। ५० औं वर्षभन्दा बढी समय लगाएर संकलन र खोजी गरेका शब्दहरूको चाङबाट मूल साठी हजार र व्यूत्पन्न पन्ध्र हजार शब्द गरी पचहत्तर हजार शब्दको बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश लेखेका छन्। उक्त कोश नेपाली शब्दका आधारमा अंग्रेजी अध्ययन गर्न आधारभूत स्रोतका रूपमा बहुमूल्य छ। उक्त शब्दकोषको अन्तिम तयारीका बेला एकपटक कुनै कार्यक्रमको निम्तो दिने सिलसिलामा म उनको घर पुगेकी थिएँ। साउन–भदौको बेला थियो। पढ्ने कोठामा उनी भुइँमा बसेका थिए। कोठाभरि शब्द लेखिएका कागजका टुक्रा मुठाका मुठा थिए। कति त्यत्तिकै छरिएका थिए। तिनलाई उडाउँछ भनेर करिब चालीस डिग्री सेल्सियसको गर्मीमा पंखासमेत नखोली उनी निरन्तर काम गरिरहेका थिए। पसिनाका धाराले अनुहार छोपेको थियो। उनी तपस्वीजस्ता देखिएका थिए। बिहानैदेखि दिनभरि निरन्तर खटेर काम गरेको र यसैगरी बसेमा कम्तीमा दुई महिनामा मात्र काम सकिने बताइरहेका थिए। 

पचास वर्षदेखिको तिनको यस्तो प्रयत्न देखेर मैले आफ्नो मेहनतहीन प्रवृत्तिलाई भित्रभित्रै घृणा गरेकी थिएँ। मानिस अध्ययन र मेहेनतबिना यत्तिकै कहाँ विद्वान् हुँदोरहेछ ? म आफ्नो अध्ययनहीनताई धिक्कार्न पुगेकी थिएँ।

अंग्रेजी, संस्कृत, नेपाली, बंगाली र अन्य विभिन्न भाषाका ज्ञाता रहेका उनले मगर भाषामा कवितासंग्रह समेत निकालेका छन्। कविता, निबन्ध, नाटक, कथा, बालसाहित्य समालोचना, भाषा अनुसन्धानका ग्रन्थ गरी विभिन्न विधामा र थुप्रै विषयमा उनले कलम चलाएका छन्। उनका कृतिको विविधताजस्तै लेखकका नाममा पनि गढतिरे साइँलो, के के मनुुक्च्यो पोखरेल, रूपावासी, वसन्त, लक्ष्मीविशाल पाध्ये, हिमालपाने बराल, इशाखपुर जस्ता नामहरू पुराना पत्रिकामा पाइन्छन्। 

पोखरेलका नाममा छापिएका पाँच सय वर्ष, खस जातिको इतिहास, नेपाली भाषा र साहित्य, नेपाली–अंग्रेजी–नेपाली कोश र राष्ट्रभाषाजस्ता अनुसन्धानात्मक र भाषागत ग्रन्थ नेपाली वाङ्मयमा महत्वपूर्ण छन्। उनी यिनै किताबलाई आफ्ना मनपरेका र उत्कृष्ट रचना भन्ने गर्थे। 

विराटनगरमा उनी युवा हुँदाका अनेक घटनाका किस्सा सुन्न पाइन्थ्यो। धेरै पटक उनका मुखबाट पुर्खाका बारेमा इतिहास सुन्ने अवसर मिलेको छ। कुरा उठेपछि उनी उत्साहित भएर इतिहासदेखि नै बताउन थाल्थे। सुन्नेको धैर्य नउठेसम्म सुनाइरहन सक्थे। आफूलाई जतनपुरे पोखरेलको सन्तान हुँ र त्यो खलक सेन राजाका पुरोहित भएको व्याख्या गर्थे। बहादुर शाहका सेनाले पूर्वी नेपालको विजय गरेपछि राजासँग मिल्न नचाहेका पोखरेलहरू भुटान खेदाएको कथा पुर्खाको कहानीसँगै सुनाउँथे।

भाषाका विषयमा भएका विवादमा ताना शर्मा, चुणामणि रेग्मी आदिका नामसमेत जोडिएर आउँथे। तर, उनकी श्रीमती शान्तादेवीको मृत्यु हुँदाको उनको दुःखी अनुहारको सधैँ याद आइरहन्छ मलाई। उनी शान्तादेवीलाई असाध्यै माया गर्ने रहेछन्। हामी उनको घर पुग्दा घाम पश्चिमतिर पुगिसकेका थिए। हामीले धेरै कुरा गर्यौं। उनले शान्ता कसरी मरिन्, मर्ने बेला कस्तो भयो भन्ने सुनाइरहँदाको बखत उनका आँखाका डिलबाट पुर्लुक्क–पुर्लुक्क आँसुका ढिका झरेका थिए। पहेँलो घामतिर फर्किएको अनुहारको त्यो दृष्यमा पत्नीको विछोडले टाका हानेर कालो बनाइदिएको थियो। मैले विधुरको आँखामा झरेका आँसु पहिलो पटक देखेकी थिएँ। आजपर्यन्त उनका ती बगिरहेका आँखा र सौरी खण्डकाव्यको हेतु सुनाएको याद आउँछ। 

उनका वसन्त नामका थुप्रै उपन्यास बजारमा आएका बेला ती पुस्तकमा भएको प्रेम र यौनका विषय देखाउँदै कसैले श्रीमतीलाई उनको आफ्नै मायाको कुरा हो भनेर कुरा सुनाइदिएछ। शान्तादेवी दुःखी भएर रुष्ट हुँदा उनले सौरी खण्डकाव्य लेखेको भन्थे। उनले श्रीमती शान्तादेवीको नाममा विराटनगरमा वाणी प्रकाशनमार्फत् साहित्यिक पुरस्कार दिन अक्षयकोष पनि खडा गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशको प्रथम संस्करण समितिमा माधवप्रसाद घिमिरेको अध्यक्षतामा सदस्यका रूपमा उनले काम गरेका थिए। प्रज्ञा प्रतिष्ठानको एक कार्यकाल सम्पन्न गरेपछि पुुनः नियुक्त गर्न खोज्दा धनकुटामा राजासँग दर्शन–भेटको क्रममा क्षमा मागेर प्रज्ञामा बस्न इन्कार गरेका उनी प्रशासनिक कार्यभन्दा प्राज्ञिक कार्यमै रमाउने खालका थिए।

अवकाश जीवनको फुर्सदमा विराटनगरमा पनि उनले कुनै संगठनको काम गरेनन्। पूर्वका अधिकांश साहित्यिक कार्यक्रममा धेरै पटक प्रमुख अतिथि राखेपछि दिक्क भएर उनले प्रमुख अतिथिको शुल्क दरसमेत तोक्न थालेका थिए। कसैकसैले यसलाई नकारात्मक रूपमा टीकाटिप्पणी गरे पनि शुल्क तोकेपछि आफूलाई प्रमुख अतिथिको चाप घटेर सिर्जना र अनुसन्धानका लागि आवश्यक समय जोगिएको बताउने गर्थे। 

जेहोस्, विराटनगरको महेन्द्र मोरङ र स्नातकोत्तर क्याम्पसमा पढाएर जीवनको अधिकांश समय बिताएका उनको स्नातकोत्तर क्याम्पस स्थापना गर्न महत्वपूर्ण भूमिका थियो। आखिर मैले पनि त्यसै क्याम्पसमा स्नातकोत्तर गर्ने मौका पाएकी थिएँ। राजधानी बाहिर रहेकै कारण उनको प्रतिभाले भने जति सम्मान र चर्चा नपाएको भन्ने मत पनि पाइन्छ। हुन त ३१ वर्षकै उमेरमा २०२१ सालमा नेपाली भाषाको ग्रन्थका लागि मदन पुरस्कार प्राप्त गरेका थिए उनले। त्यसकारण उनमा भएको प्रतिभाको सीमान्त उत्पादन र प्रष्फुटनको उपयोगका लागि भने हामी पछि प¥यौं कि भन्ने पछुतो भने मनमा आज पनि उठिरहेको छ। 

 






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad