१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पानीजहाजबारे पुनः अध्ययन गरिने

काठमाडौं – पानीजहाज सञ्चालनका लागि भन्दै तीन साताअघि काठमाडौंमा कार्यालय स्थापना गरिए पनि त्यसबारे अझै अध्ययन गर्नु आवश्यक देखिएको छ। नेपाल र भारतका प्राविधिकसहितका अधिकारीहरूको दुईदिने स्थलगत अध्ययन र दुईदिने छलफलपछि पानीजहाज सञ्चालनका लागि पुनः अध्ययन गर्ने निर्णय गरिएको हो।

शुक्रबार काठमाडौंमा सम्पन्न संयुक्त बैठकमा दुवै देशका प्राविधिक परिचालन गरी जलमार्गको विस्तृत अध्ययन गर्ने सहमति भएको छ। बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासे तथा भारतीय अन्तरदेशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा छलफल भएको थियो। बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीले तत्काल जलमार्ग चलाउन सहज नदेखिएपछि पूर्ण रूपमा प्राविधिक सम्मिलित अर्को टोलीले गहिरो अध्ययन गर्नु आवश्यकता देखिएको बताए।

स्र्रोतका अनुसार नेपालका कोसी र नारायणी नदीमा पानीजहाज चल्न सक्ने÷नसक्नेबारे स्थलगत अध्ययनमा सहभागी सदस्यबीच नै कुरा बाझिएको थियो। केही सदस्यले नारायणी नदीमा पानीजहाज चल्नसक्ने धारणा राखेका थिए भने केहीले सम्भव नभएको बताएका थिए। ‘पानीजहाज चल्न नेपालतिर पानीको गहिराइ कम हुने र गण्डक नहरमा भारतले बनाएको ब्यारेजका कारण कसरी पानीजहाज नेपाल प्रवेश गराउने भन्ने समस्यामा कुनै उत्तर निस्कन सकेन,’ बैठकमा सहभागी एक सदस्यले भने। उनका अनुसार अहिलेकै अवस्थामा कोसी र नारायणी नदीमा पानीजहाज चल्न कठिन छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाउन सकिने भन्दै पटकपटक बोल्दै आएकाले अधिकारीहरूले सम्भव नभएको बताउन नसकेपछि त्यसलाई निकै कठिनाइका रूपमा लिइएको छ। त्यस्तै जलमार्ग निर्माणमा लाग्ने रकम कसले बेहोर्ने भन्नेबारे समेत अन्योल रहेको अधिकारीहरूको भनाइ छ।

अर्कोपटक अध्ययनका लागि भारतबाट दक्ष टोली आउने र तबसम्म राजनीतिक नेतृत्वबाट पानीजहाज चलाउनेबारे थप प्रस्टता आउन सक्ने मन्त्रालयका एक अधिकारीले बताए। अर्को टोलीले नेपालमा जलमार्ग पहिचानका लागि गर्ने भनिएको विस्तृत अध्ययनको मिति भने खुलाइएको छैन। त्यस्तै, पानीजहाज चलाउन नेपाल र भारतबीचको पारवहन सन्धिसमेत संशोधन गर्नुपर्ने देखिएको ती अधिकारीले बताए। हाल भारतले गंगा नदीमा जलमार्ग निर्माण गरिरहेको छ। सोही क्रममा पानीजहाज नेपालतिर भिœयाउन सकिन्छ कि भन्ने नेपाली अधिकारीहरूले आशा गरेका छन्। बैठकमा नेपाली पक्षले पानीजहाज सञ्चालनका लागि केही रुटको समेत सिफारिस गरेको छ। तर भारतीय पक्षले त्यसबारे कुनै प्रतिक्रिया नदिएकोे बताइएको छ। नेपालमा पानीजहाज चलाउने भनिए पनि त्यसको डिजाइनदेखि रुटसम्म भारतसँग नै निर्भर हुनुपर्ने अवस्था छ। पानीजहाज सञ्चालनबारे नेपाली टोलीलाई पूर्ण रूपमा प्र्राविधिक ज्ञानसमेत छैन।

प्रकाशित: २५ फाल्गुन २०७५ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App