१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नारी दिवस थाहा नपाएका नारी

बागलुङ मालढुङ्गामा फोहोरमा प्लाष्टिक टिप्दै गरेका महिला ।

बागलुङ - शुक्रबार ८ मार्च। अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस। बागलुङ नगरपालिका—२ स्थित ऐश्वर्य पार्कमा भव्य कार्यक्रम चलिरहेछ।

कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका छन्। कार्यक्रमस्थलबाट करिब पाँच किलोमिटर तल कालिगण्डकी किनारमा रहेकी हरिकला माझीलाई दिवसबारे कुनै जानकारी छैन। चासो पनि छैन। उनी एक धुनमा हातमा हथौडा लिएर गिट्टी कुटिरहेकी छन्। एक दिन मात्रै पनि गिट्टी कुट्न छुटाइन् भने उनको साँझ बिहान चुलो बल्दैन। ‘घरले जा जा र वनले आइज आइज’ भन्ने बेलाको उमेरमा पनि उनको दैनिकी फेरिएको छैन।

शुक्रबार दिउँसो कालिगण्डकी किनारमा गिट्टी कुट्दै गरको अवस्थामा भेटिएकी उनले अहिलेसम्म महिला दिवसबारे अहिलेसम्म नसुनेको बताइन्। ‘खै हामीलाई यो दिवसबारे कसैले केही भन्दैनन्, हामी त सधैं यहीमा काममा हुन्छौं,’ उनले भनिन्, ‘यो काम गरिएन भने घरमा भोकै बस्नुपर्छ।

दिवसबारे जान्ने सुन्ने फुर्सद पनि छैन।’ उनी आफू मात्र होइन सँगै काम गर्ने अरू कोही पनि त्यस्तो खालको कार्यक्रममा सहभागी भएको थाहा छैन। उनको घर पर्वतको कुस्मा नगरपालिका—१ मालढुङ्गामा पर्छ। गिट्टी कुट्न वारि बागलुङ आउँछिन्। 

उनको काम भनेको डम्पिङ साइटको कवाड छुट्याउनु हो। आफ्नो रोजगार दाता को हो उनलाई थाहा पनि छैन।

आफू मात्र हैन, छोरीलाई यसै पेसाबाट पालेकी छन् उनले। नेपालमा प्रजातन्त्र आएकै वर्ष २००७ सालमा जन्मिएकी उनलाई व्यवस्थासँग कुनै सरोकार छैन। श्रीमान् बितेको ५-६ वर्ष बित्यो । ‘दुई छोराहरू आआफ्नो काममा लागेका छन्। ‘छोरीको बिहे भए पनि श्रीमान् बितेपछि मैसँग बसेकी छे,’ उनी भन्छिन्, ‘छोरी बिरामी भएकोले सबै काम मैले नै गर्नुपर्छ।’

अहिले एक ट्रयाक्टर गिट्टीको मूल्य चार हजार रुपैयाँ पर्छ। एक ट्रयाक्टर गिट्टी पु-याउन उनलाई १५–२० दिनसम्म लाग्छ। ‘जम्मा चार हजार बुझ्छु, दुई हजार त एउटै चामलको बोरालाई पर्छ। महिनाको ६ सय रुपैयाँ कोठाभाडा तिरेर बसेको छु,’ दुखेसो पोख्दै उनले भनिन्। 

हरिकला माझीकै जस्तो कथा छ, मालढुङ्गाकै माया लामाको। उनी पनि हर दिन मालढुङ्गको खुद्रुकेमा रहेको बागलुङ नगरपालिकाको डम्पिङ साइडमा फालिएका कवाडी उठाएर गुजारा चलाउँछिन्। श्रीमानकाे आठ वर्षअघि नै गुमाएकी उनी दुई छोरीसँगै जीवन गजार्दै आएकी छन्। उनी मासिक आठ हजार रुपैयाँ कमाउँछिन्।

उनको काम भनेको डम्पिङ साइटको कवाड छुट्याउनु हो। आफ्नो रोजगार दाता को हो उनलाई थाहा पनि छैन। एक वर्षदेखि जेठी छोरीलाई पनि यही काममा लगाएकी छन्। कान्छी छोरी रामरेखा आधारभूत विद्यालयमा पढ्छिन्।

‘हामीले त दैनिक यही काम गर्ने हो, यसैबाट हामीले पेट पालेका छौं,’ लामाले भनिन्, ‘हामीलाई त बिदा पनि थाहा छैन, दिनदिनै फोहोरमा खेल्दा कहिलेकाहीँ लाज पनि लाग्छ। के गर्नु अरु उपाए पनि त छैन,’ उनले नरमाइलो गरी भनिन्, ‘कहिलेकाहीँ त यसको गन्धले बिरामी नै परिन्छ।’

फोहोरमा सिसा, सुईहरु पनि त्यत्तिकै छन्। त्यसबाट जोगिँदै उनी काम गर्छिन्। ‘यस्तोमा केही समस्या आए आफैं उपचार गर्नुपर्छ, उपचार गर्ने कि घरको छाक टार्ने ?’ संवाददातालाई उनले प्रश्न गरिन्।  अन्तर्राष्ट्रिय महिला दिवसको दिन दिइएको सार्वजनिक बिदाले उनलाई उल्टै झमेला थपिदियो। भनिन्, ‘हामीलाई बिदा हुँदैन, आज छोरीहरु स्कुल जाँदैनन्,’ उनले थपिन्, ‘साना छन्, एक्लै छोड्न पनि सक्दिनँ। सँगै ल्याउँदा पनि जोगाउन मुस्किल छ।’

उनी १४-१५ वर्षदेखि त्यहीँ काम गरिरहेकी छिन्। माझी र लामा मात्रै होइन, उनीहरु जस्तै श्रमिक महिलाहरुलाई ८ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसको कुनै पनि रौनकले छोएन।

प्रकाशित: २४ फाल्गुन २०७५ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App