१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दसैंयाममा कलाकारलाई सुटिङकै चटारो

काठमाडौं–दसैं मनाउन सर्वसाधारणलाई भ्याइ नभ्याई भएका बेला चलचित्रका कलाकारलाई भने चलचित्रको सुटिङकै चटारो छ।     नायिका रेखा थापा आफ्नो नयाँ चलचित्र ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमारामा व्यस्त छन्। ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले भनिन् फरक अवतारले पनि नारीकै कथा बोल्छ।’
जहाँसम्म नेपाली चलचित्रको इतिहास छ। हिरोहरुका हातमा नै हिरोइज्मको कब्जा रहेको पाइन्छ। तर, रेखा थापाले काली, हिम्मतवाली, रामप्यारी, रावणलगायतका चलचित्रबाट हिरोइनका हातमा हिरोइज्म पुर्याउन सफल भइन्। यही छाप उनले डायरीमा पनि छाडेकी छैनन्।

‘हिरोहरु डन बनेको चलचित्र त दर्शकले धेरै हेरे होलान तर हिरोइनले पनि त्यस्ता खालका भुमिकामा न्याय गर्न सक्छन् भनेर मैले डायरीबाट देखाउँछु ’,रेखा थप्छिन् ,‘अन्याय भएपछि नारीले पनि हातमा हतियार उचाल्न पछि पर्दैनन्।’

माया, प्रेम, धोका र सामाजिक विकृति यसैको आसपासमा डायरीको कथा घुमेको छ। नायिका छुल्ठिम गुरुङले निर्माण गरेको चलचित्र डायरीमा नयाँ नायक हनि सिंह छन्। क्लासिक र नोभेम्भर रेन जस्तो सफल चलचित्रको कथा लेखेका छितेन गुरुङले पटकथा सम्हालेका छन्। डायरी एउटा फरक कथा बोकेको व्यवसायिक चलचित्र भएको निर्मात्री छुल्ठिम उल्लेख गर्छिन्।

छक्कापञ्जाकी हिट नायिका प्रियंका कार्की पाल्पामा राधेको सुटिङमा रमाउँदै छन्। निखिल उप्रेती नायक रहेको राधेमा एउटी गाउँले नारीपात्रमा प्रियंकाले अभिनय गरेकी छन्। अरु चलचित्रमा हट देखिने प्रियंकाको गाउँले रुप राधेमा देख्न दर्शकले पाउनेछन्। नामैले त्यो निखिलको एक्सन् प्रधान चलचित्र भएकाले प्रियंकाले अभिनयबाटै दर्शकको मनमा छाउने प्रयंत्न गर्नेछिन्। फुलपाती अघि राधे सकाएर उनी लण्डनमा मिलन चाम्सको ह्याप्पी डेजको सुटिङका लागि गइन्।

‘दसैं तिहार त मेरो सुटिङमै बित्छ,’ प्रियंकाले भनिन्,‘कलाकारको लागि यो व्यस्तता नै धन हो।’ राधे सुशील घिमिरेको निर्माण र जगदिश्वर थापाको निर्देशनमा बन्दै गरेको चलचित्र हो। राधे अघि नायक निखिल उप्रेतीको निर्भय चलचित्रको चितवनमा सुटिङ सकिएको थियो।

उता वर्षभरीकै व्यस्त नायक दयाहाङ राई र नायिका केकी अधिकारी घामपानीको सुटिङमा पूर्वी पहाडमा व्यस्त छन्। तामाङ केटाले बाहुन केटीसँग ल्याउने जातीय विभेदको समस्यामा  भगाएर लैजाने कथाले दर्शकको मन जित्न कस्तो खालको कथानकता ल्याउँछ त्यो भने हलमा पुगेपछि नै थाहा हुन्छ। चलचित्र समिक्षामा अब्बल मानिने दिपेन्द्र लामा निर्देशक बनेकाले लामाका लागि पनि यो चलचित्र महत्वपूर्ण रहेको छ । राईको झुम्की यतिबेला देशका विभिन्न हलमा लागेको छ।

नायिका निता ढुंगाना बाग्लुङमा पञ्चायत चलचित्रको सुटिङमा रमाईरहेकी छिन्। अभिनय राम्रो भएपनि हलमा त्यति चल्न नसकेकी नीता पञ्चायतबाट भने आशावादी छिन्। पचास वर्ष पुरानो पञ्चायतकालीन अवस्थाको चित्रण रहेको यस चलचित्रमा नायक सरोज खनाल र रुपा रानाको पनि अभिनय रहनेछ। कथाले मागेको सिन दिनकै लागि बाग्लुङमा सुटिङ भैरहेको निर्माता रवि अधिकारीले बताए। चितवनबाटै चलचित्र क्षेत्रमा उदाएका निर्माता भगवानदास श्रेष्ठले कान्छी ,मायाप्रिती लगायतका थुपै्र चलचित्रले इतिहास कोरे । त्यही क्षेत्रबाट निर्माता पथमा लागेका अधिकारी राम्रो चलचित्र बनाए दर्शकको मन जित्न सकिने सुनाउँछन् ।

 हलमा हिट भैरहेको चलचित्र छक्कापञ्जाकी निर्देशक दिपाश्री निरौला भने तिहारपछि नयाँ चलचित्रको योजनामा जुट्दैछिन् । ‘अब झन बढी जिम्मेवारी थपिएको छ ,’उनले भन्नि ,‘राम्रो कथा लिएर फेरि आउने छु । ’

 

प्रकाशित: २५ आश्विन २०७३ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App