१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

ओखलढुंगामा आपसमा ठोक्किएका बस र सुमो। तस्बिर : शरेबहादुर जेरो

काठमाडौं – भक्तपुर र ओखलढुंगामा भएका सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। भक्तपुर संवाददाताका अनुसार मध्यपुरथिमी नगरपालिका–२ सानोठिमी ओरालोमा बिहीबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३—०२—००२ प ६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

पहिलो मोटरसाइकलको ठक्करबाट लडेको दोस्रो मोटरसाइकललाई बा.२.ख ४८६८ नम्बरको बसले समेत ठक्कर दिँदा दोस्रो मोटरसाइकलका चालक काभ्रेको देउपुर–३ घर भई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ बोडे बस्ने गरेका २४ वर्षीय सन्तोष राईको मृत्यु भएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ। गम्भीर घाइते अवस्थामा भक्तपुरकै गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएका राईको उपचारका क्रममा मृत्यु भएको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए। ठक्कर दिने मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका–३२, पेप्सिकोलाका २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बसका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ घर भई पुरानो ठिमी बस्ने २४ वर्षकै ताराबहादुर तामाङलाई ठिमीस्थित महानगरीय प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

यस्तै ओखलढुंगा संवाददाताका अनुसार मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस आपसमा ठोक्किदा ६ यात्रु घाइते भएका छन्। काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र सोलुखुम्बुुको नेलेबाट काठमाडौं जाँदै गरेको ना १ ज ७०९४ नम्बरको सुमो फिक्कल गाउँपालिका–५, झँगरेमा ठोक्किएका हुन्। दुर्घटनामा सुमोका ६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये सोलुखुम्बु नेलीकी ८० वर्षीया देवकुमारी खत्रीको अवस्था गम्भीर रहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक षडानन्द यादवले जानकारी दिए। खत्रीको हात भाँचिनाका निधारमा गहिरो चोट लागेको छ। थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ। अन्य पाँच घाइतेको उपचार भने उदयपुरको घुर्मीमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App