सरकारप्रति दाहाल निराश

शुक्रबार, २४ फागुन २०७५, ०६ : ५९ टपेन्द्र कार्की

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् ।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसामु सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको, समीक्षा गर्नुपर्ने बताएका छन् ।

ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नुपर्ने दोहोर्याए । ‘दिवंगत नेताहरुको चाहना तथा उहाँहरुले जनतासँग भोट मागेअनुसार सरकारमा बसेर हामीले काम गर्न सकेका छौं कि छैनौं, अहिले आएर सरकारको समीक्षा पनि गर्नुपर्ने अवस्था आएको छ । यो विषयमा पार्टीभित्र पनि कुरा उठेको छ’, उनले भने ।

फागुन ११ गते भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटनका क्रममा दाहालले कहिलेकाहीं आफूलाई पनि राजनीति छोडेर खेती गर्न जाऊँ कि जस्तो लाग्ने गरेको अभिव्यक्ति दिए । ‘समृद्धिको यात्रा भनेको कृषिको आधुनिकीकरण र रोजगार वृद्धि हो,’ दाहालले भने, ‘हामीले ठूला कुरा गर्दै आएका छौं तर कृषि उत्पादनका उपभोक्ता र कृषकको दूरी घटाउन सकेका छैनौं ।’

उनले बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थितिमै सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको भन्ने समीक्षा गर्नुपर्ने बताए । दाहालबाट सरकारको समीक्षाको कुरा किन आइरहेको छ ? नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्नुपर्छ भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए । सरकारमा रहने र सरकारका कामकारबाहीका विषयमा किन आलोचना भइरहेको छ भन्नेबारेमा समीक्षा गरौं भन्ने कुरा उठिरहेको उनले बताए । ‘गएको स्थायी कमिटी बैठकमा यो विषयमा कुरा उठेको थियो तर सरकारको समीक्षा गर्नकै लागि छुट्टै बैठक बस्ने भनेपछि त्यस बेला समीक्षा हुन सकेन र सरकारको समीक्षाकै लागि भनेर बैठक पनि बस्न सकेन त्यस कारण दाहालले प्रधानमन्त्रीका अगाडि समीक्षाको कुरा उठाउनुभएको हुनसक्छ’, उनले भने ।

राजनीतिक विश्लेषक झलक सुवेदीले दाहालको अभिव्यक्ति प्रधानमन्त्री र सरकारविरोधी नभई सरकारले गरेका कामकारबाहीप्रति जनस्तरमा उठेका प्रश्नको सम्बोधनका लागि आएको हुन सक्ने बताए । ‘भक्तपुरको कार्यक्रममा उठाइएको विषयचाहिँ युवालाई सम्बोधन गर्ने तहको देखिन्छ भने बिहीबारको अभिव्यक्तिमा सरकारको गतिविधिबारे विभिन्न कोणमा जनस्तरमा भइरहेका टीकाटिप्पणीलाई सम्बोधन गर्ने अभिप्राय देखिन्छ’, विश्लेषक सुवेदीले भने । उनले पार्टीभित्र समेत विभिन्न प्रश्न उठेको बताउँदै सरकारको कामको समीक्षा गर्दा टीकाटिप्पणी कम हुन सक्ने कोणबाट पनि दाहालको अभिव्यक्ति आएको हुन सक्ने बताए ।

दाहालले सोही कार्यक्रममा मानिसको मृत्युबारे पहिलोपल्ट आफ्नो परिभाषा सुनाएका थिए । ‘मृत्यु कि प्वाँखजस्तो हलुको कि पहाडजस्तो भारी हुन्छ । अधिकारीद्वयको निधन पहाडजस्तो गह्रौं भएको छ’, दाहालले भने, ‘हाम्रो मृत्यु कस्तो बनाउने त्यो हाम्रै हातमा छ ।’

‘हामी केही लिएर जाँदैनौं धन, पैसा र घर लाँदैनौं, नांगै जान्छौं,’ दाहालले मानिसको निधनबारे गीतासार सम्झँदै भने, ‘यो पनि समीक्षा गरौं ।’ सरकारले गरेका कामकारबाहीबारे जनस्तरमा चर्चापरिचर्चा चलिररहेका बेला दाहालले सार्वजनिक कार्यक्रममै कुरा उठाएपछि यसलाई राजनीतिक रुपमा हेर्न थालिएको छ । पार्टी एकीकरण हुँदा प्रधानमन्त्रीको कार्यकाल दुई अध्यक्षबीच बाँड्ने भद्र सहमति भएको विषयलाई यो प्रसंगमा जोडेर हेर्न थालिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार पाँच वर्ष चल्ने अभिव्यक्ति दिएका थिए भने सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सरकार निर्धक्क पाँच वर्ष चल्ने दाबी गरेका थिए ।

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको यस्तो दाबीपछि दाहालको अभिव्यक्ति आएको आशंका पनि गरिएको छ । पार्टी स्थायी कमिटीको बैठकमा सरकारको समीक्षा गर्ने विषयमा कुरा उठे पनि प्रधानमन्त्री अग्रसर नभएपछि दाहालको अभिव्यक्ति आएको पनि आशंका गरिएको छ ।

दाहालले सरकारको समीक्षा गर्नुपर्छ भनेपछि प्रधानमन्त्री ओलीले यो सरकारले असाधारण काम गरिरहेको छ भनेका थिए । ‘यो सरकारले असाधारण काम गरिरहेको छ । हुन त अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउने समय छ, केही भएन हुँदै भएन भन्ने कुरालाई मानिसहरुले भनिरहेकै हुन्छन् तर पनि यो सरकारले राम्रो काम गरेको छ’, दाहालको अव्यिक्तिपछि उनले भने ।

सचिवालय बैठक बोलाउन माग
पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारको समीक्षा गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेसँगै नेकपाका शीर्ष चार नेताले केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेका छन् । १० फागुनपछि सचिवालयको बैठक बस्न नसकेको अवस्थामा शीर्ष चार नेताले बैैठक तुरुन्तै राख्न माग गरेको स्रोतले बतायो ।

पार्टी एकताका लागि गठन गरिएको कार्यदल विघटन गरेपछि बैठक बस्न सकेको छैन । स्रोतका अनुसार केन्द्रीय सचिवालयमा रहेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी एकतासम्बन्धी कार्य टुंग्याउन बैठक आवश्यक रहेको भन्दै सचिवालयको बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगको कुराकानीमा बैठक बोलाउनुपर्ने बताएका थिए । ‘निरन्तर बस्नुपर्ने बैठक रोकिएको धेरै दिन भयो । विभिन्न कारणले रोकिएको भए पनि अब ढिलाइ गर्नुहुँदैन । छिटै बैठक बसेर एकता प्रक्रिया टुंग्याउनुपर्छ । त्यसकारण बैठक आवश्यक भएको हो’, स्रोतले भन्यो ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad