१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एउटा अलग कान्तिपुर गाथा

शेखर खरेल
नोबल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकले ‘इस्तानबुल’ माथिको आफ्नो संस्मरणात्मक निबन्धमा मानिसको ‘इपिसेन्टर’ त्यही हो जहाँ ऊ जन्मिएको हुर्किएको हुन्छ भनेका छन्। इस्तानबुलका सडक र चोक मात्र नभएर त्यहाँका मानिसदेखि कुकुरसम्म आफ्ना स्वजन रहेको चर्चा पामुकले निबन्धमा गरेका छन्। मेरो जन्म र हुर्काइ काठमाडौंमा भएकाले मलाई सधँै आफ्नो यस ‘इपिसेन्टर’ ले उत्साहित, द्रवित र दुस्खी बनाउँछ।

पछिल्लो समय काठमाडौंको विनासोन्मुख ‘विकास’, यत्रतत्र फोहोर, खाल्डाखुल्डी सडक, धुवाँ–धुलोदेखि सडक जाम र सार्वजनिक यातायात र आवागमनको सकसपूर्ण स्थितिले सोचमग्न बनाएको छ। अघिल्लो पुस्ताबाट पाएको खुला, सुन्दर र कलापूर्ण यो शहर अब आउने पुस्तालाई कस्तो अवस्थामा हस्तान्तरण गर्दैछौं भन्ने सोच मात्रले पनि विचलित बनाउँछ। विकासको जस्तो ‘न्यारेटिभ’ हामी बनाउँदै छौं, त्यसबाट कतै हामी दोमिनिक लापिएरको कलकत्ता अर्थात् ‘डेड सिटी’ को समकक्षमा पुग्दै त छैनौं भन्ने भयले सताउँछ। बरु, हिजो अस्तव्यस्त कलकत्ता जस्ता धेरै शहरले आज पुनर्जीवन पाइरहेका छन्। तर, कान्तिपुरी नगरीले कहिले आफ्नो कान्ति फर्काउला, उत्तर शायदै कोहीसँग होला। 

चिप्ला सडक र अग्ला भवनबाट शहरको वैभव आँक्न सकिँदैन। वैभवशाली शहर ती हुन्, जहाँ ‘ओपन’ (खुला) र ‘पब्लिक (सार्वजनिक) स्पेस’ प्रशस्तै हुन्छन्। ‘ओपन स्पेस’ शहरको फोक्सो हो भने ‘पब्लिक स्पेस’ चाहिँ मुटु र मस्तिष्क। कंक्रिटको जंगलको कोलाहलमा उकुसमुकुसिएका नगरवासी खुला ठाउँमा टहल्दै तनाव बिसाउन सक्छन्। त्यसैगरी, उनीहरू नगरका सार्वजनिक ठाउँमा आयोजना हुने मनोरञ्जनात्मक कार्यक्रम र वौद्धिक विमर्शमा सहभागिता जनाउँदै मस्तिष्कको खुराक जुटाउन सक्छन्। 

के हाम्रो राजधानीमा जनसांख्यिक अनुपातका यस्ता स्थलहरू छन् त ? यदि यो प्रश्न दुई दशक अघि सोधिएको भए, उत्तर ’छ’ भन्ने हुन्थ्यो। तर, अहिले शहर खुम्चिएझैं यस्ता ठाउँ पनि शून्यमा शून्यसरी विलाएका छन्। हाम्रा पुर्खाहरूले शहरमा चौर, चोक, डबली, पाटी, पोखरी र ढुङ्गेधारा प्रशस्तै बनाइदिएका थिए। तीमाथि अतिक्रमण नहोस् भनेर ती राज्य र गुठी राखिन्थे। मुलुकमा आधुनिताको प्रवेशपछि प्राकृतिक चौर र जङ्गगल मात्र काफी रहेन। योजनाबद्ध पार्क र उद्यानहरू निर्माण गरिए।

रत्नपार्क, भुगोल पार्क, बालाजु र गोदावरी उद्यान, भृकुटीमण्डप, शंख पार्क आदि यसका उदाहरण हुन्। तर, जनसांख्यिक हिसाबले जसरी पार्कहरू थपिँदै जानु पर्दथ्यो, त्यो हुन सकेन। वरू भएका पर्ती र ऐलानी जग्गाहरू हडप्न थालिए। शहरमा आकाशिदो जग्गाको मूल्यका कारण खुला क्षेत्रहरूमाथि गिद्धे दृष्टि पर्न थाले। ऐतिहासिक र सम्पदास्थल कौडीको मूल्यमा लिज वा भाडामा दिन थालियो। महानगरपालिकाले धरहरा कसरी कौडीको मूल्यमा एउटा निजी कम्पनीलाई दिएको रहेछ र त्यस कम्पनीले आगन्तुकको बिमाविना नै धरहरा चढाइरहेको तथ्य सम्बत २०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छताछुल्ल भयो।

अहिले फेरि महानगरपालिकाले एउटा विवादास्पद कम्पनीका लागि भ्यू टावर बनाउनका लागि पुरानो बस पार्क लिजमा दिएपछि हाम्रो सबैभन्दा गौरवशाली ‘पब्लिक स्पेस’ खुलामञ्च शहरको बसपार्कमा परिणत भएको छ। शहरका कुइनेटोका स–साना चौर र खोला छेउछाउका पर्ती जग्गाहरू अहिले ‘रैकर’ बनिसकेका छन्।

एक दशकअघि काठमाडौंमा सडक चौडा पार्ने अभियान चलाइयो। शस्त्र सुसज्जित प्रहरीबलको आडमा गरिएको सडक विस्तार कतिपयका निम्ति विकास कम डोजर आतंक बढी थियो। किनकि, पुस्तौंदेखि बस्दै आएका उनीहरू अनायासै विस्थापित हुन पुगे। आफ्नो थातथलो गुमाउन पुगेका उनीहरूको फरियाद सुनिदिने कोही रहेन, न त उचित मुआब्जा नै दिइयो। सडक विस्तार प्रतिरोध गर्नेहरूलाई विकास विरोधीको बिल्ला भिराइयो। विस्तारका कारण घरहरू मात्र ढलेनन्, देवीस्थान र देवल, रूख र चौतारा, इनार र सार्वजनिक धारासम्म नामेट भए। निश्चय नै सडक विस्तारपछि सवारी आवागमन केही सुचारु भएको छ।

तर, योजनाविद् र प्रशासनको ध्यान सडकमा कसरी गाडी गुडाउने भन्ने चिन्तामा मात्र सीमित रह्यो। सडकअनुसार फुटपाथ बनेनन्। काठमाडौं यस्तो शहर बन्न पुग्यो जहाँ कतै हिँड्दा–हिँड्दै फुटपाथ साँघुरिन्छ भने कतै त्यो साँघुरिएको फुटपाथ पनि बिलाउँछ। पैदल यात्रुहरू नगरको रैथाने खेल तेलकासा खेले जसरी कहिले फुटपाथ चढ्छन् त कहिले सडक ओर्लिरहेका हुन्छन्। योजनाविहीन विकासले मानवीय र सामाजिक पक्षलाई कुन हदसम्म उपेक्षा गर्दछ भन्ने कुराको पछिल्लो उदाहरण कलंकी–कोटेश्वर सडक हो। चौडा र चिप्ला बनाइएको चक्रपथको यस खण्डमा गाडी रफ्तारमा गुड्न त सक्छन्, तर पैदल यात्रु सडक वारपार गर्न कम्तीमा दुई किलोमिटर हिँडेपछि मात्र आकेशे पुल भेटाउन सक्छन्। विडम्बना कस्तो भने एक छिमेकीलाई अर्को छिमेकीबाट छुट्याउने विकासको यो ‘मोडल’ मा पैदल यात्रुका लागि फुटपाथ कतै छैन।

फुटपाथ यात्रुको ओहर–दोहोर गर्ने सडक खण्ड मात्र होइन। यो एउटा ‘पब्लिक स्पेस’ पनि हो। युनेस्कोको परिभाषाअनुसार प्लाजा, स्क्वायर र पार्कलगायतका सार्वजनिक जमघटका स्थलदेखि फुटपाथ र सडकजस्ता सार्वजनिक ओहोर–दोहोरका क्षेत्र पनि ‘पब्लिक स्पेस’ हुन्। शिक्षाविद् केदारभक्त माथेमा त फुटपाथको साइनो लोकतन्त्रसँग नै गास्नु हुन्छ। माथेमाको तर्क हुन्छ, ‘जुन देशमा फुटपाथ फराकिला हुन्छन्, त्यस देशको लोकतन्त्र पनि उन्नत हुन्छ। साँघुरा फुटपाथ भएका देशमा लोकतन्त्र पनि निस्सासिएको हुन्छ।’ फुटपाथमा हिँड्ने एक आमनागरिक अर्थात् ‘कमनर’ को अधिकार रक्षा गर्ने राज्य नै वास्तवमा लोकतान्त्रिक मुलुक हुन्। बेलायत, फ्रान्स र स्केण्डेभियाली मुलुकदेखि जापान र कोरियामा लोकतन्त्र किन मजबुत र उन्नत छ भन्ने कुराको उत्तर फुटपाथ वा ‘पब्लिक स्पेस’ को चश्माबाट नियाल्दा पनि पाइन्छ। 

फुटपाथलगायतका ‘पब्लिक स्पेस’ व्यक्तिको वैयक्तिक वा लोकतान्त्रिक अधिकारसँग मात्र सीमित हुन सक्दैनन्, यी सांस्कृतिक र साहित्यिक खोजीका विषय पनि हुन्। प्राचीन र माध्यमिक कालमा काठमाडौं (कान्तिपुर) हिन्दू र बौद्ध धर्मका साधु, भिक्षु र दार्शनिकका लागि ‘क्रसरोड’ रह्यो। कान्तिपुरको धार्मिक र सांस्कृतिक वैभवको ख्याति देश–देशावरसम्म फैलिएको थियो। तैपनि जहानिया र निरंकुश शासनका कारण नेपाल र खासगरी काठमाडौं विदेशीका लागि लामो समयसम्म बन्द प्रायः रह्यो। सात सालको परिवर्तनसँगै पश्चिमा संसारका लागि हठात् खुलेको यो शहर समयक्रममा आधुनिकताकातर्फ पाइला सार्न थाल्यो।

अझ, सन् साठीको दशकमा ‘काउन्टर कल्चर’ (प्रति सांस्कृतिक) समूह र हिप्पीका आकर्षक गन्तव्य बनेपछि काठमाडौं अन्तर्राष्ट्रिय साहित्य र संगीतमा समेत समेटियो। हिप्पी इराका बेलायती गीतकार एवं गायक क्याट् स्टेभेन्सको ‘काठमाण्डू, आई स्याल वी सिइङ् यू’, अमेरिकी रक गायक बब सिगरको ‘काठमाण्डू’ बोलको गीत, अमेरिकी निबन्धकार एवं यात्रा लेखक पिको अयरको ‘भिडियो नाइट्स इन काठमाडौं’, आइरिस मूलका भारतीय लेखक डेसमण्ड ड्वाइगको सचित्र पुस्तक ‘माइ काइण्ड अफ काठमाण्डू’ आदिले काठमाडौंको बन्द सांग्रिला छविलाई निर्माण गर्दै यस प्राचीन शहरलाई विश्व रङ्गमञ्चसँग जोडिदिए। हिप्पी युगमा ‘हिच हाइकिङ्’ मार्फत काठमाडौं आएका प्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोहेलोको पछिल्लो कृति ‘हिप्पी’ आधुनिक काठमाडौं महात्म्य हो।

दक्षिण एसियाली फ्लानर सिटी
दक्षिण एसियामा नेपालको अलग र विशिष्ट पहिचान छ। र, यस अलग पहिचानका अवयव यस शहरका इतिहास, सम्पदा, स्मारक र जीवन्त संस्कृति हुन्। दक्षिण एसियाका चण्डिगढ (भारत) र इस्लामावाद (पाकिस्तान) झैं काठमाडौं कुनै वास्तुकारले टेबलमा नक्सा कोर्दै रातारात बनाएको शहर होइन। एक शासकपछि अर्को शासकले एक–एक इँटा थप्दै र एक पुस्तापछि अर्को पुस्ताले सांस्कृतिक रङ्ग भर्दै काठमाडौंलाई वैभवशाली बनाएका हुन्, जसको आकर्षण शहरको हचुवा विकासका प्रयास र अस्तव्यस्तताका बाबजुद पनि आजपर्यन्त कायम छ। काठमाडौं स्वदेशी र विदेशी सर्जक र फ्लानरका प्रिय शहर पनि हो।

फ्रान्सेलीहरूले चोक, बुलभार्ड र प्राचीन सम्पदा, स्मारक आदि चाहरिरहने अस्थिर मानिसलाई ‘फ्लानर’को नाम दिएका छन्। लेखक एवं प्राध्यापक अभि सुवेदीले आफ्नो कृति ‘फ्लानरको डायरी’ मा काठमाडौंले उनलाई कसरी आकर्षित गरेको छ भन्ने कुराको विषद् वर्णन गरेका छन्। मझौला आकारको काठमाडौंको भित्री बस्ती पैदलै छिचोल्न सकिन्छ। तर, शहरको यो विशेषतालाई  हराउँदो फुटपाथ, जीर्ण सम्पदा र स्मारक, मिचिएका चोक र डबली, जथाभावी सवारीको आवागमन र पार्किङले चुनौती दिँदै आएका छन्।  

त्यसैले कान्तिपुरको वैभव कायम राखिराख्ने हो भने अहिलेको विकासको ‘न्यारेटिभ’ नै बदल्नु जरुरी छ। विकासको ‘इपिसेन्टर’ मा यहाँको मानिस र यस शहरको वैभवको विरासत राखिए, कान्तिपुर आफ्नो कान्तिका साथ जीवन्त रहिरहनेछ। 

प्रकाशित: २३ फाल्गुन २०७५ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App