१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सकियो पानीजहाज अध्ययनको स्थलगत भ्रमण

काठमाडौं - नारायणी र कोसी नदीमा पानीजहाज चलाउन सकिने/नसकिनेबारे नेपाल र भारतका उच्च अधिकारीले स्थलगत अध्ययन गरेका छन् । पानीजहाज चलाउने विषय नेपाली प्राविधिकका लागि नयाँ भएकाले दुई देशका अधिकारीहरूले संयुक्त रूपमा सम्भाव्यता अध्ययन गरेका हुन् ।

नारायणी र कोसी नदीको स्थलगत अध्ययनपछि बिहीबार दुई देशका अधिकारीबीच र शुक्रबार व्यापारिक समूहबीच हुने छलफलले थप प्रक्रिया प्रस्ट हुन सक्ने

अबको प्रक्रियाबारे पूर्ण रूपमा टुंगो नलागे पनि दुवै नदीमा पानीजहाज चल्न सक्ने सम्भावना देखिएको नेपाली टोलीका संयोजक एवं जल  तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेले बताए । नेपालमा पहिलोपटक पानीजहाज चलाउने प्रक्रिया सुरु भएकाले त्यसबारे धेरै विषयमा प्रस्ट हुन बाँकी रहेको अधिकारीले बताएका छन् । 

नारायणी र कोसी नदीमा पानीजहाज चलाउनका लागि गरिएको स्थलगत अध्ययनमा सहभागी भारतीय टोलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । ‘नारायणी र कोसी नदीको स्थलगत अध्ययनपछि बिहीबार दुई देशका अधिकारीहरूबीच र शुक्रबार व्यापारिक समूहबीच हुने छलफलले थप प्रक्रिया प्रस्ट हुँदै जालान्,’ बेल्वासेले भने । 

यतिखेर नेपाली टोली पानीजहाज चलाउन कस्तो जलमार्ग बनाउनेदेखि लिएर नेपालको कुन स्थानसम्म पानीजहाज ल्याउन सकिन्छ भन्नेबारे भारतीय पक्षसँग निर्भर छ । सकभर ठूला पानीजहाज आउने गरी जलमार्ग बनाउने र चाँडो काम होस् भनेर आग्रह गर्नेबाहेक अरु अवस्थामा नेपाली अधिकारीहरू छैनन् । कोसी र नारायणी नदीमा पानीजहाज चल्न सक्ने अवस्था देखिएपछि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु हुनेछ । जसका लागि सरकारले निर्णय गर्नुपर्ने हुन्छ । 

डिपिआरको क्रममा नै नेपालसम्म पानीजहाज ल्याउन लाग्ने बजेट र कुन आकारका पानीजहाज आउन सक्छन् भन्नेबारेको टुंगो लाग्ने बताइएको छ । पानीजहाज सञ्चालन हुन सक्ने वा नसक्नेबारे निर्णय हुन बाँकी रहे पनि सरकारले अघिल्लो महिना पानीजहाज कार्यालयको स्थापना गरिसकेको छ ।  

नेपालले एक्लै पानीजहाज चलाउने अवस्था नरहेकाले दुई देशका अधिकारीहरूले स्थलगत अध्ययन गरेका हुन् । भारतले सन् २०२० सम्म नेपालसँग नजिक रहेका समुद्रमा पानीजहाज चलाउने तयारी गरेपछि नेपाल पनि सीमादेखि भित्रका नदीमा पानीजहाज चलाउन इच्छुक देखिएको हो । 

हाल नेपालले विभिन्न मुलुकबाट सामान आयात गर्दा भारतको कलकत्ता बन्दरगाह प्रयोग गरिरहेको छ । जसले गर्दा नेपालमा आयात हुने सामानको लागत महँगो पर्ने गर्छ । नारायणी र कोसीमा पानीजहाज चलाउन सक्ने हो भने अहिलेको लागत निकै सस्तो पर्ने अधिकारीहरू दाबी गर्छन् । 

नेपाली सीमातर्फको नारायणी नदीदेखि भारतको गंगा नदीसम्मको दूरी तीन सय किलोमिटर छ । अर्को वर्षसम्म भारतले गंगा नदीमा पानीजहाज चलाउने प्रयास गरिरहेको छ । हाल गंगा नदीदेखि करिब साढे आठ सय किलोमिटर टाढाको समुद्रमा भारतले पानीजहाज चलाइरहेको छ । गंगा नदीमा पानीजहाज आउन सक्ने भन्दै भारतले निर्माण कार्य सुरु गरेपछि नेपाली अधिकारीहरूले तुलनात्मक रूपमा साना भए पनि नारायणी नदीमा पानीजहाज चल्न सक्ने अनुमान लगाइरहेका छन् । त्यस्तै कोसीदेखि दुई सय ४० किलोमिटर टाढा गंगा नदीमा पानीजहाज पुर्याउन भारत पूर्वाधार तयारीमा जुटिरहेको छ ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App