१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी भिडन्तमा मारिएका अहम्मद केडिया अपहरणमा संलग्न रहेकाे दाबी

पर्सा- आपराधिक घटना घटाउन वीरगन्ज आएका एक जना भारतीय अपराधी प्रहरीसंगको भिडन्तमा गएराति मारिएको छ । मारिएको भारतीय अपराधी विहार समस्तीपुर जगमोहरा–५ का दिलशाद अहम्मद रहेको जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइयो ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठका अनुसार वीरगन्ज उपमहानगरपालिका–१८ शिरोमणि टोलको कच्ची बाटोमा प्रहरीसँगको भिडन्तका क्रममा ती भारतीय अपराधी मारिएको हो । वीरगन्जमा आपराधिक घटना घटाउने उद्देश्यले हातहतियारसहित आएका अहम्मद घटना घटाउनुभन्दा पहिला नै प्रहरीसँग भएको भिडन्तमा मारिएको प्रहरी उपरीक्षक श्रेष्ठको दावी छ ।

भारतीय नम्बरको मोटरसाइकलमा सवार भई शिरोमणि टोलबाट वीरगन्ज नगरमा प्रवेश गर्न लागेका अहम्मदलाई गस्तीमा रहेका सुरक्षाकर्मीले सोधपुछका लागि रोक्न खोज्दाँ अहम्मदले प्रहरीलाई लक्षित गरी गोली चलाउन खोज्दा प्रहरीले गरेको जवाफी कारबाहीमा उनी मारिएको उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरी कारबाहीमा मारिएका अहम्मद उद्योगपति सुरेश केडियाको अपहरणलगायत ३० भन्दा बढी आपराधिक घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको दावी उपरीक्षक श्रेष्ठको छ । अपहरण, लुटपाट, हत्याको प्रयास, फोन धम्कीलगायतका अपराधमा अहम्मदलाई विगत लामो समयदेखि नेपाल प्रहरीले खोजिराखेको पनि उनले जानकारी दिए ।

प्रहरी कारबाहीमा मारिएको अहम्मदबाट बरामद भएको एक थान नलकटुवा पेस्तोल सोमा प्रयोग हुने चार थान गोली, अहम्मदको परिचय खुल्ने भारतीय आधार कार्ड, एक थान भारतीय नम्बरको सिम कार्ड भएको मोबाइल फोन, केही नगद पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकको अफन्तलाई भारतीय प्रहरीमार्फत खबर गरिए पनि शव बुझ्न परिवारका कुनै सदस्य हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २४ आश्विन २०७३ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App