१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जर्मन सांसदको शान्ति प्रक्रियाबारे चासो

काठमाडाैं – पाँच दिने औपचारिक नेपाल भ्रमणमा रहेको जर्मन सांसदको टोलीले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेको छ। फागुन १७ देखि नेपाल भ्रमणमा रहेको संसदको टोलीले भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय, मानव अधिकारलगायतका विषयमा छलफल गरको छ। उनीहरूले नेपालको शान्ति प्रक्रिया मौलिक किसिमको भए पनि शान्ति प्रक्रियाका महत्वपूर्ण पक्ष द्वन्द्वपीडितका विषयमा पनि सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

टोविस फ्लुङगरको नेतृत्मा आएको जर्मन प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडालगायतसँग भेटघाट गरेका थिए। भेटका क्रममा नेपालको संघीयता, शान्ति प्रक्रिया र मानवअधिकार महिला सशक्तिकरण, उच्च शिक्षालगायतका विषयमा छलफल भएको प्रतिनिधिमण्डलले जनाएको छ। प्रतिनिधिमण्डलले जर्मन–नेपाल विकास सहयोग तथा आउँदो लगानी सम्मेलनका विषयमा पनि छलफल गरेको जनाएको छ।

भ्रमणबाट दुई मुलुकबीचको संसदीय सम्बन्ध, दुई पक्षीय सम्बन्धलगायतका विषय अझ मजबुत भएर जाने विश्वास गरिएको छ। जर्मन प्रतिनिधिमण्डलले अन्तराष्ट्रिय सम्बन्ध समितिसँग आगामी सहयोग तथा निरन्तर सहयोग आदानप्रदानका विषयमा छलफल गरेको थियो। प्रतिनिधिमण्डलले नेपाली टोलिलाई पनि जर्मन भ्रमणको निम्तो दिएको छ।

नेपाल भ्रमणका क्रममा जर्मन प्रतिनिधि मण्डलले प्रदेश ५ को भैरहवा, बुटवल र लुम्बिनीको समेत प्रमण गरेको थियो। मुख्यमन्त्री शंकर पोखरेल र नीजि क्षेत्रका प्रतिनिधिको भेटमा क्षेत्रीय आर्थिक विकासको महत्वबारे छलफल गरेको थियो। उनीहरूले पनौतीमा रहेको रवीन्द्र पुरी फाउन्डेसन व्यवसायिक तालिम केन्द्र तथा भक्तपुरका सांस्कृतिक सम्पदाको पनि भ्रमण गरेका थिए भने प्राविधिक तथा व्यावसायिक तालिमका लागि नेपाललाई कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App