१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस असन्तुष्ट खेमाको निष्कर्ष : न्यायिक समिति सर्वसम्मत बनाउनुपर्छ

काठमाडौं– कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको खेमाले संस्थापन समूह जबरजस्ती अघि बढे प्रतिकार गर्ने चेतावनी दिएको छ।

पछिल्लो समय सभापति देउवाले केन्द्रीय समिति बैठकमा बहुमतको आधारमा निर्णय गर्न खालेको भन्दै संस्थापनइतर समूहले आपत्ति जनाएको हो। केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको समयमा मंगलबार पार्टी नेता प्रकाशमानसिंहको निवासमा बसेको असन्तुष्ट पक्षका नेताहरूको बैठकले आफ्नो अडानबाट पछि नहट्ने निष्कर्ष निकालेको हो। 

१४ फागुनमा सभापति देउवाले अनुशासन समिति गठन गर्दा बहुमतको बलमा आफ्ना मान्छे राख्न खोजेको भन्दै बैठक बहिष्कार गर्ने चेतावनी दिएको संस्थापनइतर समूहले अनुशासन समिति कुनै हालतमा बहुमतबाट गठन गर्न नहुने अडान दोहा¥याएको छ। अब बस्ने केन्द्रीय समिति बैठकमा पनि पेल्न खोजे बहिष्कार गर्ने यो समूहको चेतावनी छ।
सभापति देउवाले आफू निकट मान्छे यी दुई समितिमा राख्ने र आफूविरुद्ध बोल्नेलाई कारवाही गर्ने रणनीति बनाएको यो समूहको आरोप छ। 

अनुशासन समति र निर्वाचन समिति दुवै न्यायिक भएकाले यी दुई समिति बहुमतबाट गर्दा आम काम कार्यकर्ताले न्याय र सुरक्षित महसुस नगर्ने संस्थापनइतर समूहको दाबी छ। बहुमतबाट बनाएको समितिले पूर्वाग्रहबाट निर्णय गर्ने भन्दै यो समूहले सर्वसम्मत गर्न माग गरेका हो। 

‘अनुशासन समिति र निर्वाचन समिति गठन गर्दा आम कार्यकर्ताले सुरक्षित महसुस गर्ने हुनुपर्छ। त्यो समितिमा बस्ने मान्छे सबैले स्वीकार गर्न सक्ने हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो’, नेता कल्याण गुरुङले भने, ‘यो समिति न्याय दिन सक्ने, निष्पक्ष हुनुपर्छ।’

सभापति देउवाविरुद्ध उभिएको यो समूहले अनुशासन र निर्वाचन समितिले निर्णय गर्दा बहुमतले गर्न नमिल्ने प्रवधान ल्याउनुपर्ने माग गरेको छ। ‘बहुमतले निर्णय गर्दा न्यायिक समितिमा समस्या हुन सक्छ’, गुरुङले भने, ‘यो समितिले सर्वसम्मत निर्णय गर्नुपर्छ बहुमतले गर्न हुँदैन। सर्वसम्मत गरेको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नुपर्ने व्यवस्था गर्नुपर्छ।’
सभापति देउवा समूहले विधान पारित गर्न बहुमतको प्रयोग गरेपछि यो समूह फेरि एक ठाउँमा आएको थियो। महासमिति बैठकपछि वरिष्ठ नेता पौडेल सभापति नजिक पुगेको भन्दै यो असन्तुष्ट खेमाका अन्य नेताले भने अविश्वास गर्दै आएका छन्।

तर देउवाले फकाएर आफूसामु आइपुगेका पौडेललाई पेल्न थालेपछि पुनः अन्य नेतासँगै आइपुगे। उनले अब भने आफू अडानबाट पछि नहट्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। देउवासँग एजेन्डामा सहकार्य गर्न पुगे पनि उनले विश्वास तोडेको बैठकमा बताएका थिए। 

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला कोषध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, गुरुराज घिमिरे, कल्याण गुरुङलगायतको उपस्थिति रहेको थियो। बैठकमा कृष्णप्रसाद सिटौला भने सहभागी थिएनन्। 

 

प्रकाशित: २१ फाल्गुन २०७५ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App