१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नङ सफा गर्ने तरिका

नङले पनि व्यक्तित्व विकासमा धेरै महत्वपूर्ण भूमिका निवाह गरेको हुन्छ। मान्छेले आफूलाई सुन्दर देखाउन नङ पालेका हुन्छन्। नङ अरुजस्तै सुन्दर बनाउन विभिन्न तरिका अपनाएका हुन्छन्। तर नङको हेरचाह कसरी गर्ने भनेर धेरैलाई थाहा नहुन पनि सक्छ।

हामीले नङलाई सफा गरिरहनु पर्छ। नङको कुनाकाप्चामा माटो लगायत फोहोर वस्तु टाँसिएर बसेको हुन्छ। त्यस्तो बेलामा हामीले ब्रसको सहायताले नङ नभाँचिने गरी सफा गर्नुपर्छ। हामीले नङ पाले पनि कतिपय नर्मल कुरामा ध्यान दिएका हुँदैनाैं। कसैकसैको नङको छेउछाउमा मासु पलाएको हुन्छ। यदि नङको छेउमा उचेरा गएको र मासु पलाएको छ भने सानो कैंचीले त्यसलाई मिलाएर काटिदिनुपर्छ। यी कुरामा ध्यान दिएमा नङको मासु छेउछाउबाट फाटेर जान पाउँदैन। 

नङ सफा गर्ने भन्दैमा थिचेर सफा गर्नु भने हुँदैन । त्यस कारण होसियारका साथ बिस्तारै सफा गर्नुपर्ने हुन्छ। नङको प्रयोग गरेर काम गर्ने बानी धेरै मानिसमा हुनसक्छ यो बानीलाई हटाउँदै जानुपर्छ। नत्र नङ भाँचिने र टुक्रिने सम्भावना हुन्छ। नङ सफा गर्दा तिखो वस्तुको प्रयोग गर्नु हुँदैन भने नङको स्याहार गर्न नसकिने भएमा नङ काटेर छोटो वा सुहाउँदो राख्दा राम्रो हुन्छ। नङलाई अर्को तरिकाले पनि सफा राख्न सकिन्छ। जस्तो कागतीको प्रयोग गरेर नङमुनि वा कुनातिर भएका दाग र फोहोरलाई सफा गर्न सकिन्छ। हामीसँग भएको टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा भएर जान्छ। 

नङको सुन्दरता     
मानिस पार्टीमा होस या अरू कुनै कामको सिलसिलामा साथीभाइ वा अरु मानिससँग भेटघाट गरिरहनु पर्छ।  जसका कारण मान्छेको हरेक बोलीचालीमा उसको हाउभाउ अगाडि पर्दछ। सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण अंग हुन आउँछ। फोहोर दाग भएका, टुक्रेका, भाँच्चिएका नङ भएको हातले व्यक्तित्वमा नकारात्मक असर पार्छ। मान्छेहरुले यसको त नङ कति नराम्रो रहेछ भन्ने गरेको पनि पाइन्छ। जसकारण नङको सुन्दरतामा निकै महत्वपूर्ण हुन्छ। यति मात्र होइन नङले हात र खुट्टाको सुन्दरता बढाएको हुन्छ।  हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ।

सुन्दर तथा सही आकारमा काटिएको, सुहाउँदो रङको पोलिस लगाइएका स्वस्थ सुन्दर नङले तपाईंको व्यक्तित्वमा निखार ल्याउने काम गर्छ। प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन्। साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ। कडा पानीको प्रयोग गर्दा नङ पहेँलो भएर जान्छ। भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरबाहीले नङमा समस्या हुन सक्छ। त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ त्यसैले नेल पोलिसको प्रयोग गर्दा गुणस्तरीय प्रोडक्टको प्रयोग गर्दा नङको सुन्दरता निखारता थपिन्छ।  

कपाल सफा गर्ने तरिका 
कपालले मानिसको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यसले गर्दा हामीले हरेक समय कपालको ख्याल राख्नु जरुरत हुन्छ। हामी कपाललाई सफा बनाउन दिनै पिच्छे या एकदिन बिराएर नुहाइरहनुपर्छ। हप्ताको दुई पटकसम्म स्याम्पुले नुहाउने र अरु दिन त्यत्तिकै पानीले पखाल्नुपर्छ यसो गर्दा कपाल बलियो र राम्रो पनि देखिन्छ।
हामीले कपाललाई सफा राख्न गुणस्तर स्याम्पु तथा ‘क्यारटियन ट्रिटमेन्ट क्रिम’ को प्रयोग गर्नु राम्रो हुन्छ। बाहिर बजारमा पाइने जस्तो पायो त्यस्तै स्याम्पु प्रयोग गर्दा कपाल झर्ने, टुक्रिने कपाल सुक्खा हुने, रुखो हुने र टुक्रिने गर्दछ। 

अहिले हरेक मान्छेले  स्याम्पुले कपाल  नुहाउने प्रचलन बढ्दै गएको पाइन्छ।  यस्तो बेलामा जुनसुकै स्याम्पु प्रयोग गर्नु भने हँुदैन।  हामीले स्याम्पु लगाएर कपाल धोएपछि पुनः कन्डिस्नर अथवा ‘क्यारटियन ट्रिटमेन्ट क्रिम’को प्रयोग गरेमा कपाल राम्रो र बलियो हुन्छ। यसरी नुहाउँदा कहिलेकाहीँ पानीको लोभले होस् या कुनै कारणले कन्डिसनर तथा ‘क्यारटियन ट्रिटमेन्ट क्रिम’ निख्रेन भने असर गर्न सक्छ। त्यसैले नुहाउदा  राम्ररी कन्डिसनर तथा ‘क्यारटियन ट्रिटमेन्ट क्रिम’ जाने गरी कपाल धुनुपर्छ। यदि स्याम्पु, कन्डिस्नर तथा ‘क्यारटियन ट्रिटमेन्ट क्रिम’ राम्ररी पखालिएन भने कपाल फुस्रो हुने एवं सेतो चाया आउने समस्या देखिन्छ। कतिपयको कपालमा  चाया परेको देखिन्छ। यस्तो अवस्थामा  नुहाउनु अघि चाया झर्ने गरेर कपाल कोर्ने र एन्टी डेन्ड्रप उपचार गर्नुपर्ने हुन्छ।

कपालमा कुन तेल प्रयोग गर्ने 
यदि रुखो कपाल भएको छ भने जुनै प्रकारको कपालमा पनि तेल मसाज गर्दा फरक पर्दैन। हामीले घरमा तेलको प्रयोग गर्दा नुहाउनु भन्दा आधा घण्टा अघि कपालमा तेल लगाउनुपर्छ। जस्तै क्यारटियन ट्रिटमेन्ट’ अघि हामीले तेल मसाज गर्दा अलिभको तेल, नरिवलको तेल, तोरीको शुद्ध तेल प्रयोग गर्नु राम्रो हुन्छ।   तेल लगाएको आधा घण्टापछि स्याम्पो लगाएर नुहाउने गरियो भने कपालको रौं छिद्राहरू खुल्न गई तेल राम्ररी छालाभित्र पसी जरा बलियो भई कपाल राम्रो हुन्छ। यसो गरिसकेपछि हाम्रो कपाल हेर्दै नर, मुलायम, स्वस्थ र सुन्दर देखिन्छ।

हामीले कपालमा तेलको प्रयोग गर्दा बजारमा पाइने जुन पायो त्यही तेलको प्रयोग गर्नु हुँदैन। जुन पायो त्यही तेलको प्रयोग गर्दा हाम्रो कपालमा विभिन्न किसिमका असर देखिन जान्छ। कपाल राम्रो बनाउनका लागि भिटामिन ई–क्याप्सुल ओयल मिसाएर कपाल मासिल गर्न सकिन्छ। यी तेलको प्रयोग गर्दा  मसाजको क्रममा प्रयोग गर्दा राम्रो हुन्छ। 

छाला सफा गर्ने तरिका 

आफू अरुभन्दा सुन्दर बन्न सबै मान्छेलाई रहर लाग्नु स्वाभाविकै हो। जुनसुकै अवस्थामा हामीलाई  छालाको स्वाहार गर्नु अति आवश्यक हुन्छ। तर सोचेअनुसार छालालाई सफा राख्न सकेको पाइँदैन । साधारण छालालाई सधैँ राम्रो बनाइराख्न मेकअप गर्नु अघि चिसो बरफपानीले मुख धोएको खण्डमा राम्रो मानिन्छ। छालालाई राम्रोसँग केयर गर्न सकिन्छ। बिहान मेकअप गरेर हिँडिएको छ भने राति सुत्नुअघि मुख राम्ररी धोएर सुत्ने बानी गर्नु पर्दछ।

सुख्खा छाला भए साबुन हानिकारक 
सुक्खा छाला भएकाहरूले  सफा हुने क्रममा साबुन प्रयोग गरेको पाइन्छ। यस्तो अवस्थामा साबुन प्रयोग नगरेको नै राम्रै मानिन्छ। साबुन प्रयोग गर्दा अनुहारको चिल्लोपना हराएर जान्छ। आफ्नो छालालाई सकेसम्म घाम, आगोको राप पनि लाग्न दिनु हुँदैन। हावाले पनि यस्तो छालालाई नोक्सान गर्छ। यस्तो छालालाई चिल्लो बनाएर राखिराख्नका लागि धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ।  यस्ता कुरामा ध्यान नदिएको खण्डमा छालामा छिट्टै चाउरी पर्ने डर हुन्छ।  साथै, चाया आउने सम्भावना पनि बढी हुन्छ। 

छालालाई स्वस्थ राख्न पानी पिउनु अति आवश्यक

चिल्लो पदार्थ छालामा तैलीय ग्रन्थी बढी सक्रिय हेने भएकाले  डन्डिफोरले बढी सताउने गर्छ। यति मात्र नभएर बाहिरी किटाणुहरूले पनि संक्रमण गर्छ। यस्तो अवस्थामा छालालाई बढी स्याहार आवश्यक हुन्छ। छालालाई सफा राख्नका लागि नियमित या एक दिन बिराएर नुहाउँदा राम्रो हुन्छ। कहिले काहीँ हाम्रो शरीरमा मिश्रित छाला हुन्छ। मिश्रित भनेको छालामा कतै चिल्लो कतै सुक्खा देखिएको हुन्छ। कतै सुख्खा त कतै चिल्लो छाला भएमा यसलाई मिश्रित छाला भन्ने गरिएको छ। यस्तो बेला हाम्रो छालाको उपचार भिन्न तरिकाले गर्न सकिन्छ। यो अवस्थामा पहिलो कुरा त  सरसफाइमा बढी ध्यान दिनुपर्छ।

मिश्रित छालालाई नरम राख्नु अतिआवश्यक हुन्छ। साथै, बुढ्यौलीयुक्त छाला उमेरअनुसार फेरिँदै जाने हुनाले उमेरसँगै बाहिरी सतह पनि कडा हुँदै जान्छ। यस्तो अवस्थामा छालाको प्रकार थाहा पाएर उपचार गर्ने, छालालाई घामबाट बचाउने, धूमपान र मद्यपानबाट टाढा रहने, छाला चम्किलो बनाउन दैनिक कम्तीमा आठ गिलास पानी पिउने गर्नुपर्छ साथै हप्तामा एकपटक फेसप्याक बनाएर लगाउनाले पनि छालाको हेरचाह गर्न सकिन्छ । 

खुट्टा सफा गर्ने तरिका 

हामीले हाम्रो शरीरको साथसाथै हात खुट्टाको पनि राम्रोसँग स्याहारसुसार गर्नुपर्छ।   कसैकसैको खुट्टा फुट्ने भएकाले यस्ता व्यक्तिले सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्छ। यस्तो बेलामा हामीले  बिहान बेलुका मनतातो पानीले राम्रोसँग खुट्टा धुनुपर्छ। यसो गर्दा खुट्टाको छाला नरम हुन्छ। खुट्टा बाहिरी अंग भएकोले बाहिर जाँदा होस् या बाहिर कतैबाट आउँदा चिसो पानीले धुनुपर्ने बाध्यता हुन्छ भने सुत्ने बेलामा मन तातोपानीले खुट्टा धोएमा राम्रो हुन्छ। यसरी खुट्टालाई प्रत्येक रात मन तातो पानीले सफा गर्ने र राम्रोसँग सुकाएर लोसन लगाउने गर्नुपर्छ। यसो गरे खुट्टा नरम र मुलायम हुनुका साथै खुट्टा फुट्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ। 

प्रकाशित: २१ फाल्गुन २०७५ ०७:१९ मंगलबार

नङ हेरचाह नागरिक परिवार